किन पुलमुनि सिरक डसना बनाउँदै छन् यी युवा ?

काठमाडौं– रत्नपार्कबाट त्रिपुरेश्वर हुँदै कलंकी जाने बाटोमा टेकु–कालिमाटी जोड्ने पुल छ । पुलछेउ पुग्दा खोलामा फालिएका फोहोर तथा ढलको दुर्गन्धले एकछिन बस्न पनि मुस्किल पर्छ । तर, त्यही पुलमुनि केही मानिस धमाधम सिरक डसना बनाइरहेका देखिन्छन् । महिनादिनदेखि यहाँ सिरक डसनाको काम चलिरहेछ । 

केही नेपालीसहित अधिकांश भारतीय मूलका नागरिक धमाधम सिरक डसना बनाउन लागिपरेका छन् । सिजनमा सिरक डसना बनाउने उनीहरु अन्य समय काठमाडौंका विभिन्न ठाउँमा भारतबाट ल्याइएका सस्ता तन्ना बिक्री गरेर गुजारा चलाउँछन् । 

बर्सेनि मंसिर, पुस, माघ महिना अर्थात् जाडो मौसममा सिरक तथा डसना बनाउँदा फाइदा देखेका उनीहरु रौतहट घर भएका छोटु मास्टरको सम्पर्कमा रहेर काम गर्छन् । 

२२ वर्षअगाडि काठमाडौं आएका मास्टर सिरक डसना बनाउने काममा पुराना र अनुभवी व्यक्ति हुन् । 

मास्टरका अनुसार जाडो सिजनमा उनीसँग सम्पर्कमा रहेका नेपालीसहित भारतीय मूलका युवा कामको सिलसिलामा काठमाडौं आउँछन् । उनीहरुले एउटा सिरक बनाएको १ सय ५० रुपैयाँ पाउँछन् । त्यसैले उनीहरुको परिवार चल्छ । छोटु मास्टर भन्छन्, ‘दिनमा एकजनाले धमाधम काम गर्दा १० वटा सिरक÷डसना बनाउँछ ।’ 



पुलमुनि सामूहिक रुपमा सिरक डसना बनाउँदा एक दिनमा ५० भन्दा बढी सिरक डसना तयार हुने मास्टर बताउँछन् । काठमाडौंमा जाडो बढ्दै जाँदा यसको माग पनि बढेको छ । उनी थप्छन्, ‘हामीले बनाएका सिरक डसना सबैजसो पहाडी जिल्लामा पठाउने गरे पनि दैनिक ४० भन्दा बढी सिरक डसना काठमाडौंका व्यापारीहरुले नै लैजान्छन् ।’

सामान्यतया, एउटा सिरक बनाउन ४ केजी कपास चाहिन्छ । कपास मोर्न धागो र कपडा चाहिन्छ । जुन काठमाडौंमै किन्न पाइने उनी बताउँछन् । 



त्यसो त, काठमाडौंमा पसलदेखि सडकसम्म सिरक डसना बनाइरहेका मानिस भेटिन्छन् । तर, काठमाडौंमा पसल भाडामा लिएर चलाउन गाह्रो हुने भएकाले सिजनको केही महिनाका लागि दुर्गन्धित खोलाछेउ नै काम चलाउनुपरेको उनको भनाइ छ । 

  • प्रकाशित मिति : पुस ९, २०७५ साेमबार १८:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया