‘सम्झना बिर्सना’को गीतमा पूजा र आकाशको रोमान्स (भिडियो)

पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । निमेष प्रधान निर्देशित फिल्मको गीत आइतबार राजधानीमा प्रेसमिट गरी प्रदर्शन गरिएको हो । 

दार्जिलिङका रमणीय स्थलहरुमा खिचिएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो ।
 
०७९ को जेठ ६ गते प्रदर्शन हुने फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन् भने निर्मातामा रेबिका प्रधान छिन् । कार्यक्रममा निर्देशक निमेषले आफ्नो फिल्ममा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए । 

गायक,गीतकार र संगीतकारसमेत रहेका निमेषले आफ्नो फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दाबी गरे । फिल्मका प्रस्तुतकर्ता अद्वितीयले आफूहरु निरन्तर नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको बताउँदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
 
अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउदा निकै खुसी लागेको बताइन् । उनले अभिनेता आकाश आफूलाई कम्फर्ट लाग्ने बताउँदै दर्शकले आफूहरुलाई यो फिल्ममा पुनः एकपटक सँगै देख्न पाउने बताइन् । 

‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ,’ उनले भनिन्, ‘दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनुभएको छ । त्यसकारण पनि मलाई यो फिल्मप्रति निकै मोह छ ।’ 

उनले फिल्म निकै राम्रो बनेकाले फेरि पनि सबैको माया पाउनेमा ढुक्क रहेको बताइन् । त्यसैगरी, अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झनलायक फिल्म भएको बताउँदै कोरोनापछि यही फिल्ममार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा निर्मात्री रेबिकाले आफूहरुले निकै मिहिनेतका साथ फिल्म बनाएकाले सबैको साथ, हौसला र मायाको आशा राखेको बताइन् । 



छायांकार शिव ढकालले दर्शकको मनोरञ्जनका लागि निकै मिहिनेतका साथ फिल्म निर्माण गरिएकाले सफल हुनेमा शतप्रतिशत विश्वस्त रहेको बताए । कोरियोग्राफर कमल राईले हरेक वर्गका दर्शकलाई यो फिल्म मन पर्ने दाबी गरे । 

आरआर फिल्म्सले वितरण गर्ने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायत कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ, सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने संवाद लेखनमा उनलाई शिशिर राणाले साथ दिएका छन् । 



आदित्य फिल्म्सको प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । 

कमल राईको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्सन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन् । फिल्मको ट्रेलर छिट्टै सार्वजनिक गरिने जानकारी निर्देशक निमेषले दिएका छन् ।

  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार २१:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया