सम्झौता भएको सात वर्षसम्म पनि बनेन झोलुंगे पुल

भूगोलका हिसाबले नेपालको सबैभन्दा ठूलो दुर्गम साइपाल गाउँपालिका बाटो हुँदै तिब्बत मानसरोवर जोड्ने इंग्लद्वारमा पुल निर्माण सुरु हुदाँ स्थानीयमा केही आशा पलाएको थियो । तर, त्यो आशा फेरि निराशामा परिणत भएको छ । 

ठेक्का सम्झौता भएको ५ वर्षपछि हेलिकोप्टरमार्फत पुलको सामाग्री ढुवानी हुँदा स्थानीयहरुमा पुल बन्ने आशा पलाएको थियो । तर, पुलको सामान ढुवानीपछि सामग्री नै अलपत्र छोडेर ठेकेदार फरार भएका छन् ।
सामान ढुवानी भएको वर्ष दिनभन्दा बढी समय भइसक्दा पनि ठेकेदारले पुल निर्माणका लागि कुनै काम थालेको छैन ।

 ‘ठेक्का सम्झौता भएको पाँच वर्षपछि पुल निर्माण सुरु भएको थियो । ठेकेदारले करोडौँको योजनालाई अलपत्र छाडेर फरार भएका छन् । पुल बनेको खण्डमा साइपालवासीका लागि सबैभन्दा बढी राहत पुग्ने थियो,’ स्थानीय उजले बोहराले भने । स्थानीय सरकारले ठेकेदारलाई निर्माण गर्नका लागि कुनै पहल नथालेको स्थानीयलाई आरोप लगाउने गरेका छन् । 
 
‘गत वर्षको असोज कार्तिक महिनामा नै पुलका लागि आवश्यक सामग्री चैनपुरबाट ढुवानी गरिएको थियो । तर निर्माण सामाग्री ढुवानी भएपछि ठेकेदार हराए,’ स्थानीय शेरबहादुर बोहराले भने, ‘हेलिकोप्टरबाट सामान ढुवानी भएदेखि नै ठेकेदार सम्पर्कमा छैनन् । गाउँपालिका अध्यक्षको सम्पर्कमा ठेकेदार छन् भन्ने सुनेका छौँ । तर, जनप्रतिनिधिले पनि पुल निर्माणका लागि कुनै पहल थालेका छैनन् ।’ 

झोलुंगे पुल निर्माणका लागि आवश्यक लठ्ठा, फलामे सामान, सिमेन्टलगायत सामान गत वर्षको भदौमा नै निर्माण स्थलमा पुर्याएको भए पनि हालसम्म कुनै काम हुन सकेको छैन । भदौमा काम सुरु गरेर असोजभित्र पुल हस्तान्तरण गर्न बताएको निर्माण कम्पनी डेढ वर्षभन्दा बढी भइसक्दासम्म पनि पुल बन्न सकेको छैन ।
 
पुल निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको ७ वर्ष पुग्नै लागेको स्थानीय रुद्रवीर बोहराले बताए ।  

२०७३ मंसिरमा संघीय स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलिडार परियोजनाले पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । १ सय २० मिटर लम्बाइको उक्त पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने सम्झौता भएको थियो । 

६ वर्षमा ८ जनाले ज्यान गुमाए



नदी तर्न कुनै विकल्प नहुँदा स्थानीयले जोखिम मोलेरै वारपार गर्नुपर्ने बाध्यता छ । नदीमाथि पुल नहुँदा यो खोला तर्ने क्रममा ६ वर्षको अवधिमा  ८ जनाले ज्यान गुमाइसकेका छन् । चार वर्षपहिले साइपालमा यार्सागुम्वा संकलनका लागि गएको तीनजनाले एकपटक ज्यान गुमाउनुपरेको थियो । त्यसयता साइपाल गाउँपालिकाका ५ जनाले ज्यान गुमाएका छन् । 

स्थानीय रुद्रवीर बोहोराले भने, ‘साइपाल गाउँपालिकावासीले जीविकोपार्जनका लागि यार्सागुम्वा संकलन गर्नका लागि यही बाटो भएर आउनुपर्छ । नदीमा पुल नहुँदा नदीमा जंघार तर्ने क्रममा ज्यान गुमाउनु यहाँको स्थानीयको बाध्यता बनेको छ ।’



साइपाल गाउँपालिकाका स्थानीय इन्गलद्वारमा झोलुंगे पुल निर्माण भएपछि मात्रै पनि राहत महसुस गर्ने अवस्थामा छन् । साइपालवासीहरुको दैनिक रुपमा प्रयोग गर्ने बाटो भएका कारण पनि उक्त ठाउँमा पुल निर्माण अनिवार्य भएको स्थानीयले बताउने गरेका छन् । 

यता, साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले भने ठेकेदारलाई आफूले पटक–पटक आग्रह गर्दा पनि काम नगर्ने गरेको बताए । ‘लामो समयसम्म पुल निर्माण सुरु नगरेपछि ठेकेदार खोज्दै पटक–पटक काठमाडौं धाएको थिएँ । त्यसपछि ठेकेदारले पुल निर्माणका सामग्री ढुवानी भए । तर, फेरि ठेकेदार अहिले गायव भएको छ,’ अध्यक्ष धामीले भने । 

पुल निर्माणका लागि कालिकोट घर भएका प्रकाशजंग शाहले निर्माण कार्यका लागि टेन्डर हात पारेका थिए ।

  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार २०:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया