प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन् ।
देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो ।
भारत भ्रमणको नाममा उनले तीनवटा परम्परालाई तोडेका छन् ।
उनले तोडेको पहिलो परम्परा हो- भ्रमण जानुअघि पूर्वप्रधानमन्त्रीहरूसँग गरिने छलफल ।
यसभन्दा अघि देशका प्रधानमन्त्रीले अन्य देशको भ्रमण गर्नुअघि पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक छलफल गर्ने अभ्यास रहेको थियो ।
छलफलमा पूर्वप्रधानमन्त्रीहरूले भ्रमणलाई कसरी सफल बनाउने भन्ने बारेमा राय सुझाव दिने गर्थे । तर, यसपटक भने प्रधानमन्त्री देउवाले यस्तो छलफल गरेनन्।
यस पटक भारत भ्रमण गर्दा प्रधानमन्त्री देउवा भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा समेत जाने भएका छन् । यो उनले तोडेको दोस्रो परम्परा हो ।
यसअघिका भ्रमणहरूमा नेपालका प्रधानमन्त्रीले भारतको कुनै दलको पार्टी कार्यालय जाने गरेका थिएनन् । यो कूटनीतिक मर्यादा विपरीत पनि हो ।
देशको प्रतिनिधित्व गरेर जाने प्रधानमन्त्रीले एउटा पार्टीको कार्यालय भ्रमण गर्ने कार्यक्रम राख्दा भारतका अन्य राजनीतिक दलमा राम्रो सन्देश नजाने विज्ञहरूको तर्क छ ।
भारत भ्रमण गर्ने बहानामा प्रधानमन्त्री देउवाले तोडेको अर्को परम्परा हो- नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडेजात्रा कार्यक्रम ।
प्रत्येक वर्ष सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौंदेखि रहिआएको छ ।
तर, यसपटक प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा सहभागी हुने छैनन् ।
प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने भएकोले उक्त कार्यक्रममा सहभागी नहुने नेपाली सेनाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।