भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले एक वर्षभित्र गाउँब्लकको जग्गासम्बन्धी सबै समस्या समाधान गरेर लालपुर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडि बढेको बताएकी छिन् ।
कपिलवस्तुको शुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई आज जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकमा रहेका सबै नागरिकले छिटो लालपुर्जा प्राप्त गरून् भनेर विशेष अभियानमार्फत कामलाई तीव्र पारिएको बताइन् ।
मन्त्री श्रेष्ठले यसअघि योजनामा नै नरहेको गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकतामा राखेर आगाडि बढाएका कारण ४ महिनाको अवधिमा विभिन्न ठाउँका गाउँब्लकमा रहेका २० हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरिएको बताइन् ।
भूमिसम्बन्धी सबै विषय छिटोभन्दा छिटो समाधान गर्न अहिलेको सरकार लागिरहेको र त्यसैअनुरुप अभूमि चक्लाबन्दी गर्ने, कृषियोग्य जग्गा संरक्षण र उत्पादकत्व वृद्धि गर्न भूमिसम्बन्धी कानुन बनाउने काम भइसकेको पनि उनले बताइन् ।
सरकारले सरकारी, सार्वजनिक, सामुदायिक र गुठीजग्गा संरक्षणको योजना बनाएर काम सुरु गरेको, वैज्ञानिक भूमिसुधारलाई लागू गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न अबको योजनामा नै व्यवस्था गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताइन् ।
भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु गरिसकेको र छिट्टै जिल्ला आयोग गठनको काम सम्पन्न हुने भन्दै उनले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्यालाई दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको बताइन् ।
मन्त्री श्रेष्ठले हलिया, हरुवा, चरुवा, कमैया, कमलरीको समस्या समाधान गर्न अध्ययन समितिले स्थानीय तह, प्रदेश र संघले गर्ने काम समेटेर प्रतिवेदन तयार पारिराखेको र सोही प्रतिवेदनका आधारमा छिट्टै काम सुुरु गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवनको इच्छाकामना गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमी नगरपालिका, तनहुँको बन्दीपुर, चितवनको भरतपुर महानगरपालिका र बाँकेको कोहलपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपुर्जा वितरण गरिसकेकी छिन् ।
२०२१ साल यता विभिन्न समयमा जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जाविहीन बनिरहेकाहरुलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।