निर्माण गरिएको भवन हस्तान्तरण नहुँदा विद्यार्थी खुला चौरमा

बाजुरा– बाजुराको बूढीग‌ंगा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । 

सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५ सय ३० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयसँग भवनसँगै बस्ने बेन्च, डेक्सको पनि अभाव रहेको विद्यालयले जनाएको छ । 

चिसोको समय पनि चौरमा पढ्नुपर्ने समस्याका कारण विद्यार्थी बिरामी हुने गरेका छन् । चारवटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताए । 

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा साथ त्रिवेणी नगरपालिका–३ पुर्वुताका ठेकेदार खडक भण्डारी हाल भारतमा नोकरी गर्न गएका छन् । 

कामदारदेखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म चारकोठे भवन विद्यालयलाई नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण सुरु गरिएको भए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन । 

ठेकेदारले हालसम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालयबाट नै नआएको स्थानीयले बतएका छन् । भवन सञ्चालन गर्नेबारे स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकाय पनि बेखबर बनेको अभिभावकहरुले आरोप लगाएका छन् । 



भवन निर्माणपछि हस्तान्तरण नहुँदा विद्यार्थी मारमा परेका छन् । भवन भएरै पनि खुला चौरमा पढाउनुपर्ने बाध्यता नगरपालिकाले नबुझेको सेवा क्षेत्रका अभिभावकको गुनासो छ । बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले भवन निर्माण प्रक्रियाका बारेमा आफूले कसैले खबर नगरेको बताए । 

शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ३६ लाख रुपैयाँमा भवन निर्माण गर्नुपर्ने भए पनि ठेक्का प्रक्रियामा भएकाले १२ लाख रकम निकासा भएको नगरपालिकाले जनाएको छ । निर्माणाधीन भवनका लागि नगरपालिकाले बजेट विनियोजन गर्न लागत अनुमान नभएका कारण कुनै आधार नभएको नगर प्रमुख शाहको भनाइ छ । समुदायले बनाउनुपर्ने भवन ठेक्का प्रक्रियामा दिँदा झन् समस्या आएको उनको दाबी छ । 
 



  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार १४:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया