२०७८ मा नेपाली फुटबल : साफमा ऐतिहासिक सफलता, वर्षभरि चर्चामा अलमुताइरी

वर्ष २०७८ मा नेपाली फुटबल पनि निकै व्यस्त रह्यो । खेलाडीले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए । निर्णायक खेलमा चुक्दा उपाधिविहीन बन्न पुगे पनि युवा खेलाडीको प्रदर्शन भने तारिफयोग्य रह्यो ।

यसपाली नेपाली फुटबल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको वरिपरी नै घुम्योभन्दा फरक नपर्ला । यो वर्ष मैदानभित्र र बाहिरका प्राय : सबै गतिविधिमा कुनै न कुनै रूपमा उनी जोडिए । 

यो वर्ष सबैभन्दा ठूलो उपलब्धि साफ च्याम्पियनसिपमा फाइनल पुग्नु रह्यो । फाइनलमा भारतसँग पराजित हुँदा ऐतिहासिक उपाधि जित्ने नेपालको धोको भने पूरा हुन सकेन । यो वर्ष नेपालले मुख्य तीन लक्ष्य प्राप्त गर्‍यो । साफको उपविजेता, एसियन कप छनोटको दोस्रो चरण पार गर्दै तेस्रो चरणमा पुग्नु र नयाँ नेपाली टोली तयार पार्नु ।

नेपालले भारतसँग मात्रै यस वर्ष चार खेल खेल्यो । तर, जित निकाल्न सकेन । जसमा नेपाल तीन खेलमा पराजित हुँदा एक खेल बराबरीमा सकियो । यस्तै, नेपालले एसियन पावर हाउसहरू इराक, अस्ट्रेलिया, जोर्डन र थाइल्याण्ड जस्ता टोलीसँग खेले पनि यी अनुभव बटुल्ने अवसरको रूपमा मात्र सीमित बने ।

नेपालले पहिलोपटक अफ्रिकन राष्ट्र मोरिसससँग पनि मैत्रीपूर्ण खेल खेल्यो । नेपालले यस वर्ष कूल १४ खेल खेल्दा पाँच जित सात हार दुई बराबरीको नतिजा निकाल्यो । भारतबाहेक नेपालले बंगलादेशसँग पनि बराबरी खेलेको थियो । नेपालले अन्तर्राष्ट्रिय स्तरमा साफदेखि विश्वकप छनोटसम्मको खेल खेल्यो ।



नेपालले वर्ष २०७८ मा खेलेका सबै खेल अलमुताइरीकै प्रशिक्षणमा थियो । वर्षको पहिलो खेल इराक र अन्तिम खेल थाइल्याण्डविरुद्ध रह्यो । दुवैमा नेपाल पराजित भयो ।

साफ च्याम्पियनसिपमा ऐतिहासिक उपलब्धि



यसअघि नेपाल एकपटक पनि साफको फाइनल पुग्न सकेको थिएन । तर यस पटक भने नेपालले फाइनल पुग्दै नयाँ इतिहास बनायो । त्यसको खाका बुन्ने काम प्रशिक्षक अलमुताइरीले गरे । यसपटक साफ च्याम्पियनसिपमा पाँच टोली मात्र सहभागी थिए । सिंगल रोबिनका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले फाइनल खेलेका थिए ।

माल्दिभ्सलाई १–० ले पराजित गर्दै सुखद सुरुवात गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हरायो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १–१ को बारी खेल्दै नेपालले दोस्रो स्थानमा रहेर भारतसँग फाइनल भेट गरेको थियो ।

फाइनलमा भारतसँग ३–० ले पराजित नेपालले हुँदै उपविजेतामै चित्त बुझाउनु पर्‍यो । साफ च्याम्पियनसिपमा नेपालले कूल ५ खेल खेल्दा जम्मा दुई खेल मात्र जित्यो । फाइनलसहित भारतसँग दुईपटक पराजित भयो भने बंगलादेशसँग बराबरी खेल्यो ।

इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपालले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको तयारी गर्‍यो । त्यसपछि दोस्रो चरणको छनोट खेल्न कुवेत पुगेको नेपालले पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० ले हरायो । तर, जोर्डन र अष्ट्रेलियासँग भने नेपाल ३–० ले पराजित भयो ।

विश्वकप छनोटमा बाँकी रहेको ३ खेल नेपालले सेन्ट्रल भेन्युमा खेलेको हो । समूहमा पाँच टिम मध्ये चौथो भएको नेपाल नयाँ प्रावधानअनुसार प्लेअफ नखेली सिधै एएफसी एसियन कपको तेस्रो चरणको लागि छनोट भयो ।

एसिया कपको अन्तिम चरणको छनोटमा पनि नेपाल, जोर्डन, कुवेत इन्डोनेसिया समुह ‘ए’ मा छन् । यस्तै, नेपालले यस वर्ष कूल ६ वटा मैत्रीपूर्ण खेल खेल्यो । जसमा इराक, थाइल्याण्ड जस्ता बलियो टोली थिए । नेपालले तीमध्ये  २ खेल मात्र जित निकाल्यो । नेपाले घरेलु मैदानमै भएको मोरिससविरुद्ध दुवै खेलमा समान १–० को जित हात पार्‍यो । 

१२ खेलाडीको डेब्यु

गत चैतमा नेपालको प्रशिक्षक बनेका अलमुताइरीले एक वर्षभित्र १२ खेलाडीलाई डेब्यु गराएका हुन् । त्यसमा उनले टोली सम्हालेको पहिलो खेलमा इराकविरुद्ध गौतम श्रेष्ठ र मनिष डाँगीलाई डेब्यु गराए । कुवेतमा भएको विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा उनले कमल थापा, आयुष घलान र सुरज ज्यू ठकुरीलाई डेब्युको माैका दिए । 

यसैगरी नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङले भारतविरुद्ध दशरथ रंगशालामै भएको  मैत्रीपूर्ण खेलमा डेब्यु गरे । नयाँ खेलाडीलाई डेब्यु गराउँदै एक्सपोजर र अनुभव बटुल्ने मौका दिएका अलमुताइरीले माघमा मोरिससविरुद्ध पहिलो खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढा मगर तथा दोस्रो खेलमा नविन गुरुङलाई डेब्युको मौका दिए । चैतमा थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलमा प्रशान्त अवस्थीले पनि डेब्यु गरे ।

लिग च्याम्पियन बनेको मछिन्द्र एएफसी कप छनोटमा असफल

मछिन्द्र फुटबल क्लबले अपराजित रहँदै यस वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्दै नयाँ शक्तिको रूपमा आफूलाई उभ्यायो । यसअघि २०७६ मा स्टार खेलाडी अनुबन्ध गरेर पहिलो पटक लिग जितेको मछिन्द्रले लगातार दोस्रो पटक उपाधि उचालेको हो । 
कोरोनाका कारण २०७७ मा लिग हुन सकेन ।

लगातार लिग च्याम्पियन बन्ने क्रममा मछिन्द्रले १३ मध्ये ११ खेल जित्यो भने दुई खेलमा बराबरी खेल्यो । पहिलो खेलमा एनआरटी र अन्तिम खेलमा एपिएफविरुद्ध २–१ को जितबाहेक मछिन्द्रले कुनै खेलमा गोल खाएन । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले लगातार १ हजार ९५ मिनेट गोल नखाएर कीर्तिमान बनाए ।

उनै विशालसँगै मछिन्द्रका विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बने । तीन जनाले मनाङ मर्स्याङ्दी र मछिन्द्रबाट दुई/दुईपटक लिग जितेका हुन् ।

लिगको सातौं चरणमै शीर्ष स्थानमा रहेर एएफसी कप छनोटमा स्थान पक्का गरेको मछिन्द्रले त्यसमा भने राम्रो प्रदर्शन गर्न सकेन । समूह चरण पुग्ने लक्ष्य बनाएको मछिन्द्र पहिलो चरणको खेलमा घरेलु मैदानमै श्रीलंकन क्लब ब्लु स्टार स्पोर्टिङ क्लबसँग २–१ ले पराजित हुँदै बाहिरियो । 

वर्षको सुरुवातमा त्रिभुवन आर्मी फुटबल क्लबले मछिन्द्रको सट्टा एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । दशरथ रंगशालामा भएको उक्त खेलमा श्रीलंकन आर्मीलाई हराएको आर्मी दोस्रो चरणमा भने भारतको बैंगलरु एफसीसँग पराजित हुँदै बाहिरिएको थियो । अघिल्लोपटक मछिन्द्रले लिग जिते पनि क्लब लाइसेन्स नभएपछि आर्मीले खेल्ने अवसर पाएको थियो । 

नेपाल सुपर लिगको सफल आयोजनादेखि विवादसम्म

पहिलोपटक नेपाली फुटबलको इतिहासमा फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना भयो । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको पहिलो संस्करणको एनएसएलमा काठमाडौं रेजर्स विजेता भयो । पहिलो संस्करण ८ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा युरोप सम्मका खेलाडीले खेले ।

एनएसएलबाट केही युवा प्रतिभा पनि जन्मिए । एनएसएलमा राम्रो खेलेकै कारण युवा खेलाडी आयुष घलानले राष्ट्रिय टिममा अवसर पाएका थिए । यस वर्षको अन्त्यतिर दोस्रो संस्करण गर्ने आयोजकले तयारी गरे पनि विवादले गर्दा स्थगित भयो । 

‘ए’ डिभिजन क्लबले आफ्नो खेलाडी रिलिज नहुँदै एनएसएलका लागि अक्सनमा समावेश गराएको भन्दै विरोध गरेपछि एनएसएलको भविष्य नै अन्योलमा परेको छ । 

विवाद र चर्चामा अलमुताइरी

वर्ष २०७८ मा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले मैदानभित्र होस् या बाहिर निकै चर्चा कमाए । अझ सामाजिक सञ्जालमा उनको सक्रियता हेर्नलायक थियो । उनी विवादमा पनि परे । 

यो वर्ष नेपाली फुटबलले हासिल गरेको उपलब्धि अनि फुटबलसँग जोडिएका धेरै घटनामा अलमुताइरी छाए । उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल्यो । एएफसी कपमा पनि नेपाल तेस्रो चरणमा प्रवेश गर्‍यो । इराक र थाइल्याण्ड जस्ता देशसँग नेपालले मैत्रीपूर्ण खेल खेल्यो । यी गतिविधिमा पनि अलमुताइरीको हात रह्यो ।

नेपाली टोलीलाई एकजुट बनाउने काम उनैले गरे । ‘वान टिम वान गोल जय नेपाल’ भन्ने नारासहित उनले नेपाललाई अघि सारे । मैदान बाहिर पनि उनी उत्तिकै सक्रिय रहे । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई जोडेर राजीनामा दिने नाटक गर्दै उनले तीनपटक नेपाल छाड्ने धम्की दिए । अन्तत : अलमुताइरी ३ वर्षको सम्झौता थप्दै नेपाल फर्किए । 

कस्तो रह्यो महिला टोलीको प्रदर्शन ?

नेपाली टोलीले २०७८ एएफसी महिला एसिया कप छनोट खेल्यो । एसिया कपमा छनोट हुने लक्ष्य बनाए पनि त्यसमा नेपाल चुक्यो । पहिलो खेलमा फिलिपिन्सविरुद्ध अग्रता लिएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा २–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेल्यो ।

समूह ‘एफ’ बाट फिलिपिन्स विजेता बनेर भारतमा भएको एसिया कपमा छनोट भयो ।

त्यस्तै, नेपालले घरेलु मैदानमै बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले पहिलो खेल २–१ ले जित्यो । दोस्रो खेलमा भने नेपाल गोलरहित बराबरीमा रोकियो ।

नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा चोटका कारण अनुपस्थित हुँदा पनि नेपाललाई घाटा लाग्यो । साम्बाले करिब १३ महिनापछि चोटबाट निको भएर राष्ट्रिय महिला लिगमार्फत नै मैदानमा भने पुनरागमन गरिन् । 

उमेर समूह

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाली पुरुष टोलीको प्रदर्शन यस पटक पनि सम्झन लायक रहेन । समूह ‘ए’ को नेपालले खेलेको ३ वटै खेलमा पराजित हुँदै जितबिहीन बन्यो ।

उमेर समूहमा नेपाली महिला टोलीले साफ यू–१९ र यू–१८ च्याम्पियनसिप खेल्यो । बंगलादेशमा भएको यू–१९ को दोस्रो संस्करणमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको थियो । तर, बंगलादेश र भारतलाई हराउन नसकेपछि नेपाल फाइनल पुग्न असफल भयो । श्रीलंका र भुटानलाई हराएको नेपाल भारतसँग पराजित हुँदा बंगालदेशसँग बराबरीमा रोकिएको थियो । 

भारतमा चैतमा भएको साफ यू–१८ को तेस्रो संस्करणमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । तीन टोली मा सहभागी भएको डबल राउण्ड रोविनको आधारमा सञ्चालित प्रतियोगितामा नेपालले खेलेका सबै ४ खेल हार बेहोर्‍यो ।

विवादमा एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) यस वर्ष पनि विवादबाट अछुतो रहन सकेन । अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले खुलेरै एकअर्काको आलोचना गरे । 

केही दिनअघि एन्फा निर्वाचनका लागि प्रतिनिधि छनोटकै क्रममा क्लबबीच विवाद हुँदा छनोट प्रक्रिया नै स्थगित भयो । यही विवादका कारण एन्फा निर्वाचन पनि तोकिएको समयमा नहुने भएको छ ।  

घरेलु लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यो वर्ष सहिद स्मारक ‘ए’ र ‘बी’ डिभिजन लिग भयो । १४ टोलीको सहभागी सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले अपराजित रहँदै उपाधि उचाल्दा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब दोस्रो डिभिजनमा घटुवा भए ।

१४ टोलीको सहभागी सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित ‘बी’ डिभिजन लिगमा चर्च ब्वाइजले शीर्ष र खुमलटार युथ क्लबले दोस्रो स्थानमा रहँदै शीर्ष डिभिजनको यात्रा तय गरे । 

त्यस्तै, झम्सीखेल युथ क्लब १४ औं र सामाजिक युथ क्लब १३ औं स्थानमा रहँदै ‘सि’ डिभिजनमा झरे । एन्फाकै आयोजनामा अहिले चितवनको भरतपुरमा राष्ट्रिय महिला लिगको पहिलो चरण चलिरहेको छ । यीबाहेक आहा रारा गोल्डकप, खप्तड गोल्डकप, झापा गोल्डकप जस्ता मोफसलका चर्चित फुटबल प्रतियोगिता भए पनि बुढा सुब्बा गोल्डकप भने हुन सकेन । 

याे पनि– २०७८ मा नेपाल क्रिकेट : विश्वकप छनोटमा चुक्यो, युवा खेलाडीले जगाए आशा

  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १२:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया