पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने यस्ता छन् आधार-प्रमाण

नाबालिग गायिकालाई बलात्कारको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको हो । त्यस्तै, शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा छोड्ने अदालतले आदेश दिएको छ ।

'... प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले वर्ष १५ की परिवर्तित नाम ०७८/७९ व्यास-१२ लाई ललाइफकाइ विवाह गर्छु भनी प्रलोभन देखाइ जबरजस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा १ को खण्ड 'ख' बमोजिम थुनामा राखी पुर्पक्ष गर्नेगरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली, तनहुँ पठाइ दिनू' आदेशमा भनिएको छ ।

अदालतले जारी भएको आदेशमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन पर्ने कारणबारे पनि उल्लेख गरिएको छ । अदालतले शाहविरुद्ध परेको किटानी जाहेरी, पीडितले दिएको घटना विवरण कागज, शाहले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयान, उक्त घटनाका विषयमा थाहा पाउने व्यक्तिहरूले दिएको बयान लगायतलाई प्रमाणलाई आधार मानेर विश्लेशण गरी शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

'…पूर्णविक्रम शाहउपर परेको किटानी जाहेरी, मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले यो ठाउँमा यसरी जबरजस्ती करणी गरेको भनी दिएको पीडितले मौकामा गरी दिएको घटना विवरण कागज, पीडितको शारीरिक जाँच परीक्षण रिपोर्ट, उक्त राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको हुँ भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयान, उक्त घटना वारदातका विषयमा थाहा पाउने व्यक्तिहरू परिवर्तित नाम स कुमारी, दुर्गेश थापा भन्ने दुर्गाबहादुर थापा, कमल खत्री सरोज ओली भने पुन्यप्रसाद ओली, योगेश काजी भन्ने योगेश शाह र दुर्गा अधिकारीले पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको कारण आफूलाई अफ्ठ्यारो परेको भनि पीडितले गुनासो गरेपछि न्यायिक कारबाहीमा जाने विषयमा छलफलसमेत भएको हो भनी लेखाइ दिएको घटना विवरण कागजात लगायतका प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा..' आदेशमा लेखिएको छ ।





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार २०:४८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया