डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ ।
स्थानीय तह चुनाव केन्द्रित ‘जनमत माटाे यात्रा’का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् ।
पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो संकलन गरेका थिए ।
जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ ।
बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६ चैतदेखि सप्तरी जिल्लाको विभिन्न स्थानीय तहमा यात्रा जारी रहेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । सप्तरी पछि रौतहट, सिराहा, सर्लाहीलगायतका जिल्लामा माटो यात्रा हुने उनले बताए ।
नेता साहका अनुसार किसान, आमसर्वसाधारण तथा मतदातासँग प्रत्यक्ष रूपमा भेटघाट गर्न जनमत माटो यात्रामा तीव्रता दिइएको हो ।
‘तराई-मधेसका गाउँगाउँमा पुगेर अध्यक्षज्यूले सर्वसाधारणलाई भेट्दै हुनुहुन्छ’, नेता साहले भने, ‘मधेस एकता उद्यान स्थापनाका लागि तराई-मधेसको विभिन्न स्थानीय तहबाट माटो संकलन गर्ने कार्यक्रमको रूपमा जनमत माटो यात्रा सुरु गरिएको थियो । निर्वाचन नजिकिएपछि यसलाई निर्वाचन केन्द्रित कार्यक्रमको रूपमा पनि अगाडि सारिएको छ ।’
स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने नेता साहको भनाइ छ ।
‘हाम्रो पार्टीले केन्द्रीय तहबाटै कुनै पार्टीसँग गठबन्धन गर्दैन । स्थानीय नेतृत्वले आफू अनुकुल कोहीसँग पनि तालमेल गर्न सक्छन्’, उनले भने, ‘चुनावको तयारीमा हामी धेरै पहिलेदेखि नै कभरेज अभियान, बुथबुथ मजबुत अभियान र जनमत माटो यात्रा गरिरहेकोले ग्राउण्डमा हाम्रो शक्तिको अनुमान हामीले लगाएका छौं । त्यसकारण हामी एक्लै चुनावमा गएर पनि धेरै राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।