जनयुद्धदेखि नै पूर्णकालीन माओवादी परिवारका शर्माले किन रोजे एमाले ?
जेठा दाइ जनयुद्धमै मारिएका थिए

मुलुकका प्रमुख राजनीतिक दलहरूमा यतिबेला पार्टी प्रवेश गराउने सिजन नै चलेको छ । ३० वैशाखमा घोषणा भएको स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्षस्थ नेताहरू चुनावी अभियानमा देशैभरि दौडधूप गरिरहेका छन् । 

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार माओवादीले सशस्त्र जनयुद्धसँग जोडिएका दुई प्रभावशाली नेतालाई एमाले प्रवेश गराए । 

एमालेको बुधबारबाट जारी केन्द्रीय कमिटी बैठककै बीचमै माओवादी प्रवक्ता कृष्णबहादुर महराका स्वकिय सचिव प्रमोद शर्मा र उनकी पत्नी सीता चौधरी एमाले प्रवेश गरेका हुन् । 

शर्मा दम्पती एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्र तरगिंत छ । 

माओवादी छाड्नैपर्ने अवस्थामा कसरी पुगे शर्मा दम्पती ?

शर्मा दाङको माओवादी केन्द्र, घोराही उपमहानगर कमिटीका अध्यक्ष पनि हुन् । गत सोमबार मात्रै बसेको माओवादी केन्द्र दाङको बैठकले जिल्ला कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको थियो । 



शर्मा जिल्ला सचिवका आकांक्षी थिए । तर, बैठकले जिल्ला सचिवमा विश्वराज आचार्यलाई चयन गरेसँगै उनले असन्तुष्टि जनाएका थिए । 

सुरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यको आकांक्षा व्यक्त गरेका शर्मा जिल्ला कमिटीमा पनि स्थान नपाएपछि उनले लामो समयसम्म समय बिताएको माओवादी केन्द्र छाडेर एमाले रोजेका हुन् । 



घोराही उपमहानगर कमिटीको इन्चार्जको रूपमा कृष्णबहादुर महराका छोरा निर्मल महराले जिम्मेवारी पाएका थिए । तर, शर्मा भने सोही कमिटीको अध्यक्षमा यथावत बस्न परेपछि असन्तुष्टि बढेको थियो । 

आफूभन्दा जुनियर महरा इन्चार्ज बन्दा आफू अध्यक्षमै बस्नु परेपछि शर्मा असन्तुष्ट थिए । 

त्यस्तै, उनकी धर्मपत्नी चौधरी भने ०७४ को स्थानीय तहको चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरकी उम्मेदवार थिइन् । तर, उनले पराजय बेहाेर्न परेको थियो । 

डेरी व्यवसाय गरेर बसेकी चौधरीलाई माओवादीले चुनावमा उठाएको थियो । तर, हारपछि उनी पार्टीको कुनै महत्त्वपूर्ण जिम्मेवारीमा नभएको भन्दै असन्तुष्ट थिइन् । उनी लुम्बिनी प्रदेशस्तरीय नेतृ थिइन् ।

परिवार नै पूर्णकालीन माओवादी, जेठा दाई मारिएका थिए

शर्माका परिवार नै पूर्णकालीन माओवादी हुन् । पूर्णकालीन माओवादी युद्धमा होमिएका शर्माका जेठा दाई जनयुद्धका क्रममा मारिएका थिए ।

शर्मा पार्टीपंक्तिमा शालीन र भद्र नेताको रूपमा परिचित थिए । शर्माले गत ८ चैतमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । 

शर्माले बिहीबार एमाले प्रवेश गरेसँगै लुम्बिनी माओवादीभित्र एक प्रकारको तरंग सिर्जना भएको छ । 

अझ, केन्द्रीय कमिटी बैठकको बीचमै एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएर महत्त्वपूर्ण स्थान दिएपछि चुनावको मुखमा उनले चर्चा कमाएका छन् ।

  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १३:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया