परराष्ट्रमन्त्री र कार्यवाहक राजदूतले गरे बालमन्दिर विद्यालयको शिलान्यास

परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतका कार्यवाहक राजदूत नामग्य सी खाम्पाले उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– १० बोक्सेमा नवनिर्मित बालमन्दिर माध्यमिक विद्यालयको भवन संयुक्त रुपमा शिलान्यास गरेका छन्। 

भारतीय राजदूतावासको सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालय परिसरमा निर्माण हुने भवनको एक कार्यक्रमको बीच संयुक्त रुपमा शिलान्यास​ गरिएको हो ।

परराष्ट्रमन्त्री तथा उदयपुरको निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का र भारतीय कार्यवाहक राजदूत नामग्य सी खाम्पाले मंगलबार शिलान्यास गरेका हुन् ।

भारत सरकारको सहकार्यअन्तर्गत निर्माण हुन लागेको भवन ३ करोड ४० लाख ८० हजारमा थापा निर्माण सेवा प्रालि रामेछापले आगामी २०७९ पुस २१ गतेसम्म निर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । 

एक हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने बालमन्दिर माध्यमिक विद्यालयमा २१ कोठे भवन निर्माण हुन लागेको हो । भवन शिलान्यास गर्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार गुणस्तरीय हुनुपर्ने भएकाले स्थानीयको मागको आधारमा  भारतीय राजदूतावाससँग भवन निर्माणको लागि पहल गरेको स्पष्ट पारे ।

आफ्नो पहलमा उदयपुरका अन्य विद्यालयमा पनि भारतीय राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण भइरहेको र कतिपय स्थानमा निर्माण सम्पन्न भएको उनले जानकारी दिए । उदयपुरमा पूर्वाधार विकासको क्रम सुरु भएको र विमानस्थल निर्माणले समेत गति लिएको परराष्ट्र मन्त्री खड्काले बताए । 



डा. खड्काले उदयपुरका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि सुविधासम्पन्न अस्पताल निर्माणका लागि समेत निरन्तर पहल भइरहेको बताए ।

भारतीय कार्यवाहक राजदूत नामग्य सी खाम्पाले प्रदेश नम्बर १ मा मात्रै ७९ वटा विभिन्न योजना भारत सरकारको सहयोगमा निर्माण भइरहेको र त्यसमा पनि उदयपुरमा ९ वटा योजना निर्माण भएको जानकारी दिए । 



त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालाई उप महानगरपालिका निर्माणको लागि पूर्वाधारहरु जुटाउने काममा लागि परेको बताए । चौधरीले त्रियुगा नगरपालिका क्षेत्रमा मेडिकल कलेज स्थापनाको लागि परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदूतावासलाई सहयोगको अपिल समेत गरे ।

भवन निर्माणको लागि एक वर्षअघि नै भारतीय राजदूतावास, संघीय मामिला मन्त्रालय र त्रियुगा नगरपालिका बीच त्रिपक्षीय सम्झौता भई भवन निर्माणको क्रम अघि बढेको भए तापनि कोभिडका कारणले गर्दा शिलान्यास​को काम भने पछि हुन पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशकुमार खड्काले जानकारी दिए ।

  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार २१:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया