बागमती प्रदेशले जारी गर्‍यो थप चार अध्यादेश

बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेको हो ।

जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पेस गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ । चारै अध्यादेश २४ चैतमै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गरेका थिए । 

प्रदेश प्रमुखको कार्यालयका अनुसार २२ चैतमा बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका अध्यादेश प्रदेश प्रमुख शर्माले २४ चैतमा प्रमाणीकरण गरेका हुन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थापना गरेको प्रदेशकै गौरवको योजनाको रुपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताललाई अलग गर्ने गरी अध्यादेश जारी भएको छ । अहिले उक्त विधेयकको विभिन्न राजनीतिक दल तथा संघ संस्थाले विरोध गरिरहेका छन् । 

चिकित्सा शिक्षा अध्यापन गराउने गरी हेटौंडा अस्पतालमा अहिले संरचना निर्माणको काम भइरहेको छ । प्रदेश सरकारले प्रतिष्ठानको आफ्नो अलग्गै अस्पताल बनाउने भन्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने गरी कानुन ल्याएको हो ।





  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार ७:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया