नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् ।
बुधबार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कस् युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।
सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् ।
टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कस् युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताए ।
नेपाल टेलिकम नबुझेको मान्छेले यस संस्थालाई हाँक्न नसक्ने उनकाे भनाइ छ ।
अध्यक्ष जाेशीले भने, ‘संस्था बुझेको, संस्थामा भिजेको र संस्थामा लगानी गरेको मान्छे र संस्थालाई सबैतिरबाट बुझेको मान्छे संस्था प्रमुख हुनुपर्छ । र, नेपाल टेलिकम एक नम्बर संस्था हुनका लागि उहाँहरूले आफ्नो संस्थामा लगानी पनि गर्नुभएको छ । संस्था एक नम्बर हुनका लागि यहीँको संस्था प्रमुख भएर पनि आजसम्म कायम रहेको कुराको कारणले आज बाह्य हस्तक्षेपका कुराहरू पनि आएका छन् । विभिन्न किसिमका सेटिङका कुरा पनि आएका छन् । हामी के चाहान्छौं भने नेपाल टेलिकममा बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई ड्राइभ गर्न सक्छ । ’
नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरूलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।