पुस २५ देखि चितवन महोत्सव

चितवन– उद्योग वाणिज्य संघ चितवनको अगुवाइमा हुने चितवन महोत्सव आगामी पुस २५ गतेबाट सुरु हुने भएको छ । संघले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । 

नारायणी नदी किनारमा १२औँ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । महोत्सव विसं २०५३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको छ । 

उद्योग वाणिज्य संघ चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने चितवन महोत्सवमा ६ विशेषसहित ५ सय स्टल रहनेछन् । महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित गोष्ठी आयोजना गरिनेछ । 

प्रधानका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पर्यटनलाई केन्द्रबिन्दुमा राखी विभिन्न क्रियाकलाप आयोजना गर्दै छ । चितवनभित्रका पर्यटकीय गन्तव्यको संक्षिप्त जानकारी तथा तस्बिर समावेश गरी पर्यटक पथप्रदर्शक किताब नेपाली र अंग्रेजीमा प्रकाशन गरिने बताइएको छ । 

जिल्लाको पर्यापर्यटन झल्किने, राष्ट्रिय अन्तर्राष्ट्रिय जनावरको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना महोत्सवमा रहनेछ । त्यस्तै, कलात्मक प्रवेशद्वार साथै बालुवामा कुँदिएको २० फिट लम्बाइ १० फिट चौडाइको माछाको कलात्मक आकृति रहनेछ । 

विविध खेलकुद, जलयात्रा, स्वास्थ सेवा, आदिवासी जनजातिको वेशभूषा, कला संस्कृति समावेश गरिएको विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपज प्रदर्शनीको विविधताले यसपटकको महोत्सवमा निरन्तरता पाएको संयोजक प्रधानले बताए । 



महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृंगार प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिँदै छ । 

महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुन लागेको हो । 



अंग्रेजी नयाँ वर्षको संघारमा हात्ती महोत्सवको आयोजना गरेसँगै स्वदेशी र विदेशी पर्यटकले होटलमा बुकिङ गर्ने क्रम सुरु भएको छ ।

  • प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार १५:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया