बिग ब्यासमा सन्दीप : शुक्रबार डेब्यु

काठमाडौं– बिग ब्यास क्रिकेट लिगमा भोलि (शुक्रबार) नेपालका लेग स्पिनर सन्दीप लामिछानेले डेब्यु गर्दै छन् । बिग ब्यास अस्ट्रेलियाको घरेलु टी–२० क्रिकेट लिग हो । आठौँ संकरणमा आइपुग्दा पहिलोपटक बिग ब्यासमा नेपाली खेलाडी सहभागी हुन लागेका हुन् । 

बिग ब्यासमा सहभागी हुन सन्दीप अघिल्लो आइतबार नै अस्ट्रेलिया प्रस्थान गरेका थिए । अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेल कप्तान रहेको मेलबर्न स्टार्स टिमबाट खेल्दै छन् सन्दीप । म्याक्सवेल र सन्दीपसँगै टिममा ड्वेन ब्राबो, एडम जाम्पालगायत छन् । 

प्रतियोगिता बुधबारबाट सुरु भए पनि सन्दीपको टिम मेलबर्न स्टार्सको पहिलो खेल सिड्नी थन्डरसँग शुक्रबार हुनेछ । नेपाली समयअनुसार दिउँसो २ बजे खेल सुरु हुनेछ । मेलबर्नको दोस्रो खेल पुस ९ तथा तेस्रो खेल पुस १२ गते हुनेछ । 

बिग ब्यासमा जम्मा ८ टिम सहभागी छन् । सातौँ संस्करणसम्म मेलबर्न स्टारले उपाधि जित्न सकेको छैन । एकपटक उपविजेता बन्नु नै उसको अहिलेसम्मको ठूलो उपलब्धि हो । अघिल्लो वर्ष मेलबर्न तालिकाको पुछारबाटै बाहिरिएको थियो । 

यसै वर्ष पहिलोपटक इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेका सन्दीपले त्यसयता क्यारेबियन प्रिमियर लिग, टी–१०, ग्लोबल टी–२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । 

दिल्ली डेयरडेभिल्सबाट पहिलोपटक आइपिएल खेल्दा सन्दीपले सानदार प्रदर्शन गर्दै ३ खेलमा ५ विकेट लिएका थिए । यस्तै, ग्लोबल टी–२० लिगमा ५ खेलमा ८ तथा क्यारेबियन प्रिमियर लिगमा ५ खेलमा ७  विकेट लिएका थिए । 



अफगानिस्तान प्रिमियर लिगमा जम्मा १ खेल खेलेका सन्दीपले २ विकेट लिएका थिए । यस्तै, टी–१० लिगको ६ खेलमा उनले ६ विकेट लिएका थिए । 



  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार १९:४३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया