बजेटबारे सुझाव संकलन गर्न अर्थ मन्त्रालयले सञ्चालनमा ल्यायो टोल फ्रि नम्बर

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि सुझाव दिन अनुरोध गरेको छ । मन्त्रालयले सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।

आगामी आवको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत सङ्कलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको हो । 

मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ । मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ भने इमेलमार्फत सुझाव पेश गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयन योग्य बनाउन उद्योगी, व्यवसायी, वुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आमनागरिक एवं सरोकार राख्ने सबैको सुझाव  महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु चैत मसान्तभित्र लिखित वा मौखिक (टेलिफोन) रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले अहिले कृषि, शिक्षा, बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव सङ्कलन गरिरहेको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार ६:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया