Wed, 13 Nov, 2019


शंकर लामिछाने आफैं ‘कुमुदिनी’ हुन् जस्तो लाग्छ
नारायण ढकाल
फरकधार / पुस ७, २०७५

शंकर लामिछाने आफ्नो समयको राम्रा निबन्धकार हुन् । त्यो समयमा उनमा जस्तो पढाइको क्षमता अरूमा थिएन पनि । 



शंकर दाइसँग संगत हुन पाएन । मभन्दा ‘सिनियर’ थिए उनी । मैले आफ्नो लेखन सुरु गर्दा उनी लेखनमा स्थापित भइसकेका थिए । विभिन्न कार्यक्रममा देखे पनि उनीसँग मित्रवत् संगत भएन । आफ्नो लेखनको सुरुवातमा मैले उनीबाट धेरै कुरा सिकें । विशेषगरी उनको शैली बेजोड थियो । उनको भौतिकतासँग संगत नभए पनि लेखनसँग भने संगत भयो । अझै, पनि भइरहेको छ । 

उनको लेखन संस्कृत साहित्य र पश्चिम साहित्यको पठन प्रभावको मिश्रित स्वरूप थियो । उनमा संस्कृत साहित्यको पनि आधारभूत ज्ञान थियो र पश्चिमी साहित्यको त अद्भूत ज्ञान थियो । त्यस बेलाका लेखकमा थोरैमा मात्र यस्तो ज्ञान थियो । पूर्व र पश्चिम दुवैतिरको बुझाइ र गहिरो अध्ययन त्यस बेलाका थारै मात्र लेखकमा थियो । 

मूलतः उनको चिन्तनमा जुन किसिमको अराजकता र नयाँपन छ, त्यो एक प्रकारको सिद्धिप्राप्त ‘एक्रोब्याट’को कनैशलजस्तो लाग्छ । जुन बेला उनी लेख्दै थिए धेरै लेखक शास्त्रीय सीमाभित्र बसेर सिर्जना गर्थे । शंकर लामिछानेले त्यो पर्खाललाई भत्काए । 

उनको विशेषता भनेको नै गहिरो अध्ययनशीलता हो । विश्वसाहित्यको अध्ययन र ज्ञान उनमा जति अरू कसैमा पनि थिएन । नेपाली समाजलाई बुझ्ने र त्यसलाई चिन्तन गर्ने खुबी लामिछानेमा जति अरूमा थिएन । 

नेपाली निबन्ध साहित्यमा पहिल्यैबाट स्थापित भएको आवेगभन्दा फरक किसिमको लेखन छ शंकरको । हृदयचन्द्रसिंह र देवकोटाको निबन्ध पढेर हुर्किएको साहित्य जमातमा उनको परिचय फरक किसिमले बन्यो । देवकोटाको निबन्धमा उपनिषद्, वैदिक गौरव र प्रकृतिका कुरा थिए । शंकर दाइको निबन्धले यस्ता विषय छोडेर पूरातन गौरवगानसँगै भौतिकवाद र आधुनिवादजस्ता विषय छन् । 

उनले ‘अर्धुमुदित नयन’ र ‘डुब्न लागेको घाम’ जस्तो कथा सिर्जना गरे । यो कथामा नयाँ शैली पाइन्छ । पूर्व र पश्चिमको विचारको गहिराइमा पुगेर सिर्जना गरेको कथा । नेपाली साहित्यमा चलनचल्तीमा रहेका कथाका शैलीमा फरकपन आएको छ । 

हामीले पढ्दै आएको गुरुप्रसाद मैनाली, रमेश विकलजस्ता साहित्यकारले स्थापित गरेको मान्यताभन्दा फरक थियो शंकरदाइको लेखन । उनको चिन्तन, दर्शन तथा विचार फरक थियो । त्यो बेलाको परम्परागत विचारभन्दा पर हटेर आधुनिक शैलीमा निबन्ध तथा कथा आउनु नेपाली साहित्यको विशेष घटना हो । 

उनको लेखकीय हिसाबले मूल्यांकन गर्दा निबन्ध र व्यक्तिचित्रमा उनको उत्कृष्ट दखल छ । पछिल्लो समयमा उनी आफू विभिन्न पारिवारिक समस्याबाट जेलिएर हुनुपर्छ, साहित्य सिर्जना गर्न सकेका थिएनन् । 

कुमुदिनीको चिठीले जब उनलाई माइकल कर्बेको सिर्जना अनुवाद गरेर आफ्नै नाममा छापेको आरोप लाग्यो, त्यसपश्चात् उनले सिर्जना गर्न छाडे । उनले अरू कसैको साहित्य चोरी नै गर्नुपर्ने स्थिति थियोजस्तो लाग्दैन । त्यो बेला उनी साहित्य र जीवनसँग धेरै निराश भएको हुनुपर्छ । जसकारण साहित्यबाट भाग्नका लागि ‘कुमुदिनी’लाई आफैंले जन्माएका थिए । 

कुमुदिनी को हो भन्ने प्रश्नमा हरेकका विभिन्न अड्कल छन् । कुनै अनुसन्धानबाट पनि कुमुदिनी को हो पत्ता लागेको छैन । अझैसम्म पनि त्यो नाम रहस्यमा नै छ । तर, मलाई के लाग्छ भने कुमुदिनी भनेको शंकर लामिछाने आफैं हो । कुमुदिनीको चिठी आएको केही समयपछि कुमुदिनीकै नाममा एउटा निबन्ध ‘चीत्कार’ पत्रिकामा छापिएको पनि थियो । 

त्यो निबन्धको क्षितिज यति फराकिलो थियो, त्यो शंकर दाइबाहेक अरूको हुन सक्दैन । यो मेरो व्यक्तिगत अड्कल हो । त्यो समयमा, विश्वसाहित्यलाई त्यति नजिकबाट नियाल्ने र पढ्ने मान्छे शंकर दाइबाहेक अरू थिएनन् । ‘कुमुदिनी’ को हो भन्नेबारेमा आजका साहित्यिक व्यक्ति र साहित्यमा लागेकाले यो विषयमा अनुसन्धान गर्न जरुरी भने छ । 

मेरो लेखन भविष्यका पाठकका लागि हो भन्ने जुन विचार थियो उनको, त्यो गलत विचार हो । राम्रो लेखन अहिले र भोलिका लागि भन्ने हुँदैन ।

हरेक लेखकका आ–आफ्नो पक्षबाट कमजोरी हुन्छन् । शंकर दाइ जुन विचारको पाठशालामा थिए, त्यो पाठशालामा म थिइनँ । म फरक विचारधारा र फरक विषयको लेखनमा थिएँ । त्यसैले पनि उनका कमजोरी यही थिए भन्ने सामथ्र्य म राख्दिनँ । समालोचकहरूले जस्तो उनको दोष केलाउने सामथ्र्य मसँग छैन । 
उनका रचना ‘गोधुलि संसार’देखि ‘बिम्ब प्रतिबिम्ब’ सम्म आउँदा हरेक सिर्जना उत्तिकै उत्कृष्ट छन् । जहिलेसुकै पढ्दा पनि ती बूढा हुँदैनन् । उनको सिर्जनामा गद्यको लचकता र लय अदभूत छ ।

भाषा र शैलीमा उनले गरेको आविष्कार अद्भूत हो र पछाडिका लेखकको भाषामा त्यस्तो आविष्कार भएको छैन, उनी मात्र एक्ला भन्न मिल्दैन । सबैको आफ्नो आफ्नो शैली, लेखनको सीमा र लेखकीय चातुर्य हुन्छ । शंकर लामिछानेसँग आफ्नो विशेषता थियो । देवकोटासँग आफ्नो विशेषता थियो । अहिलेका निबन्धकारसँग पनि आ-आफ्नो विशेषता छ । अहिले पनि विषयवस्तुको गहिराइमा गएर सिर्जना गर्नेहरू धेरै छन् । 

अहिलेको हाम्रो साहित्यिक पुस्ता थोरै पढ्ने र धेरै हल्ला गर्ने प्रवृत्तिमा छ । मिहिनेत नगरी ठूलो बन्ने र चर्चा कमाउने लोभमा बाँचिरहेको छ । उनीहरूका लागि लामिछाने एउटा त्यस्ता व्यक्तित्व हुन्, जसले हल्ला आफूले होइन, आफ्नो सिर्जनाले गर्नुपर्छ भन्ने सिकाउँछन् । 
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्