[भिडियो अन्तर्वार्ता] कसैको मान नराख्ने र होच्याउने ओलीको विशेषता हो : प्रदीप पौडेल
‘तालमेल नगर्दा गठबन्धन भत्कन्छ कि भनेर कांग्रेस डराएको होइन’

स्थानीय तह निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । राजनीति दलहरू आ–आफ्नो जित निकाल्नेगरी दौडधुप गरिरहँदा सत्ता गठबन्धनबीच ‘आवश्यकताअनुसार तालमेल’ गर्ने निर्णय भएको छ ।

अबको ५ वर्षे कार्यकालका लागि स्थानीय निकायका जनप्रतिनिधि छनोटले त्यसलगत्तै हुने प्रदेश र प्रतिनिधिसभाको मोटामोटी खाका कोर्छ । त्यसैले पनि ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू आफ्नै पक्षमा माहोल बनाउन कम्मर कसेका हुन् ।

कांग्रेसभित्र गठबन्धन गर्न नहुने मत बढ्दैजाँदा गठबन्धनकै पक्षमा सभापति शेरबहादुर देउवासहितका नेताहरू उभिएपछि अन्ततः गठबन्धन गर्नेगरी सहमति भएको हो । अबको निर्वाचनमा मुख्य प्रतिस्पर्धी मानिएका एमाले, कांग्रेस र माओवादीबीच कस्तो प्रतिस्पर्धा होला ? यस्तै सममासमयिक विषयमा आधारित रहेर हामीले कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलसँग कुराकानी गरेका छौं :

एमाले अध्यक्ष केपी ओलीले गठबन्धनलाई स्यालर एक किलोको ढक भनिरहेका छन् । गठबन्धनका दलहरू त्यस्तै भएको हो ?

केपी ओलीले मानमर्दन गर्ने प्रतिस्पर्धामा सबैलाई जित्नुहुन्छ । कसैलाई मर्यादा नराख्ने, कसैको मान नराख्ने, अस्तित्व स्वीकार नगर्ने, घोचपेच गर्ने, होच्याउने नै केपी ओलीको विशेषता हो । त्यसैले ओलीले भनेर हुन्थ्यो भने त नेपालमा रेल पनि आइसक्थ्यो, प्रशान्त महासागरमा नेपालको झण्डा फरफराइसकेको हुन्थ्यो । घर घरमा ग्यासको पाइप जोडिसकेको हुन्थ्यो । त्यसकारण ओली एउटा गफाडी राजनीतिज्ञ हो । उहाँको गफ कसैले पत्याउँछ जस्तो मलाई लाग्दैन ।

कुनै गणितसँग नजोडिएर कुनै उखान टुक्का अथवा मनोरञ्जनका लागि दिइएको अभिव्यक्तिले कुनै पार्टीको स्थिति निर्धारण हुँदैन । ओली हिजो गठबन्धन गरेर जित्नुभएको हो । उहाँ एक्लै एमालेको स्टेन्थले प्रधानमन्त्री हुनुभएको होइन । त्यसकारण उहाँले हिजो गठबन्धन गरेर नेकपा भन्ने पार्टी बनाउनुभएको थियो, त्यसको नेतृत्व गर्न सक्नुभएन ।



जनताबाट ५ वर्षको म्यान्डेट पाएको मान्छेले ३ वर्ष पनि सरकार चलाउन सक्नुभएन । उहाँको पालामा एउटा पनि सिग्नेचर प्रोजेक्ट आएन । उहाँले जति सरकार चलाउन जति समर्थन अरू कसैले पाएको थिएन । त्यो मौका देशको निम्ति प्रयोग हुन सकेन । उहाँको नेतृत्व प्रयोग भएर असफल भइसकेको हो ।

त्यति धेरै समर्थन प्राप्त गरेर प्रधानमन्त्री भएको मान्छेले देश बनाउन नसकेपछि अब उहाँलाई फेरि किन प्रधानमन्त्री बनाउने ? उहाँको पार्टीलाई किन जिताउने ? जनताको समर्थन प्राप्त गरेर केही गर्न नसकेको मान्छेले अरुलाई होच्याउन बोलेको कुराले तर्सनुपर्ने,  डराउनपर्ने कुनै विषय होइन ।



सभापति शेरबहादुर देउवाले त गठबन्धन नगरी कांग्रेसले जित्दैन वा एमाले कांग्रेसभन्दा बलियो छ भनेर स्वीकार्नुभएको छ नि ?

तथ्यहरूमा हुन्छ यस्तो कुरा । उहाँले हिजो गठबन्धन गरेर कांग्रेसभन्दा ठूलो भएको कुरा सत्य हो । त्यो एमाले ठूलो भएर होइन । त्यसकारण गठबन्धन पनि भनेका छैनौं । हामीले तालमेल भनेका छौं । हामीले एकीकृत घोषणापत्र बनाएर अघि बढेको स्थिति पनि होइन ।

हामीले तालमेल गर्ने सन्दर्भमा तालमेल आवश्यक छ कि छैनभन्दा, जस्तै केपी ओलीले तालमेल गर्दा हिजो मुलुकले ठूलो दुर्दशा भोग्यो । आज हामीले तालमेल गरेर मुलुकलाई स्थिरता दिन्छौं । स्थिरताकै निम्ति हिजोको जनताले साथ दिएका हुन । आज हामी तालमेल गरेर अघि बढ्यौं भने स्थिरता दिन सक्छौं ।

समन्वयकारी भूमिका हामीसँग छ भन्ने कुरा हामीले देखाइसकेका छौं । ओलीसँग मिलेर चुनाव लडेका, ओलीलाई प्रधानमन्त्री बनाएका नेताहरू कांग्रेससँग हुनुहुन्छ । त्यसकारण कांग्रेसको नेतृत्वसँग समन्वयकारी भूमिका छ । त्यसले मुलुकलाई स्थिरता दिनसक्छ । अब तालमेल गर्दा, धेरै पार्टी मिल्दा त्यो शक्तिशाली हुन्छ । एक्लै त एमालेसँग प्रतिस्पर्धा गर्नु त्यति ठूलो गाह्रो विषय होइन । तर, एमालेसँग अरुको तालमेल हुने कुरालाई रोक्न पनि आफैंसँग एन्गेज गरेका हौं ।

हामीले सत्ताको निम्ति, गणितको निम्ति मात्र नभई मुलुकलाई स्थिरता दिनका लागि, संविधान पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी छ । यो व्यवस्थालाई टिकाउनका लागि स्थिरता दिनका लागि तालमेल गरेका हौं ।

दुई विपरीत ध्रुवमा विभाजित दलहरू पद पाउनकै लागि गठबन्धन गरेर अघि बढ्नु अचम्म होइन ?

नेपालमा प्राचीनशैलीकै कम्युनिस्टहरू भएको स्थिति हुन्थ्यो भने त यो प्रश्न ठीकै हो । तर, नेपालमा कम्युनिस्टहरू लोकतान्त्रिक मूल्यमान्यतालाई स्वीकारेर प्रतिस्पर्धामा आफूलाई अघि लगेको स्थिति छ । हामीले ०४६ को र ०६२/५३ को आन्दोलनमा सँगै अघि बढ्यौं । निर्वाचनको अभ्यासमा यसअघि पनि तालमेल गरेको छ । योभन्दा अगाडिको निर्वाचनमा पनि राष्टिय रूपमा नगरे पनि विभिन्न तहमा तालमेल गरेको हो ।

कम्युनिस्टले विभिन्न लोकतन्त्र, विचार वैचारिक हिसाबले हामी र उनीहरूको मेल हुन सक्दैन । लोकतान्त्रिक विचार, मूल्यमान्यतालाई अंगीकार गरेको अवस्थामा सैद्धान्तिक पक्षबाट लोकतान्त्रिक अभ्यासलाई कम्युनिस्टहरूले स्वीकारेको अवस्था छ । एक्लै आफूलाई अघि बढाउने कुरा सबैभन्दा राम्रो हो, परिस्थिति र राष्ट्रिय आवश्यकताका आधारमा तालमेल गरेर जानुपर्ने अवस्थामा यसलाई हामीले स्वीकार गरेका छौं । तर, तालमेलले जबरजस्त हुने वा स्थानीय स्थिति प्रतिकूल हुने होइन । परिणाम कांग्रेसको हातमा ल्याउनका लागि स्थानीय तहमै तालमेलको परिस्थिति बन्छ । यो राष्ट्रब्यापी रूपमा सबै ठाउँमा अनिवार्य गर्नुपर्ने हामीले भनेका छैनौं ।

कांग्रेसले कूटनीतिक रूपमा गठबन्धनलाई नतोड्न तालमेलको कन्सेप्ट ल्याएको हो ?

सरकार निर्माणमा जुन गठबन्धन छ त्योसँग तालमेल गर्न खोजिएको हो । तर, चर्चा कस्तो थियो भने, केन्द्रीयताबाटै पालिका विभाजित हुन्छ । केन्द्रीयताबाटै तालमेल गर्ने भन्ने चर्चा थियो । त्यसकारण हामीले स्थानीय परिस्थितिअनुसार तालमेल गर्न सकिन्छ भनेका हौं । यसको मतलब एक्लै लड्न पनि सकिन्छ । तर, तालमेल गरेर पार्टीले परिणाम प्राप्त गर्न सक्छ भने त्यो छुट स्थानीय तहलाई दिएको स्थिति हो । महानगरपालिकाको चाहिँ केन्द्रले नै निर्णय गर्छ । अन्यमा संसदीय समितिबाट निर्णय गराएर अघि बढ्ने कुरा हुन्छ ।

यस्तो बेलामा कार्यकर्ता आकांक्षी धेरै भएको पार्टीले अर्को दलसँग मिलेर आफ्ना साथीहरूले अवसर नपाउने अवस्थामा जटिलताहरू धेरै हुन्छ । त्यसमा स्थानीय तहको महत्वपूर्ण हात हुन्छ । भरतपुरको बारेमा त्यतिबेला गलत भयो भनेर निरन्तर भनियो । जुन पार्टीको नेतृत्व त्यहाँ हुनुपर्ने थियो, त्यो नभएको कारणले त्यस्तो भएको हो । जसको स्ट्रेन्थ बलियो छ उसलाई मुख्य रूपमा सहयोग गर्ने हुन्छ ।

चितवनका कांग्रेस नेता कार्यकर्ताले रूखबाहेक अन्यमा भोट हाल्दैनौँ भनिरहेका छन् । कांग्रेसले यस्तोमा कसरी व्यवस्थापन गर्छ ?

व्यक्तिगत रूपमा मैले भन्नेभन्दा पनि पार्टीले निर्णय गरिसकेको छ । परिस्थितिलाई मूल्यांकन गरेर आवश्यकता भएको ठाउँमा तालमेल गर्ने भन्ने भएको छ । त्यहाँका साथीहरूले आवश्यक सम्झिएको बेलामा तालमेल हुने हो । आवश्यक देखिएको छैन भने केन्द्रले जबरजस्ती गर्ने कुरा पनि हुँदैन । केन्द्रले निर्णय गरेर यसलाई लागू गर्नुपर्छ भन्दा चाहिँ समस्या आउने हो ।

स्थानीय तहमा निर्णय हुने हुँदा हामीले आवश्यकताका आधारमा त्यहाँको परिस्थिति हेरेर तालमेल गर्ने भनेका हौं । मिलेका सबै शक्तिका बीचमा सहमति नभएसम्म त्यो हुनै सक्दैन् । सहमति लिने र दिने काम सन्तुष्ट हुने गरी भएको बेलामा मात्र तालमेल हुने हो ।

तालमेल भएन भने गठबन्धनको सरकारमा समस्या हुने होइन त ?

गठबन्धनको सरकारमा समस्या हुँदैन । यो निर्वाचनमा तालमेल गर्नैका लागि गठबन्धन बनाएको पनि होइन । हामीले यसलाई गठबन्धन बनाएको भनेका छैनौं । हामीले यसलाई तालमेल गरेका हौं । गठबन्धन भत्कन्छ भनेर डराएको पनि होइन ।

गठबन्धनमा हामीसँग रहेका नेताहरूबीचको अन्य सम्बन्ध कस्तो छ भन्ने पनि हामीलाई थाहा छ । अघिल्लोपटक कम्युनिस्टहरूबीचमा मेल भयो । बहुमत प्राप्त सरकार पनि पाँच वर्ष चल्न सकेन । स्थिरता दिन सकेन । त्यसले व्यवस्थामाथि नै टीकाटिप्पणी हुने स्थिति भयो । त्यो राष्ट्रका लागि अवसर हुन सकेन । त्यही गठबन्धन फेरि हुने कुराबाट रोक्ने एउटा विषय भयो । हामीले स्थिर सरकार दिने उद्देश्यसहित तालमेलको वातावरण हामीले बनाएको हो ।

पूर्ण रूपमा एमालेलाई कमजोर बनाउन र लड्न पाँचवटा पार्टी मिलेर जानका लागि मात्र तालमेल भएको हो ?

०७४ सालमा पनि कांग्रेस एकदमै धेरै शक्तिशाली छ । त्यो कांग्रेसलाई जित्न सकिँदैन भनेर केपी ओलीजीले अघिल्लो दिनसम्म प्रचण्डलाई गाली गर्दै हिँड्नुभएको थियो । भोलिपल्ट कांग्रेससँग लड्न सकिन्न भनेर तालमेल गर्नुभयो । त्यसकारण तालमेल गर्ने भनेको प्रतिस्पर्धीसँग विजयी हुनेगरी सुनिश्चित हुनका लागि हो । त्यसकारण नेपाली कांग्रेसले एमालेलाई जित्नका लागि धेरैजसो ठाउँमा प्राप्त मतभन्दा ५ प्रतिशत मत आवश्यक छ । एमाले एक्लाउनेभन्दा पनि निर्वाचनमा मत ल्याउन गरिएको हो ।

गठबन्धनले स्थानीय निर्वाचनमा तालमेलको परिस्थिति विकसित भयो । त्यसले रिजल्ट राम्रो दियो भने पछिल्लो निर्वाचनमा हुनसक्छ । स्थानीय तहमा नै त्यो वातावरण हुन सकेन भने विश्वास निरन्तर नहुन सक्छ । त्यसकारण पछिल्लो निर्वाचनका लागि भन्दा पनि अहिलेको निर्वाचनमा परिणाममखुली भयो भने पछि पनि हुनसक्छ ।

पछिल्लो समय कांग्रेस कमजोर भएर माधव नेपाल र प्रचण्डलाई वैशाखीका रूपमा प्रयोग गरिरहेको आरोप लगाइरहनुभएको छ नि ?

केपी ओलीजीलाई प्रधानमन्त्री प्रचण्डले बनाएको होइन ? माधव नेपालले बनाएको होइन ? आफूलाई प्रधानमन्त्री बनाउने व्यक्तिको समर्थन प्राप्त गर्न नसक्ने, उहाँकै नेताहरू आएर कांग्रेसलाई प्रधानमन्त्री बनाउनुपर्ने स्थिति निर्माण गर्ने, आफू कुर्सीमा बसेर अरुको व्यवस्थापन गर्न नसक्ने, प्रचण्डले ओलीको पद खोस्न त लाग्नुभएको थिएन । प्रधानमन्त्री तपाईं नै हुनुहोस् तर पार्टीलाई एकताबद्ध बनाउनुस् भन्नुभएको थियो । त्यो पनि गर्न नसक्नेले अरु मिल्न लागे भनेर डराएर तथानाम गालि गर्नुको केही अर्थ छैन । त्यसकारण उहाँले आफूलाई समालेर मर्यादित ढंगले अघि बढ्नुभयो भने सहानुभूति प्राप्त गर्न सक्नुहुन्छ । आत्तिएर अब पार लाग्ने भएन भनेर तर्सिएर यस्तो देखाएको जस्तो देखिन्छ ।

व्यक्तिगत रूपमा एमसिसीको फ्याक्टरले कांग्रेसको भोटलाई कति असर गर्ला जस्तो लाएको छ ?

एमसिसी कांग्रेसले मात्र ल्याएको होइन । एमसिसी एमालेले पनि ल्याएको हो । माओवादी र समाजवादीले पनि ल्याएको हो । नेपाली राजनीतिमा नक्कली व्यवहार हुन्छ । एमसिसी प्राप्त गर्ने कुरा एमाले सरकारले गरेको हो । एमाले एमसिसीको विरुद्ध हो त ? अरु कोही हो त ? तर जबरजस्ती कांग्रेसका विरुद्ध जनमत सिर्जना गर्ने उद्देश्य स्वरूप यसलाई भ्रमात्मक बनाइएको छ ।

मलाई लाग्छ विस्तारै जनताले बुझ्दै जान्छन् । यो हाम्रो देशले प्राप्त गरेको सहयोग हो । यसलाई ठूलो बनाउनुपर्ने केही कुरै छैन । हामीले अनुदान त थुप्रै ठाउँमा लिएका छौं ।

चुनावको मुखमा कांग्रेसभित्रै विरोधका आवाजहरू सुनिन थालेका छन्, यसले कांग्रेस थप कमजोर हुँदैन ?

कुनै पनि विषय निर्णयमा पुग्नुअघि छलफल हुन्छ । टीकाटिप्पणी हुन्छन् । तर, निर्णयमा पुग्दाचाहिँ कसरी पुग्छ त्यो महत्त्वपूर्ण कुरा हो । तालमेलको विषयको कांग्रेसभित्र भद्रगोल हुन्छ भनेर जसरी प्रचार गरिएको छ त्यो हुँदैन । हिजो हामीले सर्वसम्मतिबाट निर्णय गरेका छौं ।

निर्णय प्रक्रियामा पुग्नुअघि मतान्तर राख्ने भन्ने विषय हाम्रो पार्टीमा स्वभाविक हो । हाम्राबीचमा र तालमेल गर्नेका पक्षमा सहमति भएर पार्टीका हितमा गर्ने भनेर भनेका छौं । पार्टीमा यसले विवाद ल्याउँछ भन्ने जुन थियो त्यो आशंका सत्यतामा परिणत भएन ।

  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार ७:३२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया