नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । एमाले लुम्बिनी प्रदेश एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।
एमाले प्रदेश इन्चार्ज एवं एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रियामा 'सेटिङ' गरेको भन्दै मुख्यमन्त्री केसीको राजीनामा माग गरेका हुन् ।
७ अर्ब लागतमा अस्पतालमा १२ सय शय्याको भवन निर्माण प्रक्रियामा 'सेटिङ' गरेको आरोप मुख्यमन्त्री केसीमाथि लागेको छ । मुख्यमन्त्री केसीले टेन्डर प्रक्रियामै ‘सेटिङ’ गरेर राज्यलाई डेढ अर्ब नोक्सानी पुर्याउने प्रयास गरेको चौधरीले बताए ।
नेता चौधरीले 'सेटिङ'मा सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार पारिएको आरोप छ । ठेक्का प्रक्रियामा आर्थिक मिलेमतो रहेको आशंका गरिएकोमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेको राजीनामापछि उक्त मिलेमतोलाई पुष्टि भएको उनको भनाइ छ
‘अस्पताल भवन निर्माणका लागि सात अर्बको ठेक्कामा सेटिङ मिलाएर प्रक्रिया अघि बढाउने काममा प्रदेश सरकार र मुख्यमन्त्रीको संलग्नता हुनु गम्भीर कमजोरी हो,’ उनले भने ‘उहाँलाई कुनै पनि हैसियतमा सरकारमा बसिरहने अधिकार छैन ।’ नेकपा एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री केसी पदमा बसिरहन नैतिक रूपले नमिल्ने ठहर गरेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।