एभरेस्ट प्रिमियर लिगः भैरहवा ग्लाडिएटर्स फाइनलमा

काठमाडौं– भैरहवा ग्लाडिएटर्स एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा काठमाडौं किंग्स इलाभेनलाई शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले ६ विकेटले पराजित गर्दै फाइनलमा ललितपुरसँगको भेट पक्का गरेको हो । यसअघि ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रियोट्स फाइनलमा पुगिसकेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय रन जोडेको थियो । १ सय १ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

भैरहवालाई जित दिलाउने क्रममा रायन टेन डिकोस्टाले महत्त्वपूर्ण इनिङ खेले । ३८ बलमा पाँच चौकासहित उनले सर्वाधिक ४५ रन जोडेका थिए । यस्तै, रविइन्दर सिंहले ३१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंहले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, कप्तान शरद भेषवाकर ६ तथा रोहितकुमार पौडेल ९ रनमा नटआउट रहे । 

भैरहवाको ४ विकेट लिने क्रममा सांसद शेखले २ तथा परदीप साहुले एक विकेट लिए । यस्तै, ओपनर प्रदीप ऐरी भने रनआउट भएका थिए । 

यसअघि राम्रो सुरुवात गर्न नसक्दा काठमाडौं सस्तैमा समेटियो । काठमाडौंका लागि परदीप साहुले २५, सन्दीप राजालीले २७ तथा अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

काठमाडौंलाई अलआउट गर्ने क्रममा भैरहवाका कुशल मल्लले ३ विकेट लिए । पूरै ४ ओभर बलिङ गरेका उनले २० रन दिएका थिए । यस्तै, मोहमद नाभेदले २ तथा कप्तान शरद भेषवाकर र अविनाश बोहोराले समान १ विकेट लिए । काठमाडौंका तीन ब्याट्समेन रनआउट भएका थिए ।
 





  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार १५:२३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया