जनकपुरधाम उपमहानगरको मेयरमा बलराम महतोले स्वतन्त्र उम्मेदवारी दिने

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्माण व्यवसायी बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्।

महतोले आफ्ना समर्थकको उपस्थितिमा शनिबार जनकपुरधाम उपमहानगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

रमण कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका महतोले आफू कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमै मेयर पदका लागि उम्मेदवार रहेको बताए । 

उम्मेदवारी घोषणा गर्दै उनले राजनीतिक दलबाट निर्वाचित मेयरबाट नगरको दिगो विकास र समृद्धि नहुने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रस्ट पारे ।

निर्माण व्यवसायी महतोले आफूले ३० वर्षसम्म देशको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएकाे दावी गरे ।
 
‘मैले मेरो सीप र श्रम भौतिक निर्माण क्षेत्रमा प्रयोग गरेको थिएँ’, उनले भने, ‘अब नगरको विकास गर्नुपर्छ भन्ने लागेपछि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदको लागि तयारीमा जुटेको छु ।’

उनले जनकपुरधामको महत्त्वाकांक्षी आयोजना नेपाल रेल्वेको ट्र्याक लाइनदेखि विदेशीको मुख्य आकर्षण र देशकै गौरवको आयोजना धरहरा पुनर्निर्माण गर्ने सौभाग्यसमेत आफूले पाएकोमा गौरवान्वित महसुस गरेको बताए । 



महतोले ‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौं’ भन्ने नाराका साथ आफू चुनावी मैदानमा होमिएको पनि बताए ।

आफ्नो उम्मेदवारी विशुद्ध विकासका लागि भएको दाबी गर्दै महतोले नगरमा हुने संस्थागत भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
 



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १५:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया