दुई वर्षपछि कन्सर्ट गर्दै नेपथ्य

आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनलाई संगीतमय बनाउन चाहने नेपथ्यप्रेमीहरूका लागि झापाको फराकिलो मैदानले स्वागत गर्ने भएको छ ।

दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरि एक पटक उभिने भएको हाे ।

यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितिमा त्यसै मैदानमा आफूलाई उभ्याएको थियो ।

‘संगीतप्रेमी दर्शकहरुका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेका छौं’, ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने थप जमर्को पनि हुनेछ ।’

भौगोलिक अवस्थिति, राजनीतिक वातावरण र सम्पर्कका आधारमा पछिल्लो समय दमक पूर्वाञ्चलकै अर्को केन्द्रका रूपमा विकास हुँदै गइरहेको छ । 

पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगर हुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिति जनाएका थिए । उक्त सहरमा नेपथ्यको यो पाँचौ प्रस्तुति हुनेछ । 



कोरोना भाइरसकाे कहर सुरु हुनुभन्दा अगाडि नेपथ्यले आफूलाई राजधानी काठमाडौंकै भृकुटीमण्डपमा उपस्थित गराएको थियो ।

२०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनः निर्माणका लागि आयोजना गरिएको थियो । त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो ।



‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ’, नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जटिल बन्दै गएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र संकटग्रस्त मानव जीवन बीचको सम्बन्ध अझ खुल्दै गए ।’

त्यो एकान्तिक अवधिमा संगीतको अभ्यासलाई पनि जारी राखेको उनी सुनाउँछन् ।

‘वैज्ञानिकहरूको अथक प्रयासले यसैपाला इतिहासमै सबैभन्दा छिट्टो यो भाइरस विरुद्धको भ्याक्सिन पनि तयार भयो’, अमृत थप्छन्, ‘अब बिस्तारै हामी सबैले आ-आफ्ना कर्महरूबाट संसारलाई पूर्ववत् अघि बढाउनुपर्ने दायित्व आइपुगेको छ ।’

नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट हाम्रा तीतो विगतलाई बिसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रूपमा पनि महत्त्वपूर्ण हुने अमृतको विश्वास छ । 

कन्सर्टको टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन् । 

स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ । 

अनलाइन टिकटको निम्ति www.thuprai.com/nepathya  मार्फत् व्यवस्था गरिएको छ ।

संधैझैँं तोकिएकै अवधिमा सुरु हुने यो कन्सर्टका लागि उक्त दिन बेलुकी ठीक पौने पाँच बजे मैदानका ढोका खोलिनेछन् ।

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार ११:२५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया