नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिला सहभागिता बारेमा छलफल

किपालय प्रडक्सनले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थितिको बारेमा एक दिने कार्यक्रम आयोजना गरेको छ । 

नेपाल चलचित्र विकास बोर्डको प्रेक्षालयमा दिनभर चलेको कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमा छलफल गरिएको हाे ।

मुख्य गरी तीन भागमा बाँडी गरिएको कार्यक्रममा अधिकांश सहभागीले फिल्म तथा मिडिया दुवैमा महिलाको संख्या मात्र कम नभएर दुवै क्षेत्रमा उनीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष प्रस्तुत गरेका थिए । 

ब्रिटिस काउन्सिलले महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म मनाइरहेको विविधि कार्यक्रममध्ये एक दिन वुमन अफ दिन वर्ल्ड फेस्टिभल अन्तर्गत फिल्म डेको रूपमा मनाउने निर्णय गर्दै फिल्ममा महिलाको भूमिकालाई केन्द्रमा राखेर एक दिने कार्यक्रम आयोजना गरेको हो । 

बिहान ११ बजेदेखि सुरु भई साँझसम्म चलेको कार्यक्रमको पहिलो सेसनमा ७ जना महिला फिल्मकर्मीले बनाएका छोटा फिल्म देखाएर तिनमाथि छलफल चलाइएको थियो । 

‘महिला र उनीहरूको कथावाचन’शीर्षकमा समेटिएको फिल्म स्क्रिनिङ तथा छलफलमा फिल्मकर्मी सपना बेलबासे, शिरिषा कुँवर र जियोन मगरसँग पुष्पा जोशीले छलफल चलाएका थिए । 



१८ वर्षभन्दा माथि र तल गरी दुई श्रेणीमा विभाजन गरी देखाएका फिल्ममा दोस्रो चरणमा १८ वर्षभन्दा मुनिका महिलाले बनाएका फिल्म देखाएर छलफल गरिएको थियो । सो सत्रको सञ्चालन प्राधान्य योञ्जनले गरेकी थिइन् भने कर्मा इहाजोम, इहाका डोल्मा, सम्पदा सापकोटा, रोसेटे डेला रोसा तामाङ र अन्नपूर्ण देवकोटाले आफूले बनाएका फिल्मको बारेमा धारणा राखे ।

यही सत्रमा ग्रान्टमा फिल्म बनाइरहेका फिल्मकर्मीले यसरी संघ संस्थाबाट आर्थिक सहयोग पाएर फिल्म बनाउँदाका अनुभव बाँडेका गिए । प्रसुना डंगोलले सञ्चालन गरेको यो छलफलमा प्रशंसा केसी,बर्खा राई, तोरा योङ र आकांक्षा कार्कीले आफ्नो अनुभव बाँडेका थिए । 



दोस्रो सत्रमा भने नेपाली फिल्ममा महिलाको चरित्र चित्रणसम्बन्धी समस्यालाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा पिंकी शिरिष रानाले नारीवादको आँखाबाट नेपाली सिनेमा र मिडियामा महिलाको अवस्था प्रस्तुत गरेकी थिइन् भने अभिमन्यु दीक्षितले विगतदेखि वर्तमानसम्ममा नेपाली सिनेमामा महिलाको प्रतिनिधित्वको चर्चा गरेका थिए । 

सो सत्रमा केही नेपाली सिनेमाका प्रतिनिधि दृश्यहरू देखाउँदै तिनले समग्र नेपाली सिनेमाको अवस्था बयान गर्ने आसय व्यक्त गरिएको थियो । यो सत्रको संयोजन गौंथली इन्टरटेनमेन्टले गरेको थियो । 

कार्यक्रमको तेस्रो भागमा भने नेपाली सिनेमामा महिलाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा राउन्ड टेबल छलफल चलाइएको थियो ।

अभिनेत्री उषा रजकले सहजीकरण गरेको छलफलमा फिल्ममार्फत नारी सशक्तिकरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिको सहभागी रहेको थियो ।

कार्यक्रममा प्लान नेपालीकी रक्षा पौडेल, निर्देशक शान्ता नेपाली, नेपाली टेलिभिजनकी वरिष्ठ कार्यक्रम निर्माता नीता सापकोटा, ओनियन फिल्मका सह संस्थापक सुरत गिरी, नेपाल फिल्म क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेती, ह्युमन राइट फिल्म फेस्टिभलकी बिधु माझी, डकस्कुलका सरोज सापकोटा, युएनवुमनका रविन राई, माउन्टेन फन्डका कार्यकारी निर्देशक स्कट म्यालेनन , पत्रकार तथा समीक्षक सामीप्यराज तिमल्सेना र किपालयकी सदस्यपुष्पा जोशीको सहभागिता रहेको थियो । 

छलफलमा सहभागी अधिकांशले आफूहरूले संस्थागत रूपमा अडियो भिज्युवल प्रडक्सनमा महिलाको सहभागिता बढाउन विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराए ।

अधिकांशले लैंगिक विभेदलाई प्रश्रय दिने सामाजिक सोचमा परिवर्तन नल्याएसम्म यो क्षेत्रमा सोचेझैँ महिलाको प्रतिनिधित्व गराउन नसकिनेमा जाेड दिए ।

  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १४:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया