सिरियाबाट अमेरिकी फौजको बहिर्गमन : कसले जिते, कसले हारे ?

बुधबार अचानक ट्रम्प प्रशासनले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय सार्वजनिक गरेसँगै विश्वराजनीतिमा एक तरंग फैलियो । सिरिया युद्धमा प्रत्यक्ष होमिएको अमेरिकाले अचानक किन हात झिक्यो ? र, उसको यो कदमले कसलाई के असर पार्ला ? बहस र विश्लेषण जारी छ । 

सिरियाबाट अमेरिकाको ‘ब्याक अफ’ले स्वयं अमेरिका र सिरियालाई त प्रभाव पार्छ नै, प्रभावक्षेत्रमा अन्य थुप्रै पक्ष छन्, जसमध्ये कोही जितको अनुभव गर्दैछन् त कोही हारको । 

जित्नेहरु

बसर अल असद
देशमा चर्केको सिभिल वार, त्यसमाथि अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएका सिरियाली राष्ट्रपति बसर अल असद निकै नाजुक अवस्थाबाट गुज्रँदै थिए । सन् २०१५ मा उनलाई रुसी सेनाको साथ मिल्यो । अहिले, द्वन्द्व सुरु भएको झन्डै आठ वर्षपछि असद आफ्नो सत्ता सुरक्षित भएको महसुुस गर्दै छन् ।

वास्तवमा, अमेरिकाले सिरियाबाट हात झिक्नु उनका लागि पैतालामा बिझेको खिल निस्किनुसमान भएको छ । आफ्नो तानासाही शासन टिकाउन रासायनिक हतियारसमेत प्रयोग गरी लाखौँ नागरिकको हत्या गरेको भन्दै अमेरिका उनीमाथि खनिँदै आएको थियो । 

इरान
केही महिनाअघि मात्र अमेरिकाले इरानविरुद्धको ‘सेक्युरिटी वाल’का रुपमा अनन्तकालसम्म सिरियामा आफ्नो फौज राख्ने बताएको थियो । अमेरिकाले सिरियामा इरानी गतिविधिमाथि अंकुश लगाउँदै आएको थियो । 



अमेरिकाबाहेक सिरिया द्वन्द्वमा संलग्न अन्तर्राष्ट्रिय शक्तिमा इरान र रुस मुख्य छन् । राष्ट्रपति असदलाई सघाउँदै आएका यी दुई शक्तिको प्रभाव अब बढ्नेछ ।

विगतमा इरानले सिरियालाई मध्यपूर्वका सहयोगी शक्तिसँग सेना र हतियार आदानप्रदान गर्ने मार्गका रुपमा प्रयोग गर्दै आएको थियो । अब यस कार्यका उसलाई सहजता मिल्नेछ । 



रुस
रुसले आफूलाई सिरियाली राष्ट्रपति असदको मुख्य सहयोगीको रुपमा उभ्याउँदै आएको छ । सन् २०१५ देखि नै रुसी सेना त्यहाँ क्रियाशील छ ।

सिरियामा रुसको मुख्य प्रतिस्पर्धी शक्ति नै अमेरिका थियो । अमेरिकाको अनुपस्थितिमा आफ्नो गतिविधिलाई विस्तार गर्न र मध्यपूर्वभरि प्रभाव जमाउन रुसलाई सजिलो हुनेछ । 

इस्लामिक स्टेट
ट्विटमार्फत सिरियाबाट सेना फर्काउने निर्णय सार्वजनिक गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्लामिक स्टेट परास्त भएको उल्लेख गरेका छन् । जानकारहरु यसको सत्यता स्विकार्दैनन् ।

सिरियामा करिब १५ हजार स्लामिक स्टेटका लडाकु रहेको उनीहरुको अनुमान छ । पछिल्ला महिनामा यो समूहका लडाकु संगठित हुँदै गएका र सिरियामा आफ्नो गुमेको प्रभाव फेरि बनाउन लागिपरेका विश्लेषकहरु बताउँछन् । हिंसात्मक आक्रमणहरु पनि बढेका छन् । यस्तोमा अमेरिकी सेनाको बहिर्गमनको प्रत्यक्ष फाइदा स्लामिक स्टेटले उठाउने देखिन्छ । 

हार्नेहरु

कुर्दिस समूह
महिनौँदेखि टर्कीले सिरियाको कुर्दिस समूहको नियन्त्रणमा रहेको क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिइरहेको छ । तर, धेरै ठूलो क्षति हुने सम्भावनाका बीच ऊ अघि बढिरहेको छैन । 

जब अमेरिकी फौज सिरियाबाट बाहिरिनेछ, कुर्दिस नियन्त्रित क्षेत्रमा टर्कीको प्रभाव बढ्नेछ । सिरियामा रहेका कुर्दहरुको संरक्षणमा अमेरिकी फौजको भूमिका रहँदै आएको छ ।

कुर्दहरुले सिरियाको एकतिहाइ हिस्सा ओगटेका छन्, जसलाई उनीहरुले ‘सेमिअटोनोमस क्षेत्र’का रुपमा चलाइरहेका छन् । अमेरिकी सेनाको बहिर्गमनसँगै यो समूहले टर्कीको प्रकोपको सामना गर्नुपर्ने देखिन्छ । 

इजरायल
इजरायलले स्वयं सिरियाका सम्बन्धमा नभई इरानलाई कमजोर पार्नका लागि सिरिया द्वन्द्वमा इन्टरेस्ट राखिरहेको जाकारहरु बताउँछन् । अमेरिकासँगै इजरायली सेनाले सिरियामा केही हवाई आक्रमणहरु पनि गरेको छ । अमेरिकाको अनुपस्थितिमा सिरियामा इजरायललाई बलियो सहयोगीको अभाव खड्कनेछ ।

  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार २२:३५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया