स्थानीय तह निर्वाचन : धनुषामा लोसपा र एमाले उम्मेदवार छनोटमा व्यस्त

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले धनुषाको थप चारवटा पालिकामा मेयर/अध्यक्षको छनोट सिफारिस प्रक्रिया अगाडि बढाएको छ ।

लोसपाले जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकामा मेयर/अध्यक्ष पदका उम्मेदवारहरूको नाम नगर कमिटीबाट सिफारिस गर्दै जिल्ला कमिटीमा पठाएको हो ।

लोसपा नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले धनुषाको चारवटा पालिकाको वडा तथा पालिकास्तरीय बैठकबाट उम्मेदवारको नाम छनोट गरिएको र जिल्ला कमिटीमा सिफारिस गरिएका अन्य आकांक्षी उम्मेदवारहरूको नाम आउने क्रम जारी रहेको बताए ।

लोसपाले नगराइन नगरपालिकामा मेयर पदका लागि राजु चौधरी, धनौजी गाउँपालिकाको अध्यक्ष पदका लागि जीवेन्द्र झा र औरही गाउँपालिकाको अध्यक्षका लाग प्रमोदकुमार यादवको नाम सिफारिस गरेकाे हाे ।

साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जना आकांक्षी रहेको जानकारी दिए । 

जनकपुरधामका लागि प्रदेश सांसद परमेश्वर साह, नगर अध्यक्ष मनोजकुमार चौधरी, संजय चौधरी, जानकीराम साह र अमर पँजियारको नाम जिल्ला कमिटीमा सिफारिस गरी पालिका कमिटी पार्टीमा पठाइएको छ ।



त्यस्तै नगराइन नगरपालिका वडा नम्बर-२ को वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित मेयर परमेश्वर यादवका ज्वाइँ बुलन यादवले लोसपा नेपालबाट उम्मेदवारी दिने भएका छन् । 

लोसपा धनुषाका जिल्ला सदस्य समेत रहेका पर्यवेक्षक रोहित चौधरीले नगराइन नगरपालिका वडा नम्बर-२ को वडाअध्यक्ष पदमा यादवको एकल नाम सिफारिस भएकाले उनको उम्मेदवारी पक्का रहेको बताए ।



यता, नेकपा एमालेले भने धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतलाई नै पुनः दोहाेर्‍याउने भएको छ । पालिका कमिटी बैठकबाट बटेश्वर गाउँपालिका अध्यक्ष पदमा पुनः राउतलाई नै दोहाेर्‍याउने निर्णय गरेकाे हाे ।

त्यस्तै, लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेले शम्भु साह, अजय यादव र दिनेश यादवको नाम सिफारिस गरेको छ ।

  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १४:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया