Wed, 13 Nov, 2019


अन्तर्वार्ता
[अन्तर्वार्ता] प्याटर्नमा सुधार गर्याैँ भने नेपालकाे मानवस्राेतले विश्व हाँक्न सक्छ: मेराेजबडटकमका एमडी शैलेन्द्रराज गिरी
शैलेन्द्र राज गिरी
फरकधार / पुस ९, २०७५

सरकारले केही दिनअघिमात्र रोजगारी खोज्नेहरुका लागि लक्षित गरेर नयाँ वेबसाइट सन्चालनमा ल्याएको छ । तर, मानव संसाधन, रोजगारीका लागि अनलाइन प्लेटफर्महरु नीजिस्तरबाट निकै अगाडिदेखि सन्चालनमा छन् । त्यस्तैमध्ये अहिले लिडिङ अनलाइन जब प्लेटफर्म हो, मेरोजबडटकम । मेरोजबडटकमका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले यो क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव सँगालिसकेका छन् । गिरी नेपालमा जागिरको अवसर धेरै भए पनि केही प्याटर्नहरु नमिलेकाले बेरोजगारी समस्या बढिरहेको बताउँछन् । नेपालमा अहिले मानव संसाधनको अवस्था र समस्याबारे गिरीसँग गरिएको कुराकानीको सम्पादित अंशः



पछिल्लो समय सरकार बेरोजगारको डाटा निकाल्ने तयारी गरिरहेको छ । यो तथ्याङ्क भयावह हुने निश्चित छ । किन पनि भने जागिर नपाएको गुनासो गर्ने युवाहरु हजारौँ छन् । कतिले त सामाजिक सन्जालमा यो आक्रोश, फ्रस्टेसन पोखिरहेका पनि हुन्छन् । अर्कोतिर, रोजगारदाताहरु काम गर्ने युवा नपाएको गुनासो गरिरहेका छन् । यसले जागिर खोज्ने र जागिर दिने दुवैबीच निकै ठूलो ग्याप रहेको बुझाउँछ । यतिका वर्ष मानव संसाधानको क्षेत्रमा काम गरेको अनुभवले तपाईंलाई के लाग्छ, के कारणले यो ग्याप बढ्दो छ ?

यस्तो हुनुमा दुई पक्ष जिम्मेवार छन् । जागिर दिने र जागिर लिनेको पहिलो पक्ष हो । र, दोस्रो पक्ष हाम्रो संस्कार हो । हामीकहाँ बुझाइ छ, पढेपछि आफैं जागिर पाइहालिन्छ नि । उमेर भएपछि आफैं जागिर खोज्दै आउँछ भन्नेहरु पनि छन् । उमेरले ठूलो भएपछि जीवन आफैं बन्छ, जागिर पाइन्छ भन्ने अर्को सोच छ । 

आजको समयमा होइन, हिजो झन्डै २५÷३० वर्षअगाडिका लागि यो सोच ठिकै पनि हो । किनकि त्यति बेला नेपालमा मानव स्रोतको कमी थियो, पढेपछि केही न केही भइहाल्थ्यो । प्राइभेटमा नभए पनि सरकारी कार्यालयमा मान्छे चाहिन्थ्यो, पढेलेखेकालाई टपक्क टिपेर जागिर लगाइदिने चलन थियो । र, अर्कोतिर ठूलो भएपछि मान्छेले ढुङ्गा फुटाएर पनि खान्छ भन्ने सोच थियो । 

जागिर खानेहरुको मानसिकता यो छ भने अर्कोतिर जागिर दिनेहरुको मानसिकतामा पनि परिवर्तन हुन जरुरी छ । कतिपय संस्थान, सरकारी तथा प्राइभेट कार्यालयहरुमा नै पनि आफ्नो कर्मचारी कसरी राख्ने, आफ्ना कर्मचारी कति महत्वपूर्ण मान्छे हुन्, कर्मचारीलाई कति इज्जत दिनुपर्छ भन्ने संस्कारको विकास राम्रोसँग भएको छैन । कतिपयले कर्मचारीलाई स्लेभ नै हो भन्नेजसरी व्यवहार गरिरहेका पनि हुन्छन् । समग्रमा भन्दा जागिर दिनेहरुमा पनि राम्रो कल्चरको विकास भइसकेको छैन । के बुझ्नु हुँदैन भने मैले यो भनेको सतप्रतिशत कम्पनीमा लागु भएको कुरा हो । केहीमा यस्तो धारणा छ भन्ने मेरो बुझाइ हो ।

अब यी दुईबीचको मिसअन्डरस्टाडिङ र सरकारको कमजोरी पनि छ । सरकारले यो क्षेत्रका लागि पनि नीतिनियम बनाउनु पर्छ, पोलिसी, एक्ट्सहरुमा काम गर्नुपर्छ, तीनको कार्यान्वयनमा जोड दिनु पर्छ । तर, यी दुवै पक्षलाई मिलाएर लैजान सरकार त्यति एक्टिभ भएको छैन ।

तर, अब समय फेरिएको हो कि जस्तो आभास हुन थालेको छ । सरकारले पछिल्लो समय श्रम ऐन लागु गरेको छ । यो ऐनमा अत्यन्त राम्रा कुराहरु आएका छन् । यो ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गरेको खण्डमा रोजगारीका लागि नेपालीहरु विदेश जानै पर्दैन । यसका लागि अब गरिनु पर्ने एउटै काम भनेको संस्थाहरुले सरकारले ल्याएको नीति फलो गर्नु हो, सरकारले यसको कार्यान्वयनबारे कडा कदम चाल्नु हो ।

सरकारले अब देशमा आवश्यक मानव संसाधनबारे अध्ययन गरेर त्यही अनुसारको वातावरण पनि बनाउनु पर्छ । अबको पाँच वर्षमा नेपालमा कस्ता मानिसको आवश्यकता हुने हो, कुन क्षेत्रमा बढी प्राथमिकता दिने हो भन्ने निर्धारण गर्ने सरकारको काम हो, उसले त्यही अनुरुप गर्नुपर्छ ।

अहिलेको युवाशक्तिलाई निर्देश गर्ने र अहिले नै पाँच वर्षका लागि तयार बनाउने काम त सरकार हो नि !

 

तपाईंले मेरोजबडटकम सुरु गर्नु भएको नौ वर्ष भइसकेको छ । योबीचमा जागिर खोज्ने र दिनेहरुबीचको ट्रेन्डमा कस्तो भिन्नता आएको छ ?

सुरुवात देखि नै हेर्ने हो भने जागिर खोज्नेहरु आफ्नो लाइफ सेक्युर खोज्नुहुन्छ । उहाँहरुमा अहिले मात्र होइन, भविष्य पनि सेक्युर भयो भने आनन्दले काम गर्छु भन्ने मनोवृत्ति छ । यसका लागि सबैभन्दा पहिले कम्पनीको स्ट्रक्चर आउँछ । नेपालको सन्दर्भमा सरकारी कार्यालय नै यसको अग्रपंक्तिमा छ । सरकारी कार्यालयले भोलि तलब नदेला भन्ने डर छैन, झन् सन्चय कोष, पेन्सनजस्ता कुराहरुले रोजगारी खोज्नेलाई आकर्षित गरिरहेको छ ।

अर्को आकर्षण एनजिओ, आइएनजिओमा देखिन्छ । यस्ता संस्थामा मार्केटको ट्रेन्डभन्दा तलब अलिक बढी नै हुन्छ । किन पनि भने यस्ता संस्थामा काम पनि गाह्रो छ । फिल्डमा जानु पर्ने, गाउँहरुमा गएर काम गर्नु पर्ने भएकाले राम्रो स्यालरी र बेनिफिट आइएनजिओहरुले दिइरहेका छन् ।

अर्को आकर्षण हो, बैकिङ सेक्टर । बैंकहरुमा पनि सुविधा राम्रो भएकाले मानिसहरु यता आकर्षित भएका थिए । तर, केही समय यता फेरि बैंकप्रतिको आकर्षण घट्दो छ । एनजिओ, आइएनजिओमा पनि आकर्षण केही घटेको हो कि भन्ने आभास हुन थालेको छ । यो चाहिँ पछिल्लो समय नेपालमा आइएनजिओका कार्यक्रम घट्दै गएकाले होला ।

बैंकमा चाहिँ मानिसहरु क्रियटिभ हुन नपाउने, एउटै सिस्टममा रहेर काम गर्नु पर्ने भएकाले त्यो आकर्षण घटेको होला । 

पछिल्लो समय सबैभन्दा बढी आकर्षण बढेको क्षेत्र चाहिँ आइटी हो । यो क्षेत्रमा अहिले मानिसहरुको इच्छा ह्वात्तै बढेको छ । २०१६ यताको डाटा हेर्ने हो भने यसमा आकर्षण १ सय ५३ प्रतिशतले बढेको देखिन्छ ।

 

आइटीमा आकर्षण त बढेको छ, तर के आइटी सेक्टरले आफूलाई चाहिएको मानव संसाधन पाइरहेको छ त ?

अब यसको कम्प्यारिजन इन्टरनेसनल मार्केटसँग हुन्छ । अहिले आइटी क्षेत्रमा काम गर्ने मानिसका लागि अफिसमा नै म जान्छु भन्नु पर्ने वातावरण छैन । कुनै एउटा व्यक्ति अफिसमा गएर काम गर्नै पर्ने भन्ने छैन । फेरि यो क्षेत्रमा पेमेन्टको हिसाब अन्तर्राष्ट्रिय मार्केटसँग मिल्दोजुल्दो छ, किनकि मानिसहरुले फ्रिल्यान्सिङ पनि गर्न पाउँछन् ।

डलरमा कमाइ हुने, घरमै बसेर काम गर्न सकिने भएकाले पनि यो क्षेत्रमा आकर्षण बढ्दो छ । तर, एकथरि युवाहरु छन् जो घरमा बसेर काम गर्दा सोसल नभइने हो कि भन्ने डरमा पनि छन् । 

अहिले आइटीमा काम गर्नेहरुले राम्रो आम्दानी गरिरहेका छन् । यो क्षेत्रको म्याटेरियल भनौँ वा मेनपावर काम गर्ने मानिस नै हुन् । त्यसैले यो क्षेत्रमा मानिसहरुमाथि लगानी धेरै भइरहेको छ, इन्भेष्टमेन्ट बढ्दो पनि छ ।

 
प्रसङ्ग बदालौँ, एचआरको क्षेत्रमा तपाईंले काम गर्नु भएको १८ वर्ष भइसकेको छ । नेपाली बजारमा सुनिन्छ, अझै पनि कर्पोरेट हाउसहरु एचआर पोलिसी नबनाइ काम गरिरहेका छन् । अर्थात् एचआरलाई महत्व दिइएको छैन । के यी वर्षमा एचआरलाई आफ्नो सम्पत्तिका रुपमा लिने कर्पोरेट हाउस बढेका छन् त ?

एचआर पोलिसी बनाएर अगाडि बढेका कर्पोरेटहरु अत्यन्त कम छन्, सरसर्ती हातमा गन्न सकिन्छ । त्यस्तै ४÷५ सय संस्थाहरु होलान् जो एचआर पोलिसीबाट नै गाइडेड छन् । केही मल्टिनेसनल कम्पनीहरुमा एचआर पोलिसी बनेको मात्र होइन, कार्यान्वयन पनि भएको छ । इम्प्लोइले राम्रो सुविधा पाउने संस्था पनि अहिले नेपालमा छन् । 

तर, विडम्बना ! एचआर पोलिसी बनाएर अगाडि बढेका संस्थाहरु अत्यन्त कम छन् । एक प्रतिशतभन्दा पनि कम संस्थामा राम्रो एचआर पोलिसी छ । अन्यमा यस्तो खासै देखिँदैन । 

 

अहिलेको समयमा आइपुग्दा पनि किन यस्तो त ? किन कम्पनीहरु एचआर पोलिसी बनाउन हिचकिचाइरहेका छन् ?

अब पछिल्लो लेबर एक्ट हेर्ने हो भने त्यसले यो समस्या धेरै हदसम्म समाधान गर्छ । ४० प्रतिशत एचआर म्यानेजमेन्ट त्यसैले गर्छ । यो एक्ट फलो गर्ने हो भने मात्र पनि एउटा सिस्टम बस्ने थियो । तर, फलो गर्ने वातावरण कसले बनाइदिने त ? त्यो त सरकारले नै बनाइदिनु पर्ने हो नि त । यसमा थोरै ध्यान दिने मात्र हो भने पनि मान्छे विदेश जानु पर्ने अवस्थाको अन्त्य हुन्छ ।

अब अहिले श्रम ऐनले भनेको छ, काम गरेको महिना कटेपछि पाँच दिनभित्र तलब दिनू, विशेष परिस्थितिमा बाहेक ३० दिनभन्दा ढिलो नगर्नु भनिएको छ । तर, नेपालमा त त्यस्ता संस्था छन् जसले ६–८ महिनादेखि तलब दिएका छैनन् । कतिपय यस्ता अवस्थामा इम्प्लोइ कम्प्लेन गर्न पनि जाँदैन । ऊभित्र एउटा डर हुन्छ, काम गरिसकेको समयको पनि तलब नआउने हो कि ? यस्तो अवस्थामा चाहिँ अब सरकारको भूमिकाको प्रश्न आउँछ । 

अब त सामाजिक सुरक्षा कोषको विषय बाहिर छ, सरकारले गम्भीर भएर अगाडि बढेमा पक्कै राम्रो हुनेछ ।

 

त्यसो त नेपालमा काम गर्ने मान्छे एक से एक छन्, तर कामप्रति सम्मान नै छैन भनिन्छ नि । के नेपालमा ‘रेस्पेक्ट फर वर्क’ नभएकै हो ?

हो, यहाँ पनि समस्या छ, नेपालमा काम प्रति सम्मान छैन र काम गर्ने प्रति पनि सम्मान छैन । तर, अब यो कल्चरलाई विकास गर्नुपर्छ । अहिले जुन संस्थाहरुमा काम र काम गर्नेप्रति सम्मान छ, उनीहरुको विकास पनि निकै राम्रो भइरहेको छ ।

हाम्रो समस्या भनेको के हो भने एकातिर मान्छेहरु काम गर्दैनन्, अर्कोतिर काम गर्नेलाई नै पनि सम्मान छैन । यसले गर्दा काम गर्ने कुरा पनि राम्रोसँग विकास हुन सक्दैन । काम र कामदार दुवैप्रति सम्मान जगाउन संस्थाको लिडरको ठूलो हात हुन्छ । जसले संस्था हाँकिरहनु भएको छ, उहाँले काम र कामप्रति रेस्पेक्ट हुने संस्कारको विकास गर्नै पर्छ ।

 

एकातिर नेपाली युवाहरु जे गर्न पनि सक्षम छन् भन्ने मेसेज फ्लो भइरहेको छ, अर्कोतिर विश्वबजारमा नेपाली युवाहरु समयमा काम गर्दैनन्, विभिन्न वाहना बनाउँछन् भन्ने पनि सुनिन्छ । खासमा यस्तो समस्या किन देखिइरहेको छ ?

यो चाहिँ नेपालमा स्पष्टता नभएर हो । क्लारिटीविना जब काम गरिन्छ, धेरै समस्या हुन्छ । अब अहिले आइटीकै कुरा गर्दा पनि नेपालमा एआइबारे धेरै युवाहरु उत्साहित छन् । तर, केही विकसित देशमा हेर्नुस्, एआइ महङ्गो हुने भएकाले उनीहरुले यसलाई छोडिसके । यता नेपालमा चाहिँ यसमा विशेष फोकस भइरहेको छ । आफूले कति काम गर्न सकिन्छ भन्ने क्रिटिकल सोच नराखी युवाहरु अगाडि बढेका छन् ।  

किनकि कुनै एउटा काम गर्न कसैलाई पनि कलेज वा परिवारले सिकाएको हुँदैन । त्यसैले उसले त्यसअनुसार काम गर्न सक्दैन । हाम्रोमा काम गर्ने वातावरण सुरु देखि छैन, कम्पिटिसनको भावना छैन । अब त्यहीँ भारतमा जन्मेदेखि नै एउटा बालकमा कम्पिटिसनको भावना हुन्छ । तर, नेपालमा त्यस्तो छैन । 

त्यसैले अन्य देशभन्दा नेपालमा मानव स्रोत अत्यन्त फरक छ । अनि नेपालमा काम गर्ने प्याटर्न र स्किल पनि कमजोर छ ।

अब हामीले काम गर्ने यो प्याटर्न परिवर्तन गर्नुपर्छ, सच्याउनु पर्छ । हामीले हाम्रो प्याटर्न सच्याउन सक्यौँ भने विश्व हाँक्न सक्ने क्षमता हामीमा छ । हामीमा त्यो क्षमता छ, विश्वलाई हामी हाँक्न सक्छौँ । तर, हाम्रो वर्किङ प्याटर्न चाहिँ परिवर्तन गर्नै पर्ने हुन्छ ।

 

कसले सच्याइदिने वा परिवर्तन गरिदिने त यो प्याटर्न ?

यसका लागि सबैभन्दा जिम्मेवार त बिजनेस लिडर नै हो । उसले अहिले तत्काल होइन, त्यसको रिजल्ट केही पछि खोज्नु पर्ने हुन्छ । 

यसलाई सुधार गर्ने अर्को निर्विकल्प संस्था भनेको सरकार नै हो ।
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्