४७ प्रतिशत मतदाता निर्वाचनमै सहभागी हुँदैनन्

आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको संघारमा राजनीतिक दलले कति मतदाता आफ्नो पक्षमा छन् भनेर लेखाजोखा गर्न थालिसकेका छन्।

तर, पछिल्लाे डेढ दशकमा भएका निर्वाचनमा सहभागी तनहुँका मतदाताकाे तथ्यांक हेर्दा ४७ प्रतिशतसम्म मतदाता मतदानमा सहभागी नै नभएकाे रेकर्ड छ । यद्यपि, बदर मत भने हरेक निर्वाचनमा घट्दाे छ ।

यसपाली जिल्लामा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा जिल्लामा ४९ हजार ८६९ मतदाता थपिएका छन् ।

सशस्त्र माओवादी द्वन्द्वपछि पहिलो पटक २०६४ सालमा भएको निर्वाचनमा जिल्लामा ४७.५८ प्रतिशत मतदाताले मतदान गरेका थिएनन् । 

जिल्ला निर्वाचन कार्यालय तनहुँले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त निर्वाचनमा कुल दुई लाख ६७ हजार ६ सय १८ मतदाता थिए। 



निर्वाचनमा एक लाख ४० हजार दुई सय ९३ मत मात्रै खस्यो । झन्डै आधा मत खसेन । जम्मा ५२.४२ प्रतिशत मत खसेको हाे ।

खसेको मतमा पनि सात हजार नाै सय ५० बदर भएको तथ्यांक छ । ५.६६ प्रतिशत मत बदर भएको हाे । 



२०७० सालमा भएको निर्वाचनमा मतदान गर्नेकाे संख्या निकै बढ्यो । जिल्लामा कुल मतदाताको संख्या एक लाख ६२ हजार सात सय ६८ थियो । 

निर्वाचनमा ७३.५२ प्रतिशत अर्थात एक लाख १९ हजार ६ सय ६३ मत खस्यो । र, पाँच हजार ३३ मत बदर भएको देखिन्छ । मतदानमा सहभागी भएकामध्ये पनि ४.६२ प्रतिशतले सही तरिकाले मतदान गरेनन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख ९४ हजार चार सय ७१ कुल मतदाता रहेकोमा एक लाख ३२ हजार नाै सय ४४ मत मात्रै खसेको थियो । 

६८.३७ मतदाता मात्र मतदान प्रक्रियामा सहभागी भएका थिए । स्थानीय तह निर्वाचनमा खसेको मतको पनि २.५३ प्रतिशत मत बदर भएको थियाे । तीन हजार तीन सय ६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

सोही बर्ष भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झनै कम मतदाता सहभागी भए । एकै दिन भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि फरक फरक संख्यामा मत खसेको छ । यसबेला दुई लाख ११ हजार तीन सय ९६ कुल मतदाता थिए । 

प्रतिनिधि सभामा एक लाख ३६ हजार दुई सय ६१ र प्रदेश सभामा एक लाख ३६ हजार दुई सय २१ मत खस्यो । ६४.४३ मत खसेको तथ्यांकले देखाउँछ । 

प्रतिनिधि सभामा ६ हजार ६ सय ६५ अर्थात् ४.८९ प्रतिशत मत बदर भयो । प्रदेश सभामा चार हजार ६ सय १४ मतदाताले ढंग पुर्‍याएर मतदान गरेनन् । 

प्रदेश सभातर्फ ३.३८ प्रतिशत मत बदर भयो । एकै दिन भएको मतदानमा पनि मतदान र बदर भएको मतमा घटबढ देखियो ।

पछिल्लो डेढ दशकमा सबैभन्दा कम २६.४८ प्रतिशत र  बढी ४७.५८ प्रतिशत मतदाताले मतदान गरेनन् ।

किन यति धेरै मतदाताले मतदानमा सहभागिता जनाउँदैनन् ? 

निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकाल भन्छन्, ‘व्यक्ति स्वयं मतदानमा उपस्थित हुनुपर्छ । मतदाता नामावली भएका तर वैदेशिक रोजगारीमा धेरै हुने भएकाले मतदाताको तुलनामा मतदान कम हुन्छ ।’ 

विदेशमा भएकालाई मतदान प्रकृयामा सहभागी गराउने प्रणाली नभएको कारण करिब एक तिहाइ मत नखस्ने गरेको उनी बताउँछन्।

‘यहाँ मतदाता नामावली छ । मान्छे बाहिर हुनुहुन्छ । त्यो कारणले गर्दा पनि कम मत खस्ने भयो । अर्को कारण निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको नामावली घर ठेगानामा छ । मतदानमा सहभागी हुन उहाँहरू पाउनु हुँदैन । कतिपय मतदाताले कसलाई मतदान गरेर के नै पाे हुन्छ र ? भन्ने ठानेर मतदान प्रक्रियामा सहभागी नै नभएको पाइन्छ’, प्रमुख ढकालले भने । 

फोटोसहितको मतदाता नामावली सुरु भएपछि मतदानको अनुपात बिस्तारै बढ्दै गएको ढकालले बताए ।  

 

  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १५:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया