क्षयरोगको लक्षण देखिए बेलैमा उपचार गरौं : स्वास्थ्यमन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले कोरोना र क्षयरोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागे परीक्षण गर्न आग्रह गरेका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य सन्देश दिँदै उनले पछिल्लो समय विश्वभर फैलिएको कोरोना र क्षयरोग दुबैले फोक्सोमा असर गर्ने र दुबै रोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागेमा कोरोनासँगै क्षयरोगको परीक्षणका लागि आग्रह गरेका हुन् ।

बागमती प्रदेश सरकारले रोगको पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकाे छ । जसबाट बेलैमा पहिचान हुन सहयाेग पुग्ने मन्त्री लामाले जनाए ।

उनले क्षयरोगको उपचार सेवा तथा औषधी निःशुल्क रहेकाले बेलैमा यसको पहिचान गरी उपचारमा लाग्न हुन प्रदेशवासीमा अनुरोध पनि गरे । 

धुम्रपान-मध्यपान नगर्ने, पोषणयुक्त खानेकुरा खाने, बालबालिकालाई तोकिएको समयमा बिसिजीको खोप लगाउने र रोगको संक्रमण अरूमा फैलिन नदिन प्रदेशका सबै नागरिक सचेत रहन जरुरी रहेको उनको भनाइ छ ।

‘क्षयरोग अन्त्यका लागि लगानी गरौं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस २०२२ आज देशभर विभिन्न कार्यक्रम मनाइँदैछ । 



नेपालमा सन् २०१८/१९ मा सम्पन्न क्षयरोग प्रिवालेन्स सर्वेक्षण अनुसार अनुमानित ६८,००० जना नयाँ क्षयरोगका बिरामी रहेको तथ्य सार्वजनिक भएको छ । 

स्वास्थ्य मन्त्रालयको प्रतिवेदन अनुसार नेपालमा वार्षिक करिब २७,२३२ जना बिरामी रोग पत्ता लागेर उपचारमा आएका छन् । 



नेपालमा घातक रोगका कारण मृत्यु हुनेमा क्षयरोग सातौं घातक रोग रहेको छ। 

क्षयरोग सक्रिय नरहे तापनि निष्क्रिय रहेको हुन सक्ने भएकोले नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ जना व्यक्तिलाई भविष्यमा क्षयरोग सक्रिय हुन सक्ने देखिएको चिकित्सकहरू बताउँछन् ।

विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको किटाणुको अवस्थाबारे पत्ता लाग्ने गर्दछ । त्यसैले लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने, अस्वाभाविक रूपमा शरीरको वजन घट्ने, फोक्सोमा पीडा महसुस हुने, ज्वरो आउनेजस्ता लक्षण देखिएमा परीक्षण गर्न मन्त्री लामाले अनुरोध गरेका छन् । 

श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मृगौला प्रत्यारोपण गरेका, क्यान्सरजस्ता प्रतिरोध क्षमता कम भएका रोगीहरूलाई छिटो लाग्ने चिकित्सक बताउँछन् ।

दिवसको अवसरमा मन्त्री लामाको प्रमुख आतिथ्यतामा हेटौंडामा सचेतनामूलक प्रभातफेरी भएको थियो ।

  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १४:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया