सेलिब्रेटी भन्छन्- ‘चिसो एष्ट्रे’ हलिउड फिल्म हेरेजस्तो भयाे

सेलिब्रेटीहरूले फिल्म ‘चिसो एष्ट्रे’ हलिउड फिल्मजस्तो लागेको प्रतिक्रिया दिएका छन् । 

मंगलबार साँझ सिभिल मलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै सेलिब्रेटीले फिल्मको कथावाचन र दृश्य भाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका हुन् ।

प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएको प्रतिक्रिया दिए ।

उनले युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटीजस्तै सबै कुराको मात्रा मिलेको र आफूलाई असाध्यै राम्रो लागेको बताए ।

निर्देशक प्रदीप भट्टराईले पनि सन्तोष पन्तको झैं फिल्मलाई हलिउड स्तरको मानेको प्रतिक्रिया दिएका थिए । उनले नेपाली सिनेमा हलिउडजस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एष्ट्रे जवाफ भएको बताए ।

‘सिधा भाषामा भन्दा यो हलिउड स्टाइलको सिनेमा हो । लुटपछि यसको शैली ब्रेक गर्ने जुन फिल्मको हामी खोजी गरिरहेका थियौं- त्यो यही सिनेमा हो । सिनेमाको दृश्यभाषामा यो ठूलो फड्को हो’, निर्देशक भट्टराईले भने ।



निर्देशक निश्चल बस्नेतले भने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गर्दै यो फिल्मको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको धारणा राखे । 

उनले पनि फिल्मको अभिनयदेखि कस्ट्युमको छनौटसम्मको तारिफ गर्दै दृश्य भाषामा भने फिल्म निकै नै अब्बल रहेको बताए ।



अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको बताउँदै फिल्मले काठमाडौं खोल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए ।

‘पहिलो कुरा त यो मेरो स्वादमा पर्‍याे । ग्रिपिङ छ । कलाकारको काम एकदमै राम्रो छ । मलाई मन पर्‍याे’, हमालले भने ।

साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली फिल्म आफूले पछिल्लो समय नहेरेको बताउँदै यसको संवाद, विम्ब आदि प्रभावशाली रहेको बताए ।

‘म परम्परागत कथावाचनमा विश्वास गर्दिनँ । यो फिल्मले पनि गरेको छैन । मलाई त सबैभन्दा बढी यही हिम्मत नै मन पर्‍याे । बाँकी कुरा पनि राम्रो छ’, उनको प्रतिक्रिया छ ।

अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्ने भन्दा फिल्म पृथक रहेको बताए ।

उनले पनि कथा भन्ने शैली फरक रहेको प्रतिक्रिया दिए ।

प्रिमियरअघि भूपिपत्नी कान्ति शेरचनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । उनले भूपिको कविताको भावलाई लिएर सिनेमा बन्नु नै सुन्दर पक्ष रहेको बताइन् । 

मंगलबार प्रिमियरमा उपस्थित अधिकांशले फिल्मकाे कथा वाचन गर्ने शैली, कलाकारको अभिनय र छायांकनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कवि भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षक कविताको भावलाई कथानक स्वरूप दिई निर्माण गरेको सिनेमा दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको हो ।

फिल्मलाई उज्जवल बस्ताकोटीले खिचेका हुन् । अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुनश्रेष्ठ, नबिन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ । 

कंगारु क्रिएसन, लोकलसिनेमा र क्रिएटिभ नेपाल फिल्मसकाे संयुक्त प्रयासमा महेशबाबु निर्मित चलचित्रलाई प्रबिङ स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । 

फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ ।
 

  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १३:१३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया