अफ्रिकी देशमा किन बढ्दै छ चीनको ‘डर’ ?
केहीअघि चीनमा भएकाे चीन–अफ्रिका व्यापार सम्मेलनमा इथियाेपिया र चीनका अधिकारी

पछिल्ला केही वर्ष छिमेकी देश चीनले विश्वभरका देशमा ऋण प्रवाहमा व्यापक बढोत्तरी गरेको छ । त्यस्तै देशहरुमध्ये हुन्, अफ्रिकी देशहरु पनि ।

अफ्रिकी देशहरुमा चीनको ऋण प्रवाहले व्यापक उत्साह छाएको छ तर केही विशेषज्ञले चाहिँ बढ्दो ऋण तथा चिनियाँ लगानीका कारण यो महादेशको भविष्यबारे चिन्ता व्यक्त गर्न थालेका छन् ।

एउटा उदाहरणका रुपमा लिन सकिन्छ युगान्डा । युगान्डाका मानिसहरुका लागि अहिले पनि एम्तेबे–कम्पाला एक्सप्रेस–वेको आकर्षण बढिरहेको छ । यो मार्ग खुलेको तीन महिनामात्र भएको छ । यो ५१ किलोमिटर लामो फोर लेन बाटो हो जसले युगान्डाको राजधानीलाई अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्छ । यसलाई चिनियाँ कम्पनीले ४७.६ करोड डलरमा बनाएको थियो ।

यो पूरै लगानी चिनियाँ बैंक एक्जिमले ऋणस्वरुप गरेको थियो । यो बाटो बन्नुभन्दा पहिले पूर्वी अफ्रिकी देश युगान्डाको राजधानीबाट एम्तेबे विमानस्थल जान २ घन्टा लाग्थ्यो । अत्यन्त धेरै जाम हुने यो बाटोमा हिँड्न कोही पनि चाहँदैनथ्यो । अब त यो बाटोमा त्यस्तै ४५ मिनेटमा गन्तव्य पुगिन्छ । युगान्डाले गत वर्षसम्ममा तीन अरब डलरको चिनियाँ ऋण लियो ।

र, अफ्रिकामा विनासर्त ऋण लिने चाहना निकै बढेको अर्थशास्त्री रामादान जिगुबीले बताएका छन् । पछिल्लो समय अफ्रिकी देशहरुमा चिनियाँ ऋण मात्र बढेको छैन, अफ्रिकामा काम गर्न चाहने चिनियाँ कम्पनीहरु पनि निकै बढेका छन् । विशेषतः अफ्रिकामा भौतिक पूर्वाधार निर्माण, रेल, रोड, हाइड्रोपावरका ड्याम, रंगशालाहरु बनाउन चिनियाँ निर्माण कम्पनीहरु त्यहाँ पुगेका छन् ।

त्यसैले विश्लेषकहरुले भनेका छन्– अफ्रिकी देश जुन हिसाबमा चिनियाँ ऋण लिइरहेका छन्, त्यो हेर्दा उनीहरुले यसलाई चुक्ता गर्न सफल होलान् भन्नेमा डर छ । चाड, इरिट्रिया, मोजाम्बिक, कंगो, दक्षिणी सुडान, इथियोपियालगायतका देशले अहिले चिनियाँ ऋण अत्यधि लिइरहेकाले ती देशको आर्थिक भविष्य समस्याग्रस्त हुनसक्ने विश्लेषकहरुले विश्लेषण गरेका हुन् ।



सन् २०१७ मा मात्र यी देशले ७६.५ अर्ब डलर परियोजनाका लागि चिनियाँ कम्पनीसँग हस्ताक्षर गरेको स्ट्यान्डर्ड बैंक अफ चाइनाका जर्मी स्टिभन्सले एउटा लेखमा लेखेका थिए । यी देशहरुमा भौतिक पूर्वाधारमा भएको चिनियाँ लगानीका कारण त्यहाँका अर्थशास्त्रीहरु किन पनि डराएका छन् भने यी देशको अर्थतन्त्रमा सुधार देखिन छाडेको निकै वर्ष भइसकेको छ । तर, यही क्षेत्रका केही व्यक्तिहरु भने यी देशमा चिनियाँ लगानीबाट डराउनु पर्ने कुनै कारण नभएको बताउँछन् ।

उनीहरुको एउटै तर्क छ– चीन अफ्रिकाको साथी हो, दुश्मन होइन । यस्तो किन पनि भने पछिल्लो समय चीनको लगानीले ती देशमा लगानी गरिरहेका अफ्रिकी विकास बैंक, युरोपेली युनियन, युरोपेली बैंक, विश्व बैंक तथा जी–८ देशहरु लगानीको हिसाबले निकै पछाडि परिसकेका छन् । तर, चीनले लगानी गर्दा गर्ने सम्झौतामा आफूलाई फाइदा हेर्ने भएकाले पनि यसले समस्या निम्त्याउन सक्ने अर्थशास्त्रीहरुको विश्लेषण छ ।



तर, यो सब भए पनि सबैभन्दा ठूलो चिन्ता जन्मिएको चाहिँ कतै चिनियाँ लगानीको बोझ निकै ठूलो हुने र यो बोझबाट यी देश कहिल्यै बाहिर आउन नसक्ने त होइनन् भन्ने हो ।

– एजेन्सीकाे सहयाेगमा

  • प्रकाशित मिति : पुस ११, २०७५ बुधबार २१:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया