आइसिसी विश्वकप लिग–२ः पिएनजीमाथि नेपालको रोमाञ्चक जित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले आज सम्पन्न खेलमा पपुवा न्युगिनी (पिएनजी)माथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो । २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेल्दा करण केसी २९ रनमा अविजित रहे । ३७.२ ओभरमा रिले हेकुरेले नोर्मन भानुआबाट क्याच गराउनुअघि रोहितले ८२ बलमा ४ चौकासहित ५८ रन बनाए । ४३.२ ओभरमा अली नाओले एलबिडब्ल्युको धरापमा पार्नुअघि ८१ बलमा ५३ रन बनाएका आरिफले २ चौका प्रहार गरे ।

रोहित र आरिफले पाँचौँ विकेटका लागि १०२ रनको शतकीय साझेदारी गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि यो पहिलो शतकीय साझेदारी हो ।
 
यसअघि गत असोजमा ओमानविरूद्व आसिफ शेख र ज्ञानेन्द्र मल्ले दोस्रो विकेटका लागि गरेको ९५ रनको साझेदारी नेपालका लागि एकदिवसीयमा सब‌ैभन्दा ठूलो थियो । ​पिएनजीका लागि रिले हेकुरे, नोर्मन भानुआ र अली निओले २–२ तथा कप्तान असद भाला र चाड सोपरले १–१ विकेट हात पारे । 

यसअघि युएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । ​पिएनजीका लागि चाल्र्स अमिनीले अर्धशतकीय पारी खेले । ८२ बलमा ५९ रन बनाएका उनले ७ चौका प्रहार गरे । चाड सोपरले ३५ र टोनी उराले २७ रन जोडे । 

पाँचौँ विकेटका लागि अमिनी र सोपरले ७४ रनको उत्कृष्ट साझेदारी गर्दै पिएनजीको पारी उकासेका थिए । नेपालका लागि सोमपाल कामीले ३ तथा आरिफ शेख, कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै ९ खेलमा १० अंक जोडेको नेपाल लिगको छैटौँ स्थानमा तथा १४ खेलमा पिएनजी विनाअंक पुछारमा यथावत् छन् । १८ मार्चमा हुने आफ्नो दोस्रो खेलमा नेपालले आयोजक युएईको सामना गर्नेछ ।





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १८:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया