गभर्नरको चेतावनी : अर्थतन्त्रमा बाह्य जोखिम कायमै छ, आयात प्रतिस्थापन गर्न नसके चुनौती थपिन्छ
श्रीलंकाको अवस्था हेरेर पाठ सिक्न आग्रह
फाइल तस्वीर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती रहेको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कामय गरहने बताएका हुन् ।

उनले आयात बढ्दै जाने तथा सो अनुसारको विदेशी मुद्रा आर्जन घट्दै गएकाले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायित्व प्रमुख चुनौतीका रूपमा देखिएको बताए ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण शोधनान्तर घाटा र बैंकमा तरलता अभाव रहेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण बैंकहरूमा ब्याजदर बढ्दै गएको बताए ।

‘पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्य वृद्धिले मूल्य वृद्धिमा चाप पर्ने अवस्था रहेको छ । आयातमा भएको उच्च वृद्धि तथा विदेशी मुद्रा अप्रवाह स्रोतको सीमितताले गर्दा बाह्य क्षेत्रमा दबाब सिर्जना भएको छ,' उनले भने, 'पछिल्ला केही महिनामा नेपालको बाह्य क्षेत्रमा दबाबको स्थिति देखा परेको छ । मुलुकमा कोरोना प्रभाव कम भएसँगै भएको कर्जा विस्तार, बढ्दो आयात तथा पर्यटन जन्य आम्दानीमा आएको कमीको कारण चालु खाता तथा शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सुरुवातदेखि नै निरन्तर रूपमा घाटामा गएको स्थिति छ । यस्तो अवस्थामा बाह्य क्षेत्र व्यवस्थापन हामी सबैको लागि चुनौतीपूर्ण बन्दै गएको छ ।'

त्यस्तै, गभर्नर अधिकारीले नेपालमा बाह्य क्षेत्रको प्रवृति केलाउँदा विगत साढे चार दर्शकदेखि नै बाह्य व्यापार घाटामा रहेको बताए । उनले चालु आर्थिक वर्षको सुरुवातदेखि शोधनान्तर स्थिति तथा चालु खाता घट्दै गएको र ८ महिनाको अवधिमा कुल वस्तुको निर्यात ८२.९ प्रतिशतले वृद्धि भइ १४७ अर्ब ७५ करोड पुगेको बताए ।  त्यस्तै, उनले कुल वस्तु आयात ३८.६ ले वृद्धि भइ १३ सय ८ अर्ब ७३ करोड पुगेको जानकारी दिए ।



अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको रुस-युक्रेन युद्ध जस्ता गतिविधिमा सुधार आउन धेरै समय लागेमा मूल्यमा परेको दबाब केही थप समयसम्म जोखिममा नै रहने गभर्नर अधिकारीले बताए । उनले आयात प्रतिस्थापन गर्न नसकेको अवस्थामा आगामी दिनमा समेत बाह्य क्षेत्र स्थायित्वको जोखिम कायमै रहने बताए । बाह्य क्षेत्र व्यवस्थापन गर्न नसक्नुको अवस्था श्रीलंकाको अवस्था हेरेर पाठ सिक्नु पर्ने उल्लेख गरे ।

'बाह्य क्षेत्र व्यवस्थापन गर्न नसक्नुको अवस्था श्रीलंकाको अवस्था हेरेर देख्न सक्छौं । अत्यधिक आयातमुखी भइरहेको अर्थतन्त्रलाई उत्पादन मुखी बनाई निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन दिसामा मुलुक नलैजाने हो भने कुनै पनि समय बाह्य स्थायित्वका जोखिम पर्न सक्ने हुँदा व्यवस्थापन चुनौतीपूर्ण रहने देखिन्छ’ उनले भने ।



गभर्नर अधिकारीले अत्यधिक आयातमुखी भइरहेको अर्थतन्त्रलाई उत्पादन मुखी बनाई निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन दिसामा मुलुक नलैजाने हो भने कुनै पनि समय बाह्य स्थायित्वका जोखिम पर्न सक्ने  चेतावनी दिए ।

  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १५:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया