स्थानीय तह निर्वाचन : हेटौंडा उपमहानगरको मेयरमा ९ जना आकांक्षी

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका १० वटै स्थानीय तहमा चुनावी माहोल तातिन सुरु भएको छ ।

उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरूको दौडधूप, भेटघाट तथा छलफल तीव्र हुन थालिसकेको छ ।

दलहरू उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

उम्मेदवारका आकांक्षीहरू पनि आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गर्दै कार्यकर्तासँग छलफल र माथिल्ला तहका नेतासँग लबिङमा लागेका छन् ।

पार्टी कार्यालयहरूमा नेता–कार्यकर्ताको जमघट बढेको छ । चिया–चौताराको विषयवस्तु आसन्न निर्वाचन नै भएको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० स्थानीय तहमध्ये ६ वटा पालिकामा नेकपा एमालेले बर्चस्व बनाएको थियो ।



जिल्लाको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले जितेको थियो ।

यस्तै, नेपाली कांग्रेसबाट राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिका प्रमुखमा जितेको थियो भने माओवादी केन्द्रबाट थाहा नगरपालिका र बागमती गाउँपालिकाको स्थानीय सरकार बनेका थिए ।



आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा कुन राजनीतिक दलहरूले बलियो पकड बनाउलान् भन्ने चर्चाको विषय बन्न थालेको छ ।

निर्वाचन नजिकिएसँगै आफ्नो पार्टीले गरेका राम्रा काम तथा अबको भावी योजनाको बारेमा प्रचार  गर्ने कार्यहरू व्यापक बन्दै गएको छ ।

बागमती प्रदेशकै राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा कसले नेतृत्व गर्ला भन्ने सबैको चासोको विषय बनेको छ ।

प्रदेशकै एक मात्र उपमहानगर हेटौंडामा अब पनि एमाले र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने स्पष्ट छ ।

कांग्रेसले हेटौंडामा हालसम्म निर्वाचन जित्न सकेको छैन । एमालेको सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हेटौंडा उपमहानगरपालिका हो ।

२०४६ मा बहुदल स्थापनापछि ०४९ र ०५४ मा भएको निर्वाचनमा हेटौंडामा एमाले विजयी भएको थियो भने ०७४ सालको चुनावमा पनि एमालेकै बर्चस्व कायम रहेको थियो ।

एमालेमा ३ जना आकांक्षी

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेभित्र हेटौंडा उपमहानगरपालिकाका मेयरको टिकट लागि हालसम्म तीन आकांक्षी देखिएका छन् ।

वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले पार्टीभित्र टिकटका लागि लबिङ शुरु गरेका छन् ।

हाल चर्चामा रहेका महत, पौडेल र खुलालले भने आन्तरिक रूपमा आफूनिकट नेतासँग आफ्नो पक्षमा वकालत गर्न आग्रह गरिरहेका छन् ।

समाजवादीको २ आकांक्षी

एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टीबाट हेटौंडाको मेयरमा दाबी गर्ने देखिएको छ । एकीकृत समाजवादीबाट हेटौंडाको मेयरमा २ जनाले आकांक्षा देखाएका छन् ।

यसअघि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित मीनाकुमारी लामाले यस पटक एकीकृत समाजवादीबाट मेयरमा लड्ने आकांक्षा व्यक्त गरेकी हुन् भने एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पनि दाबी गरेका छन् ।

कांग्रेसबाट ४ जना आकांक्षी

निर्वाचनको मिति नजिकिएसँगै हेटौंडा उपमहानगरपालिकाको मेयरको लागि कांग्रेसबाट ४ जनाको नामले चर्चा बटुलिरहेको छ ।

कांग्रेसको संस्थापन र इतर पक्षबाट गरी ४ जनाले आकांक्षा व्यक्त गरी टिकटको लागि लबिङमा रहेका छन् ।

कांग्रेस मकवानपुरका पूर्वसचिव तथा अघिल्लो स्थानीय तह निर्वाचनमा मेयर प्रत्यासी आनन्दराम पराजुली मेयरका बलियो आकांक्षी मानिन्छन् ।

१४औं जिल्ला अधिवेशनमा सभापतिमा त्रिपक्षीय भिडन्त हुँदा दोस्रो भएका पराजुलीलाई मेयरको टिकट दिने आश्वासनमा पार्टीको दोस्रो चरणको निर्वाचनबाट पराजुलीलाई ब्याक गराएको थियो ।

यसैगरी, नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रभातकुमार दाहाल पनि हेटौंडाको मेयरका दाबेदार हुन् ।

यसैगरी, अघिल्लो निर्वाचनमा मेयरको चुनाव लडेका कांग्रेसका वर्तमान सचिव भीमसेन महत पनि मेयरका आकांक्षी भएको बताउँदै आएका छन् ।

यसैगरी, हाल हेटौंडा उपमहानगरपालिका-५ का अध्यक्ष राजेश बानियाँले पनि मेयरको इच्छा राखेका छन् ।

उनलाई कांग्रेस नेता इन्द्र बानियाँको समेत बलियो साथ भएका कारण अन्तिम समयमा राजेश बानियाँलाई मेयरका रूपमा अघि बढाउने निश्चित भएको समेत चर्चा भइरहेको छ ।

  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १९:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया