लिटरेचर फेस्टिभलमा किन समेटिएन नाटक विधा ?

‘साहित्यको महाकुम्भ’का रूपमा लिइने लिटरेचर फेस्टिभल’को यस वर्षको तालिका प्रकाशित भएको छ । फेस्टिभलको समयतालिका र कार्यक्रम हेर्दा कतै पनि नाटकलाई समेटिएको देखिँदैन । पुस ६ गतेदेखि चार दिनसम्मका लागि पोखरामा आयोजना हुन गइरहेको लिटरेचर फेस्टिभलमा नाटक र रंगमञ्चका कुनै पनि विषयलाई समेटिएको छैन । 

लिटरेचर फेस्टिभल नेपाली साहित्यकै चर्चित र अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा पर्छ । तर, साहित्य तथा कलाकै अभिन्न आयाम ‘रंगमञ्च र नाटक’लाई फेस्टिभलमा नसमेटिनुले प्रश्न खडा गरेको छ । लामो समयदेखि चल्दै आएको लिटरेचर फेस्टिभलमा पछिल्लो समय नाटकबारे कुनै पनि छलफल भएको देखिँदैन ।

साहित्य तथा कलाका विभिन्न पक्षलाई नाटकले झल्काउने काम गरिरहेको हुन्छ । तर, त्यही नाटकलाई देशकै सबैभन्दा ठूलो फेस्टिभलमा नसमेटिनुले चित्त नबुझेको बताउँछिन्, रंगनिर्देशक सरिता गिरी । उनी भन्छिन्, ‘बजारमा प्रकाशित भएका कृतिलाई लिएर नै नाटक भइरहेको हुन्छ । तर, फेस्टिभलमा ती कृतिमाथि चर्चा हुन्छन्, तर नाटकमाथि हुँदैन ।’

नेपाली साहित्यमा बर्सेनि प्रकाशन हुने विभिन्न कृतिबारे पाठकलाई र दर्शकलाई बुझाउन नाटकले भूमिका खेलिरहेको उनी बताउँछिन् । उपन्यास, कथा, कवितालगायत साहित्यमा लुकेर रहेका विभिन्न विषयमा नाटक गरिरहेका हुन्छन्, रंगकर्मीहरू । तर, लिटरेचर फेस्टिभलमा नाटक र रंगमञ्चलाई लिएर कुनै पनि छलफल भएको हुँदैन । 

आफूले उपस्थिति जनाउँदाका फेस्टिभलमा पनि नाटकको विषय नउठेको सम्झिँदै गिरि भन्छिन्, ‘रंगकर्मीलाई लिटरेचर फेस्टिभलको निमन्त्रणा पनि आउँदैन । आफ्नो स्वेच्छाले जानेहरू मात्र जान्छन् ।’

फेस्टिभलमा रंगमञ्चलाई नसमेटिनुको कारण कार्यक्रम आयोजकलाई नै थाहा हुने कुरा हो । तर, साहित्य र नाटकसँग नजिक भएका लेखक तथा साहित्यकारले पनि फेस्टिभलमा नाटकको विषयलाई उठाएको देखिँदैन । फेस्टिभलमा कला–साहित्यका सबै पक्षलाई समेटिनुपर्ने गिरी बताउँछिन् । फेस्टिभलमा नाटक र रंगमञ्चलाई नसमेटिनुको सम्भावित कारण नेपाली नाटकको स्तर र पहुँच फेस्टिभलसम्म नभएको हुन सक्ने उनको अनुमान छ । नाटकले साहित्यलाई चिनाउन खेलेको भूमिका र सुनील पोखरेल, हरिहर शर्मालगायत रंगकर्मीहरूको योगदान बिर्सन नहुने गिरी बताउँछिन् ।



कला–साहित्य क्षेत्रमा भएका मान्छेबीच सबैभन्दा बढी चर्चाको विषय रंगमञ्च नै हुने गरेको पाइन्छ । नेपाली नाटकघरमा पनि साहित्यका कथा, कविता, उपन्यास, गीतलाई लिएर नाटक भइरहेका हुन्छन् । महिनैपिच्छे नेपाली रंगमञ्चले कुनै नयाँ साहित्यकारको सिर्जनालाई नाट्य रूपान्तरण गरिरहेको हुन्छ । दर्शकलाई लेखक र उसको सिर्जनाबारे चिनाइरहेको हुन्छ ।

नाटक साहित्यको सर्वश्रेष्ठ विधामा पर्छ । तर, साहित्यमा उल्लेखनीय भूमिका खेलिरहेको नेपाली नाटक र रंगमञ्चका सम्बन्धमा फेस्टिभलमा कुनै चर्चा हुँदैन । कुनै लेखकको कृति र लेखकसँग छलफल हुन्छ, तर उसको त्यही कृतिमाथि बनेको नाटकलाई कसैले पनि सम्झिँदैन । सायद, छलफलको विषय बनाउन आवश्यक ठानिँदैन ।



मण्डला थिएटरका संस्थापक राजन खतिवडा भने लिटरेचर फेस्टिभलमा नाटकलाई नसमेट्नुलाई त्यस्तो अचम्म मान्दैनन् । व्यावस्थापन तथा आयोजकले सबैतिर मिलाउँदा मिलाउनुपर्ने हुँदा नाटकको विषयमा ध्यान नगएको हुन सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘नाटकलाई सामेल त गराउनुपर्ने हो । सायद, व्यस्तता र धेरै कार्यक्रमको व्यवस्थापनले त्यता ध्यान नगएको होला ।’

पुस ७ गते उद्घाटन हुने फेस्टिभलमा ४१ वटा विषयमा कार्यक्रम हुँदै छन् । मनीषा कोइरालाको आत्मकथा ‘हिल्ड’ पनि फेस्टिभलमा विमोचन हुँदै छ । साथै, इन्द्रबहादुर राईको सम्झना, पोखरेली लेखन, सम्पादन र स्तम्भकार, सय वर्षपछिको नेपाल, मधेशः आन्दोलनदेखि आख्यानलगायत विभिन्न विषयमा छलफल तथा विमर्श गर्ने तयारी आयोजकको छ ।

फेस्टिभल आयोजक अजित बरालका अनुसार पहिलाका केही वर्षमा नाटकलाई पनि समेटिएको थियो । नाटक पनि साहित्यकै मुख्य विधा भएको स्विकार्दै उनले पछिल्लो समय समयको अभावले समेट्न नसकिएको बताए । साथै, नाटकको विषयमाथि छलफल नभए पनि दयाहाङ राई र खगेन्द्र लामिछाने, जो रंगकर्मबाट चलचित्रमा लागेका छन्, उनीहरूबारे छलफल भएको उनी बताउँछन् ।

फेस्टिभलमा निश्चित कार्यक्रम मात्र राख्ने मिल्ने र धेरै कुरालाई व्यवस्थापन गर्दा कतिपय कुरा छुट्ने बताउँदै उनी भन्छन्, ‘समेटिनुपर्ने विषय धेरै छन्, सबैलाई समेट्नलाई समयले पनि नपुग्ने हुन्छ । नाटक पनि त्यस्तै कारणले छुटेको हो ।’
 

  • प्रकाशित मिति : पुस ७, २०७५ शनिबार ६:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया