नेपालीलाई आफ्नै भूमिमा व्यापार गर्न भारतीय एसएसबीले रोक्यो
विवाद नभएको प्रशासनको दाबी

कञ्चनपुरमा नेपाल–भारत सीमामा भारतीय सुरक्षा बल (एसएसबी)का कारण फेरि विवाद सिर्जना भएको छ ।

शुक्रबार कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारनजिक स्थानीयले व्यापारका लागि छाप्रो राख्न खोजेपछि भारतीय एसएसबीले अवरोध सिर्जना गरेको हो ।

स्थानीय हरिश पन्तका अनुसार पूर्णागिरि मेलालाई मध्यनजर गर्दै त्रिपाल थापेर पसल राख्न खोजिएको थियो । तर, एसएसबीले आफ्नै भूमि भन्दै पसल राख्न नदिएको हो । ‘विगतमा मेलाको अवसरमा पसल राख्ने गरिन्थ्यो । यस पटक एसएसबीले अवरोध गर्‍यो,’ उनले भने ।

भीमदत्त नगरपालिका–९ का वडाअध्यक्ष राम नाथले भारतीय पक्षले त्यस क्षेत्रमा सीमा स्तम्भ हराएको भन्दै केही काम गर्न नदिएको बताए । ‘स्तम्भ एकीन नभएकाले हामीले पनि केही काम गर्दैनौँ । तपाईंहरू पनि अहिले केही काम नगर्नुहोस् भनेका छन्,’ उनले भने ।

वडाध्यक्ष नाथका अनुसार त्यही कारणले भारतीय पक्षले सो क्षेत्रमा सडक कालोपत्रे गर्नमा पनि अवरोध सिर्जना गर्दै आएको छ । ‘नगरपालिकाले दुई वर्षअगाडि सडक कालोपत्रे गर्न टेन्डर खोलेर काम गर्ने तयारी गरेको थियो,’ उनले भने, ‘तर, भारतीय पक्षको अवरोधले सडक कालोपत्रे हुन सकेको छैन ।’



ब्रह्मदेवनजिक भारतीय पक्षले स्थानीयलाई व्यापार गर्नमा अवरोध गरेपछि शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी असोककुमार भण्डारी तथा सुरक्षा निकायका प्रमुख त्यहाँ पुगेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले ब्रह्मदेवमा केही विवाद नभएको दाबी गरेका छन् ।

प्यारातालमा बल्झिरहन्छ समस्या



यस्तै, कञ्चनपुर पुनर्वास नगरपालिका–९, बीच फाँटास्थित नेपाली भूमिमै पर्छ, प्याराताल । ४ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो ताल परालजस्तै लाम्चो भएकाले प्याराताल नामकरण गरिएको स्थानीय हरुको भनाइ छ । तालमा बाह्रै महिना पानी हुन्छ । यहाँ माछा, कछुवा, घडियाल, गोहीलगायतका जलचर पाइन्छन् ।

प्याराताल कञ्चनपुरको दक्षिणी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ । महत्त्वपूर्ण जलचर र पानीको प्रयाप्त स्रोत रहेको यो तालमा पछिल्लो समय छिमेकी भारतले आँखा गाडेको छ ।

उसले प्याराताललाई आफ्नो भएको दाबी मात्रै गरेको छैन्, सीमा सुरक्षा बल एसएसबी लगाएर त्यहाँ गरिने पर्यटकीय गतिविधिलाई पनि रोक्नसमेत खोजेको छ ।

प्यारातालकै विषयलाई लिएर नेपाली नागरिक र एसएसबीबीच समय–समयमा विवाद सिर्जना हुने गरेको छ । । बिहीबार पनि एसएसबीले नेपाली पक्षलाई प्यारातालमा सरसफाइ गर्न दिएन । भारतीय पक्षले हुलाकी सडकको काममा समेत अवरोध गर्दै आएको स्थानीयले बताए ।

विसं २०२२ देखि तत्कालीन जिल्ला विकास समितिले तालमा माछा मार्न ठेक्का दिँदै आइरहेको थियो । २०३५ सालयता भारतीय पक्षले पनि प्याराताल आफ्नो भएको दाबी गर्न थाल्यो । प्याराताल भारतको दुधुवा नेशनल पार्कका जंगली जनावरका लागि पानीको मूख्य मुहान हो । त्यसैले भारतले नेशनल पार्कका जनावरलाई पानी आपूर्तिका लागि प्यारातालमा आँखा गाढेको स्थानीयको बुझाइ छ ।

सीमा विवाद यहाँ मात्रै होइन देशभर छ । त्यसैले २०३८ सालमा सीमा विवाद सामाधानका लागि दुई देशको संयुक्त सीमा सर्भे टोली बनाइयो । तर, सर्भेको काम गरिएन । त्यसपछि देशभर ०४४/४५ सालमा तटीय क्षेत्रको नापजाँच तथा विवाद समाधानका लागि टोली खटाइयो । त्यो टोलीले २०५६ सालमा भारतसँग जोडिएका सबै क्षेत्रको नापजाँच गरी नक्सा बनायो ।

कञ्चनपुरको दक्षिणी क्षेत्रको नापजाँच भने भएन । यहाँ ०५९ सालमा मात्रै नापी भयो । त्यो सर्भे टोलीले स्ट्रिप नक्सा जारी गर्‍यो । २०६१/६२ सालमा आएको नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले स्ट्रिप नक्साकै आधारमा प्याराताल भारततिर पार्ने गरी सीमा स्तम्भ गाढेको थियो ।

पुनर्वास नगरपालिकामा पर्ने प्याराताल नजिकैको साविकको पिलर संख्या १९४ (हालको ७६२) देखि झण्डै ६ किलोमिटर पश्चिमसम्म भारतले ६ सय मिटर नेपालतर्फ सीमा पिलर गाढेको छ ।

हजारौं हेक्टर नेपाली भूमिमा भारतले कब्जा जमायो । नेपाली भूमि कब्जा गर्ने आधार बन्यो स्ट्रिप नक्सा । स्ट्रिप नक्सामा प्याराताल लगायतका भूभागलाई भारतमा देखाएकाले विवाद बढेको अन्तराष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले बताए ।

‘त्यो नक्सामा नेपाल र भारतीय पक्षले हस्ताक्षर गरेको छ, त्यही नक्सालाई लिएर एसएसबीले समय–समयमा विवाद गर्छ,’ उनले भने, ‘त्यो नक्सा पुनरावलोकन नहुँदासम्म विवाद भइरहने देखिन्छ ।’

एसएसबीले त्यही नक्सा देखाएर सीमा क्षेत्रमा विवाद गर्ने गरेको उनको भनाइ छ । ‘भारतीय सरकारले त्यही स्ट्रिप नक्सा एसएसबीलाई दिएर सीमामा पठाएको छ,’ उनले भने, ‘उनीहरूले त्यो नक्सामा नेपाल सरकारको छाप भएकाले आधिकारिक यही हो भन्दै नेपाली भूभागमा हुने क्रियाकलाप रोक्ने गरेका छन् ।’

  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार २०:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया