मिनापको दुई दिवसीय महोत्सव सुरु, कसले पाउला यस वर्ष महामूर्खको उपाधि ?

प्रत्येक वर्ष होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधाममा आयोजना गर्दै आएको दुई दिवसीय होरी महोत्सव र महामूर्ख सम्मेलन यसवर्ष आजदेखि सुरु भएको छ । 

मिनापले यसवर्षको होरी महोत्सव आज र महामूर्ख सम्मेलन भोलि मनाउन लागेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए ।

उनले आज पहिलो दिन डिम्फा वादन र उद्घाटन, होलीमाथि विशेष चर्चा परिचर्चा, हास्यकवि गोष्ठी, निश्चित मापदण्डअनुसार होली गायन, उत्कृष्टको चयनसँगै पुरस्कार वितरण गरिने उनले जानकारी दिए ।
 
त्यस्तै, दोस्रो दिन भोलि शुक्रबार विशिष्ट शैलीमा उद्घाटन, होली गायन, मिनापको हास्य शैलीको व्यंग्यपूर्ण नाट्य प्रस्तुति, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिने महासचिव मल्लिकले बताए ।
 
विसं २०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । २०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, २०७० मा डा. विजयकुमार सिंह, २०७१ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुघन महतो, २०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

त्यस्तै, २०७३ सालमा सप्तरीको मलेठमा नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो ।

२०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, २०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो ।

त्यस्तै, २०७६ सालमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । यस वर्ष महामूर्खको उपाधि कस्ले पाउला भन्ने धेरैको चासोको विषय बनेको छ ।



यता, मिनापले यस पटकको महामूर्खका लागि करिब दुई दर्जन विशिष्ट व्यक्तिहरूको सूची बनाएको छ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, भाषा वैज्ञानिक डा. भोगेन्द्र यादव, भाषाविद् डा. रामदयाल राकेश, प्रा.डा. भोगेन्द्र झासहितका मध्ये एक जनालाई महामूर्खको उपाधि प्रदान गर्ने योजना रहेको महासचिव मल्लिकले बताए । त्यस्तै, अन्य १ दर्जनलाई अन्य उपाधि प्रदान गरिने उनले बताए ।



  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १४:४५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया