बागमती प्रदेश प्रथम खेलकुद प्रतियोगिता : कुन खेलमा को-को विजयी ?

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको खेलमा मकवानपुर र रामेछाप विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी पहिलो खेल सिन्धुली र काठमाडौंबीच भएको थियो । खेलमा सिन्धुली विजयी भएको छ । 

पहिलो हाफमा सिन्धुलीले २ गोल गरेको थियो र खेलको दोस्रो हाफमा ४ गोल थप गर्दै ६–० गोल अन्तरले सिन्धुली क्वाटरफाइनल प्रवेश गरेको हो । दोस्रो खेलमा भक्तपुर विजयी भएको छ । रसुवालाई ६–० गोल अन्तरले हराउँदै भक्तपुर क्वाटरफाइनल प्रवेश गरेको हो । 

बुधबार दुईवटा खेल हुनेछन् । पहिलो खेल धादिङ र काभ्रेपलान्चोकबीच हुनेछ । दोस्रो खेल सिन्धुली र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताइन् । खेल नकआउट चरणमा खेलाइएको छ ।    

ब्याटमिन्टनमा चितवन र धादिङ प्रथम 

हेटौंडामा भएको ब्याटमिन्टन पुरुषतर्फ चितवन प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा ललितपुरलाई ३–१ अंकले हराउँदै चितवन प्रथम भएको हो । दोस्रो स्थानमा ललितपुर, तेस्रो स्थानमा धादिङ र सिन्धुली रहेको खेल संयोजक दीपक थापाले बताए । 

महिलातर्फ भने धादिङ प्रथम भएको छ । फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–२ अंकले पराजित गर्दै धादिङ प्रथम भएको हो । त्यस्तै, दोस्रो स्थान सिन्धुपाल्चोक, तेस्रो स्थान ललितपुर र नुवाकोट भएको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्ठले बताए । ​ब्याटमिन्टन टिम इभेन्टको आधारमा खेलाइएको थियो ।



प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, मन्त्रालयका सचिव, परिषद्का सदस्य सचिवलगायतले मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कार वितरण गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीस हजार, चौबीस हजार र अठार हजार प्राप्त गरेका छन् ।  

महिला क्रिकेटमा काठमाडौं विजयी 



चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ काठमाडौं विजेता भएको छ । चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रथम भएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले एक विकेट गुमाएर २० ओभरमा १६२ रन बनाएको थियो । काठमाडौंको तर्फबाट कन्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३  रन बनाएका थिए । 

चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएका थियो । भरतपुर महानगरपालिकाका मेयर रेणुकुमारी दाहाल, परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले विजेता र उप विजेतालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरेकी थिइन् । 

पुरुषतर्फको खेल भने बुधबार हुनेछ । पहिलो खेल रामेछाप र नुवाकोट र दोस्रो खेल रसुवा र धादिङबीच हुने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । पुरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन ।
  
मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताए । 

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
 

  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १९:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया