नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका पल शाहलाई तनहुँको जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत तनहुँले अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । यो पल शाहलाई हिरासतमा राख्न तेस्रो पटक समय थप गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक युवराज खड्काले दिएको जानकारी अनुसार प्रहरीले उनीविरुद्धको अभियोग पत्र लगभग अन्तिम चरणमा पुर्याइसकेको छ ।
पल १५ फागुनमा आफैं जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका थिए । उनीविरुद्ध १७ वर्षकी गायिकाले आफूलाई अनेक प्रलोभन देखाएर पटक पटक बलात्कार गरेको आरोप लगाएकी छिन् ।
पीडित पक्षले दिएको उजुरीमा शाहले माया प्रेमको जालमा फसाएर र विवाह गर्छु भन्ने प्रलोभन देखाएर बलात्कार गरेको आरोप लगाइएको छ । यसअघि बिहीबार मात्रै नवलपुर जिल्ला अदालतमा उनीविरुद्ध बलात्कारको मुद्दा दायर भएको थियो । नवलपुरमा उनलाई १२–१४ वर्षको कैद सजायको मागदाबी गरिएको छ । त्यस्तै, उनले ४ लाख क्षतिपूर्ति दिनु पर्ने पनि उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।