कर्जाको व्याजदर बेस रेटमा दुई प्रतिशतभन्दा धेरै हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूले उद्योगलाई दिने कर्जाको व्याजको आधारदरमा दुई प्रतिशतभन्दा बढी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकसँग छलफल भइरहेको पनि स्पष्ट पारे ।

'अहिले व्याजदर रेट निर्धारण गर्ने अधिकार स्वयं बैंकहरूको आफ्नो एशोसिएसनले गर्ने भएको हुनाले उहाँहरूसँग पनि छलफल गरेर यसलाई एउटा बीचको बाटो खोज्नुपर्ने आवश्यक्ता छ' उनले भने 'मैले उत्पादन क्षेत्रको लोन त्यसलाई बेस रेटभन्दा दुई प्रतिशत बढी बनाउन हुँदैन भनेर राष्ट्र बैंकलाई सल्लाह दिएको छु ।'

पछिल्लो समय बैंकको व्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीलाई समस्या परेको र ती समस्या समाधानका लागि सरकारले काम गरिरहेको अर्थमन्त्री शर्माले बताए ।

मन्त्री शर्माले नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै गोलमाल भएको बताए । उनले उद्योग व्यवसायहरूलाई विकास गर्नका लागि उद्योगीहरूले सुझाव दिनुपर्ने बताए ।

त्यस्तै, अर्थमन्त्री शर्माले हरेक वर्ष निर्यातलाई बढाउँदै लैजाने गरी सरकारले नीति बनाउने बताए । उनले आयात प्रतिस्थापनको लागि उत्पादन र निर्यातमा केही वृद्धि भए पनि त्यो अपुग रहेको बताए ।



अर्थमन्त्री शर्माले अब नयाँ बजेट र नीति निर्माण गर्ने बेला भएको भन्दै उद्योग विकास र वृद्धिका लागि यसमा उद्योगीहरुले राय सल्लाह दिन आग्रह गरे ।

उनले हाल ऋण पाउने कुरामा समस्या भएको र कोभिड १९ का कारण भएको ऋणको व्यवस्था भएपछि तरलताको समस्या पनि समाधान हुने बताए ।



अर्थमन्त्री शर्माले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई सहज रुपमा नेपालमा डलर खाता खोल्न पाउने व्यवस्था गरेर पनि यसलाई समाधान गरिने बताए । उनले विदेशबाट बैंकहरुले ऋण लिनको लागि पनि आवश्यक निर्णय गरिएको बताए ।

मन्त्री शर्माले गोलमाल भएको बैंकिङ क्षेत्रलाई सुधार्न र व्यवस्थापन गर्ने कार्यमा मन्त्रालयले काम गरिरहेको पनि बताए ।

  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १४:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया