सामूहिकरूपमा एमाले प्रवेशको तयारीमा माओवादी पूर्वलडाकु

बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा सामूहिक रूपमा नै युद्धकालीन माओवादी लडाकुहरू नेकपा एमाले प्रवेश गर्ने भएका छन् । ‘युद्धकालीन अपराध र मुद्दा’लाई सम्बोधन गर्न एमाले तयार भएपछि पूर्वमाओवादी लडाकु प्रवेश गर्न लागेका हुन् । 

‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठ्यारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन विष्टले भने, ‘त्यसैले दुवै पक्षबीच सामूहिक पार्टी प्रवेशको मिति चाँडै तोक्ने भन्ने छ ।’ उनका अनुसार एमाले अध्यक्ष ओलीले सामूहिक पार्टी प्रवेश कार्यक्रमका लागि सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओली र विष्टबीच पूर्वमाओवादी लडाकुका माग र मुद्दाका बारेमा तीन चरण छलफल भइसकेको र त्यसको बन्दोबस्त रायमाझीले गराएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतसँग पनि विष्टको टोलीले पटकपटक छलफल गरेको थियो ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत राहत रकम दिने घोषणा गरेका थिए । बहिर्गमित लडाकुलाई ८४ करोड बजेट छुटाए पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । तर, गत १ फागुनमा रकम निकासा गर्न आदेश दिए पनि सरकारले त्यसलाई सम्बोधन भने गरेको छैन ।

‘राहत मात्र होइन, पूर्वजनमुक्ति सेनालाई राज्यको तर्फबाट सम्मानपत्र, परिचयपत्रको व्यवस्था पनि ओलीज्यू प्रधानमन्त्री हुँदा नै भएको हो । यसले पनि हामीलाई हाम्रा माग सम्बोधन हुनेमा आशावादी बनाएको छ,’ विष्टले भने । उनका अनुसार सामूहिक प्रवेश गर्ने पूर्वमाओवादी लडाकुहरूको नाम संकलन भइरहेको छ ।      





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ११:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया