प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेटको उपाधि मकवानपुरले हात पारेको छ । सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धादिङ जिल्लालाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि हात पारेको खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए ।
मकवानपुरले २० ओभर मा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । मकवानपुरका खेलाडी रिजन ढकालले ४२ रन बनाएका थिए भने बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएको क्षेत्रीले बताए ।
धादिङले २० ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनाइए लक्ष्य पूरा गर्न नसकेपछि मकवानपुरले २४ रनले जित्दै उपाधि हासिल गरेको छ । विजेता र उपविजेतालाई ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
समापन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्यसचिव सूर्यलाल भण्डारी, बागमती क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, क्रिकेट संघ चितवनका कार्यबाहक अध्यक्ष सुदीप पियाँलगायतको उपस्थिति रहेको थियो ।
हेटौँडामा भएको तेक्वान्दो खेलका विजयीलाई सोमबार पुरस्कार वितरण गरिएको छ । विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीका साथै तेक्वान्दोको पुन्से खेलमा पुरुष तथा महिला र समूहका विजयी खेलाडीलाई पुरस्कृत गरिएको खेल संयोजक माधव कोइरालाले बताए । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख अतिथ्यमा पुरस्कार वितरण गरिएको थियो ।
खेलमा सबैभन्दा बढी पदक चितवनले पाएको छ । चितवनले ६ स्वर्ण, ८ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । नुवाकोटले ४ स्वर्ण, ६ रजत र ४ कास्य पदक पाउदाँ मकवानपुरले २ स्वर्ण, २ रजत तथा ८ कास्य प्राप्त गरेको छ भने काठमाडौंले ३ स्वर्ण,२ रजत र ५ कास्य पदक प्राप्त गरेको खेल संयोजक कोइरालाले बताए ।
काठमाडौंको दशरथ रंगशालामा आइतबार जारी एथलेटिक्सअन्तर्गतका विभिन्न खेल सम्पन्न भएका छन् । सिन्धुपाल्चोकको चौतारा कभर्डहलमा कराँतेका खेल भएका छन् । त्यस्तै, काभ्रेको धुलिखेल खेल मैदानमा महिला फुटबल खेल सुरु भएको खेल संयोजक कल्पना शर्माले बताइन् ।
९ गतेदेखि भने काभ्रेमै बक्सिङ खेल प्रतियोगिता हुनेछ । सबै खेल सम्पन्न भएपश्चात् खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।