मधेस आन्दोलनको अग्रमोर्चामा खटिएका नेतृहरू जो कहिल्यै नेतृत्व तहमा पुग्न सकेनन्

स्थानीय तहको निर्वाचन आउन अब ३५ दिन मात्र बाँकी छ । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा पनि उम्मेदवारका आकांक्षीहरूलाई चुनावको चटारोले छोइसकेको छ । यस्तो अवस्थामा दलहरूले चुनावकेन्द्रित गतिविधि गर्न सुरु गरिसकेका छन् ।

धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा राष्ट्रिय मान्यताप्राप्त दलसहित ३२ वटा दलहरू दर्ता भएका छन् ।

निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थी राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलले दल दर्ता भएको बताए ।

चुनावी अभियानसँगै नेताहरूले उम्मेदवार दिन तयारी पनि अघि बढाएका छन् । दलहरू आन्तरिक रूपमा उम्मेदवार छनोटमा जुटिसके पनि अहिलेसम्म कुनै पनि दलले औपचारिक रूपमा उम्मेदवारको सूची तयार पार्न सकेको छैन ।

जनकपुरधाममा नगरप्रमुखका लागि जसरी आकांक्षीहरू दौडधूपमा लागेका छन्, त्यस्तै उपप्रमुखको टिकेट पाउने चाहना पनि धेरैलाई छ । तर, मधेस आन्दोलनका बेला आफ्नो ज्यानको परवाह नगरि आन्दोलनमा होमिए महिलाहरूमध्ये अधिकांशले अहिलेसम्म कुनै स्थान पाउन सकेकी छैनन् ।



बिभा ठाकुर



राजनीतिमा लामो समयदेखि सक्रिया महिला हुन् बिभा ठाकुर ।

सद्भावना पार्टीबाट राजनीतिको शुरुवात गरेकी बिभा मधेस आन्दोलनका चर्चित महिलाहरूमध्येकी एक हुन् । विभिन्न पार्टी हुँदै अहिले लोसपा नेपालको नेतृको रूपमा उनले आफ्नो परिचय बनाएकी छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय बिभाले अहिलेसम्म कुनै पनि लाभको पद पाउन सकेकी छैनन् ।  गत स्थानीय निर्वाचनमा उनी उपमेयरको आकांक्षी रहे पनि टिकट पाउन सकिनन् । पार्टीबाट समानुपातिकमा नाम राखिए पनि कुनै कारण उनले लाभको पद पाउन सकिनन् । उनी अब हुने स्थानीय निर्वाचनमा फेरि टिकटको लागि प्रयासरत छिन् ।

उनले भनिन्, ‘मलाई पूर्ण आशा छ कि पार्टीले यसपाली मलाई नै टिकट दिन्छ । तर आकांक्षी थुप्रै छन् ।’

लामो समयदेखि मधेस केन्द्रित दलमा आवद्ध भएर राजनीति गर्दै आइरहेकी लोसपा नेतृ बिभा उपप्रमुखमा पार्टीले आफूलाई टिकट दिने अपेक्षा राखेकी छन् । आफू लामो समयदेखि मधेसको अधिकारका लागि आन्दोलन गरेको र अनवरत रूपमा मधेसको लागि आवाज उठाउँदै आइरहेकाले पार्टीले आफ्नो मूल्यांकन गर्ने ठाकुरको दावी छ ।

बिन्दु ठाकुर

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबाट राजनीतिको शुरूवात गरेकी बिन्दु ठाकुर मधेस आन्दोलनमा अग्रभूमिकामा रही आन्दोलन गर्ने चर्चित महिला हुन् ।

जुनबेला महिलाहरू आन्दोलनमा घरबाहिर जानबाट हिचकिचाउँथे त्यस्तो समयमा उनी अधिकार प्राप्तिका लागि सडक संघर्षमा उत्रेकी थिइन् । विगतको चुनावमा उनको पनि नगर उपप्रमुख बन्ने चाहना थियो । तर, टिकट पाउन सकिनन् । तत्कालीन राजपाले टिकटमा जलझेल गरेर आफूलाई बाइकट गरेको उनको आरोप छ ।

बिन्दु अहिले बृषेशचन्द्र लाल नेतृत्वको तमलोपाकी केन्द्रीय सदस्य छन् । उनले आफूले यसपालि मौका पाए चुनावमा जाने मनस्थिति बनाएकी छन् ।

‘अहिलेको समयमा महिला पनि नेतृत्वमा आउनु जरुरी छ । महिलाहरू अधिकारका लागि आन्दोलन गर्न सक्छन् भने लाभको पदमा किन जान सक्दैनन्,’ उनको प्रश्न छ ?

विमला साह

आन्दोलनकारी जुझारू नेतृ विमला साह विगत १५ वर्षदेखि मधेसको राजनीतिमा सक्रिय चर्चित महिला हुन् । सामाजिक संघसंस्थामा पनि उनको सक्रियता सराहनीय छ । उनी सहकारीका सदस्य हुन् साथै माछा सुपर जोनमार्फत पनि जनतालाई सहयोग गर्दै आइरहेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आएको बेला उनको विरोध गर्दा उनीमाथि मुद्दासमेत चलाइएको थियो ।

विमला अहिले तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हुन् ।

उनले विदेह नगरपालिकालाई पर्यटकीय र नयाँ समृद्ध नगर बनाउने आफ्नो सपना रहेको बताइन् । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्ने चाहना छ,’ उनले भनिन्, ‘हालका मेयरको अगुवाइमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्न चाहन्छु ।’

शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, पर्यटन, सडक, स्वच्छता, स्वास्थ्य र कृषि जस्तो क्षेत्रमा काम गर्ने र रोजगारीको सिर्जना गर्नेलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताइन् ।

‘राजनीतिक तथा सामाजिक संघसंगठनमा राम्रो पकड पनि भएको र उच्च तहका नेतासँग सुमधुर सम्बन्ध पनि भएकाले विदेह नगरपालिकामा नमूनायोग्य काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु,’ उनले भनिन् ।

पूनम झा मैथिली

महन्थ ठाकुर नेतृत्वको तमलोपाबाट राजनीति यात्राको शुरुवात गरेकी पूनम झा अहिले लोसपा नेपालमा आवद्ध छन् । उनी पनि मधेस आन्दोलनमा सक्रिय भएर लागेकी महिला हुन् ।

‘विगतको चुनावमा उपमेयरमा लगभग मेरो टिकट फाइनल भइसकेको थियो । तर, अन्त्यमा पार्टीले मेरो स्थानमा रीताकुमारी मिश्रलाई टिकट दियो,’ उनले भनिन्, ‘यदि यसपालि लोसपा नेपालले टिकट दियो भने मेरो जीत अवश्य हुन्छ ।’

मधेसवादी दलहरूद्वारा गरिएको ६ महिने आन्दोलनमा समेत महिलाहरूलाई एकत्रित गरेर आन्दोलनमा होमिएकी थिइन् पूनम । तत्कालीन केन्द्र सरकार र मधेसीहरूको अधिकार सुनिश्चतताका लागि विभेदकारी संविधान संशोधन हुनुपर्ने माग गर्दै सडकमा महिलाहरूको नेतृत्व गर्दै उनी सडकमा उत्रेकी थिइन् ।

यसबाहेक उनी विभिन्न सामाजिक कार्यमा समेत अग्रणी भूमिकामा देखिन्छिन् । पीडित महिलाहरूको न्यायका लागि सदैव तत्पर रहेको नेतृ झा ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख पदका लागि उम्मेदवार बन्ने तरखरमा छन् ।

बिभा पाण्डे

स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिया महिला हुन् बिभा पाण्डे ।

महन्थ ठाकुर नेतृत्वको तमलोपाबाट राजनीतिको शुरूवात गरेकी बिभा मधेस आन्दोलनका चर्चित महिलाहरू मध्येकी एक हुन् । विभिन्न पार्टी हुँदै अहिले लोसपा नेपालको नेतृको रूपमा उनले आफ्नो परिचय बनाएकी छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिया बिभाले अहिलेसम्म कुनै पनि लाभको पद पाउन सकेकी छैनन् ।  गत स्थानीय निर्वाचनमा उनी उपमेयरको आकांक्षी रहे पनि टिकट पाउन सकेकी थिइनन् । उनी अब हुने स्थानीय निर्वाचनमा फेरि टिकटको लागि प्रयासरत छिन् ।

पार्टीले मूल्यांकन गर्दै जिम्मेवारी दिए त्यसलाई निःस्वार्थ भावले निर्वाह गर्ने उनको अठोट छ । नेतृ पाण्डे आफ्नो क्षमताले जनकपुरधामको विकासका लागि निरन्तर तत्पर रहने दाबी गर्छिन् ।

  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार २१:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया