आफ्नै बयानले पललाई पुर्‍याएको हो थुनामा

तनहुँ जिल्ला अदालतले जबरजस्ती करणी सम्बन्धी कसुरमा अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बिहीबार अदालतको आदेश आएपछि शाह जिल्ला कारागार तनहुँ चलान भएका छन् ।

यही विषयमा मतियारका रुपमा मुद्दा चलाइएका उनका म्यानेजर कृष्ण जोशीलाई अदालतले एक लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले यो आदेश दिएको हो ।

यो आदेशका लागि पलको बयानलाई नै प्रमुख आधार बनाइएको छ ।

पलले यसअघि अदालतमा आफू पीडितको कोठामा प्रवेश गरेको स्वीकार गरेका थिए । उनले घटना भएको दिनको राति १२ बजेतिर पीडितलाई मेसेज गरेर साथीहरुसँग खाएर बाँकी रहेको बियर लिएर आफू पीडितको कोठामा प्रवेश गरेको बताएका थिए ।

न्यायाधीश ढुंगानाले यही बयानलाई नाबालिगमाथि बलात्कार भएको प्रमुख आधार बनाएका छन् । उनले दिएको आदेशमा भनिएको छ, ‘राति १२ बजे एक्लै सुतेकी बालिकाको कोठामा प्रवेश गर्नु पर्ने कुनै कारण देखिएन ।’

तनहुँको दुलेगौंगामा १८ वैशाखमा बेग्लाबेग्लै कोठामा सुतेको अवस्थामा राति १२ बजेतिर नाबालिगको कोठामा शाह गएर बलात्कार गरेको किटानी जाहेरी बालिकाका बाबुले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएका थिए । अदालतमा पीडित बालिकाले पनि आफूलाई पलले जबरजस्ती गरेको बयान दिएकी छिन् । उनले आफूले हुँदैन भन्दाभन्दै पलले विवाहको आश्वासनसमेत दिएको बयान दिएकी थिइन् ।



यतिमात्र होइन, यसअघि आएको एक अडियो पनि पललाई थुनामा पठाउने प्रमुख आधार बनेको छ । यसअघि सार्वजनिक भएको अडियोमा पलले त्यो सम्बन्धलाई नर्मल भनेका थिए र गर्भवती भएको अवस्थामा आफूले पीडितलाई स्वीकार गर्ने बताएका थिए ।



  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार २२:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया