किन चर्चामा छ ‘द कश्मिर फाइल्स’ ?

‘तर के कश्मिरी पण्डितहरूलाई आफ्नो घर, कश्मिर फर्किने मौका मिल्छ ?’ फिल्म ‘दि कश्मीर फाइल्स’ को यो एउटा संवादले पूरा फिल्मको कथालाई प्रतिनिधित्व गरेको छ । 

सामाजिक सञ्जाल, राजनीतिक करिडोरहरू, फिल्म र मनोरञ्जन उद्योग र यहाँसम्मकी भारतका सबै घरमा यो फिल्मको नामले यतिबेला चर्चा पाएको छ ।

निर्देशक विवेक अग्निहोत्रीले कश्मिरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म गत ११ मार्चमा रिलिज भएको थियो । कयौं थिएटरमा यो फिल्म हाउसफूलका साथ चलिरहेको छ । भारतीय जनता पार्टीको शासन रहेको चार राज्य हरियाणा, मध्यप्रदेश, कर्नाटक र गुजरातले फिल्मलाई ‘ट्याक्स–फ्री गरिदिएको छ । फिल्मको निर्माता अभिषेक अग्रवाल हुन् ।

‘द कश्मिर फाइल्स’को रिलिजअघि आलिया भट्ट र सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूवाई काठियावाडी’ रिलिज भएको थियो । जसकारण फिल्म ‘द कश्मिर फाइल्स’का लागि एउटा चुनौती सावित हुन सक्ने आंकलन गरिएको थियो ।

दोस्रो चुनौती दक्षिणका सुपरस्टार प्रभाषको फिल्म ‘राधे-श्याम’ हो । यो पनि ‘द कश्मीर फाइलस’सँगै रिलिज भएको छ । ठूलो फिल्मसँग टक्करका बाबजुद ‘द कश्मीर फाइल्स’ ले हालसम्म २७ करोडभन्दा माथिको कारोबार गरिसकेको छ । यो फिल्मलाई लिएर यतिबेला विवाद पनि सुरु भएको छ ।

नरेन्द्र मोदीका साथ विवेक अग्निहोत्रीको तस्बिर



यो फिल्म ११ मार्चमा रिलिज भएको भोलिपल्ट प्रधानमन्त्री नरेन्द्र मोदीसँग निर्देशक विवेकको एक तस्बिर भाइरल भएको थियो । ‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिल्ने अवसर मिल्यो । र उहाँले फिल्म ‘दि कश्मीर फाइल्स’को तारिफ पनि गर्नुभयो । धन्यवाद मोदीजी’ फिल्मका निर्माता अभिषेक अग्रवालले ट्वीट गरेका थिए ।

अभिषेकको यो ट्वीटलाई रि–ट्वीट गर्दै विवेकले ‘म तपाईंसँग धेरै खुसी छु, अभिषेक तपाईंले भारतको सबैभन्दा चुनौतीपूर्ण सत्यलाई निर्माण गर्ने साहस देखाउनुभयो । यो फिल्म अमेरिकामा प्रदर्शन हुनुले यो सावित गर्छ कि नरेन्द्र मोदीको नेतृत्वमा विश्वको मुड परिवर्तन भइरहेको छ’ भन्दै लेखेका थिए ।



तस्बिर भाइरल भएपछि कयौं किसिमको प्रतिक्रिया आइरहेका छन् । केहीमा फिल्मलाई लिएर विवेकको तारिफ गरिएको छ भने कतिपयले यसलाई राजनीतिबाट टाढा राख्न अपिल गरेका छन् ।

‘कपिल शर्मा शो’मा प्रमोसनसँग जोडिएको विवाद

फिल्मलाई लिएर विवाद तब सुरु भयो, जब कमेडी शोका होस्ट कपिल शर्मामाथि फिल्मलाई आफ्नो शोमा प्रमोट गर्न अस्वीकार गरेको आरोप लाग्यो । सामाजिक सञ्जालमा कपिल डराएकोसमेत भनियो । यद्यपि आफूमाथि आरोप लागेपछि उनले ‘यो सत्य होइन’ भन्दै रि-ट्वीट नै गरे ।

सामाजिक सञ्जालमा विभाजन

फिल्मलाई लिएर सामाजिक सञ्जालमा विभाजन भएको छ । केही व्यक्तिले फिल्मको सत्यताको तारिफ गरेका छन् भने केहीले यही बहानामा गोधरा र अयोध्याजस्ता मुद्दाका उठान गरिरहेका छन् ।

बीजेपीका अधिकांश नेताले फिल्मलाई शानदार भनेका छन् र उनीहरूले जनतालाई फिल्म हेर्नका लागि अपिलसमेत गरेका छन् । दिल्ली दंगाको समयमा उग्र भाषणका कारण चर्चामा आएका कपिल मिश्राले फिल्मको विषयमा ट्वीट गरेका छन् ।

महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले ट्वीटमार्फत ‘खुनले लेखिएको यो इतिहासलाई पुनः दोहोर्‍याउन नहुने’ उल्लेख गरेकी छन् । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंहले यो फिल्मलाई धेरै दर्शकले हेर्नुपर्ने भएकाले यसलाई ट्याक्स फ्री गरिएको जनाएका छन् ।

अभिनेता अक्षय कुमारले पनि आफूले चाँडै फिल्म हेर्ने लेखेका छन् । अर्का अभिनेता आर माधवनले पनि ट्वीटमार्फत निर्माण टिमलाई बधाई दिँदै आफू फिल्म हेर्न उत्साहित भएको उल्लेख गरेका छन् । यो फिल्मलाई मुभी रेटिङ साइड आईईएमडीबीले १० मा १० नै स्टार दिएको छ ।

राजनीतिक करिडोरहरूमा बहस

कश्मिरी पण्डितहरूको विस्थापनलाई लिएर सोमबार केरलमा कांग्रेसको इकाईले जुन ट्वीट गरेको थियो, त्यसमा बीजेपी सांसद केजे अल्फोसले कांग्रेसले इतिहास नबुझेको र उसँग यसको टुटेफुटेको संस्करण रहेको दाबी गरेका थिए । 

‘जोकोहीलाई थाहा छ कि साम्प्रदायिक आधारमा सत्ता पक्षको बलमा डेढ लाख कश्मिरी पण्डितहरूलाई भगाइएको थियो । त्यो समयमा कांग्रेस वा उसको समर्थनको सरकार थियो’, उनले भनेका छन्, ‘कांग्रेस र उसको सहयोगीहरूले यस्तो स्थिति पैदा गरिदियो जसमा पण्डित बाँच्न सक्दैन थिए । उनीहरूको हत्या भयो । उनीहरूको जीवनमा वास्तविक खतरा देखेपछि उनीहरू बाहिर गए । अनुच्छेद ३७० हटाएपछि नाटकीय रूपले सबै कुरा राम्रा भए ।’ 

केरलको काँग्रेस इकाईको ट्वीटर हेण्डलबाट कश्मिरी पण्डितहरूको विस्थापनको मुद्दामा सोमबार कयौं ट्वीट गरिएको थियो ।

  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १२:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया