नेकपा एमाले दैलेखको सातौं अधिवेशनअन्तर्गत बुधबार पुनः अधिवेशन सुरु भएको छ । गत पुसका लागि तय भएको अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।
बिहान ८ बजे सुरु भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मतपरिणाम आजै आउने छ ।’
अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) संख्या सात सय २१ रहेको छ ।
अघिल्लो पटकको मतदानमा सात सय १७ मत खसेको थियो । तर, मतपेटिका खोलेर गन्दा ७ सय ४८ मत भेटिँदा मतगणना रद्द गरिएको थियो ।
नेकपा एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नम्वर २ बाट सूर्यबहादुर शाही रहेका छन् भने क्षेत्र नम्वर १ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेको अध्यक्ष शाहले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।