दिवा खाजाकाे व्यवस्था भएसँगै विद्यालयमा बढ्याे विद्यार्थीकाे उपस्थिति

दैलेखको भगवतीमाई गाउँपालिका-६ का गणेश विककाे उमेर आठ वर्ष पुग्याे । उनी वडा नम्बर-५ को भगवती माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । 

सुरु सुरुमा बाटोमै अल्मलिएर बस्ने उनी अहिले निरन्तर विद्यालय जाने गर्छन् । सोही ठाउँकै कक्षा २ मा अध्ययनरत सुमन रेग्मीको पनि समस्या उस्तै थियो । उनलाई विद्यालय जान मन लाग्दैन थियो । 

अहिले विद्यालयमा दिइने दिवा खाजा कार्यक्रम सुरु भएपछि उनी दैनिक विद्यालय पुग्छन् ।

दैलेखमा अहिले दिवा खाजा प्रभावकारी बन्दै गएको छ । दिवा खाजा कार्यक्रम लागू भएपछि विद्यार्थी पनि निरन्तर विद्यालय आउने र पढाइ पनि गुणस्तरीय भएको शिक्षक सीता अधिकारी बताउँछिन् । 

‘पहिले विद्यार्थी घरबाट विद्यालय पुगे पनि बीच बाटोमै बस्ने, रुने कराउने समस्या थियो’, उनले भनिन्, ‘अहिले दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि खाजा खानकै लागि पनि विद्यार्थी विद्यालय निरन्तर पुग्छन् ।’

गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू भएको हाे । बालविकासदेखि कक्षा ५ सम्म लागू भएको यो कार्यक्रम सकरात्मक र प्रभावकारी भएको भगवतीमाई गाउँपालिका शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत मानबहादुर विश्वकर्मा बताउँछन् ।



उनले २४ वटा विद्यालयमा खाद्य परियोजना र बाँकी रहेका आठवटा विद्यालयमा नेपाल सरकारको सशस्त्र अनुदानबाट सञ्चालन भइरहेको बताए ।

दिवा खाजा कार्यक्रम लागू भएपछि विद्यालय पुग्नेको संख्या बढेको, दिउँसो विद्यालयमा लुकेर जाने बालवालिकाको संख्या कम हुँदै आएको छ । 



भगवतीमाई  गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई जोड दिएको शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत विक बताउँछन् । 

उनले भने, ‘अहिले यहाँका अधिकांश सामुदायिक विद्यालयहरूमा स्थानीयस्तरमा उत्पादन भएका अर्गानिक खानेकुरालाई जोड दिएका छौं । अहिले पनि स्थानीय जातका खानेकुरा नभेटेपछि केही विद्यालयले मात्र चामल, अन्यले स्थानीय स्तरकै उत्पादनमा जोड दिएका छन् ।  स्थानीय स्तरकै अर्गानिक खानेकुरालाई जोड दिँदा स्थानीय किसानको आयआर्जन बढेको छ ।’

  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार ११:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया