फेब्रुअरी २४ मा युक्रेनमा रूसको आक्रमण सुरु भएदेखि नै दुवै पक्षका वार्ताकारहरूबीच पटक-पटक वार्ता भए पनि वार्तामा कति प्रगति भयो भन्ने अनुमान गर्न गाह्रो छ ।
यस हप्ताको सुरुमा 'फाइनान्सियल टाइम्स'ले १५ बुँदे शान्ति योजनाको खुलासा गरेको थियो ।
यसअन्तर्गत युक्रेनले नेटोमा सामेल हुने उद्देश्य त्याग्नुपर्ने छ । योसँगै युक्रेनले सुरक्षाका लागि भन्दै विदेशी सैन्य बेसलाई अनुमति दिन बन्द गर्नुपर्ने छ ।
युक्रेनले पश्चिमी देशहरूबाट आउने हतियारको आपूर्ति पनि रोक्नुपर्ने छ ।
रुसका शीर्ष वार्ताकारले शुक्रबार वार्ताका क्रममा युक्रेनलाई 'तटस्थ राज्य' मा परिणत गर्ने प्रस्तावमा दुवै देश नजिक पुगेको बताएका थिए ।
तर, युक्रेनी पक्ष वार्ताको आकलनलाई लिएर धेरै उत्साहित देखिएन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोलेकले आफ्नो देशको स्थिति परिवर्तन नभएको बताएका छन् ।
पोडोलेक पनि शान्ति वार्तामा संलग्न छन् । उनले ट्वीटमा लेखेका छन्, 'वार्ता स्थिति - रूसी पक्षबाट जारी भएको वक्तव्यले उनीहरूको आग्रहको स्थितिलाई झल्काउँछ ।'
रूसका पूर्वप्रधानमन्त्री मिखाइल कास्योनोभले शुक्रबार बिबिसीलाई राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति वार्ताका लागि 'गम्भीर' नभएको बताएका थिए ।
पुटिनले युक्रेनी जनतालाई राहत हुने किसिमले द्वन्द्व अन्त्यको कुनै प्रस्ताव नल्याउने पनि उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।