[स्थानीय तह निर्वाचन] सुदूरपश्चिममा आफ्नो विरासत जोगाउन सक्ला एमाले ?

३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि दलहरू प्रचारप्रसारमा जुटिरहेका छन् । चुनावी प्रचारका लागि केन्द्रीय नेताहरू पनि नेता गाउँ-गाउँ पुग्न थालेका छन् । 

सुदूरपश्चिममा पनि केन्द्रीय नेताहरूको उपस्थिति देखिन थालेको छ । निर्वाचन मिति नजिकिएसँगै दलहरूभित्र आफ्नो स्थानीय तहमा को बलियो भन्ने अड्कलबाजी पनि भइरहेका छन् ।

अहिलेको स्थानीय तहको निर्वाचन विगतभन्दा एकदमै फरक हुने देखिन्छ । विशेष गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धनको प्रक्रिया अगाडि बढेको हुँदा निर्वाचनमा रोमाञ्चक प्रतिस्पर्धा देख्न पाइने सम्भावना बढेको हो । 

कांग्रेस, माओवादी, समाजवादी, जसपा र जनमोर्चाबीच गठबन्धन गरेर चुनाव लड्ने निर्णय भए भागवण्डा भने मिल्न बाँकी छ । सुदूरपश्चिममा पनि समयमै भागवण्डा नमिल्दा नेता/कार्यकर्ता अन्योलमा देखिएका छन् ।

केही स्थानीय तहमा त गठबन्धनभित्रै पनि विरोध हुन थालेको छ । यसअघि २०७४ को स्थानीय निर्वाचनमा सुदूरपश्चिममा नेकपा एमाले अगाडि आएको थियो । यसपाली पनि एमालेले गठबन्धनलाई कडा टक्कर दिने आँकलन गरिएको छ । 

प्रदेशका ८८ वटा स्थानीय तहमध्ये यसअघिको निर्वाचनमा एमालेले ४० वटा तहमा जितेको थियो । अहिले पनि ३८ वटा निर्वाचन क्षेत्र एमालेले जित्ने दाबी गरेको छ । यस्तै, २० देखि २५ स्थानीय तहमा प्रतिस्पर्धा हुने सुदूरपश्चिम एमालेले जनाएको छ । बाँकी रहेका स्थानीय तहमा प्रतिस्पर्धाका लागि रणनीति भइरहेका छन् ।



‘सत्तारूढ दलहरूबीच गठबन्धन भए पनि यस पटकको निर्वाचनमा सुदूरपश्चिममा ४० वटा निर्वाचन क्षेत्रमा एमालेको जित हुन्छ’, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकले भने, ‘२० देखि २५ वटा स्थानीय तहमा प्रतिस्पर्धा हुन्छ। अन्य स्थानीय तहमा पनि यसरी प्रतिस्पर्धामा आउने रणनीति बनिरहेको छ।’

२०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा कैलालीमा सबैभन्दा बढी  एमालेले जित हात पारेको थियो । एमालेले सात पालिकामा जित हात पारेको हाे । यसैगरी, कांग्रेसले तीन, माओवादी केन्द्रले दुई पालिकामा जित दर्ता गरेको थियो । एउटा पालिकामा तत्कालिन थरूहट पार्टीले जितेको थियो ।



एमालेले गोदावरी नगरपालिका, गौरीगङ्गा, घोडाघोडी, टीकापुर, लम्कीचुहा नगरपालिका, मोहन्याल र चुरे गाउँपालिकामा प्रमुखमा जितेका थियाे । यसैगरी, कांग्रेसले धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जित हात पारेको थियाे ।

माओवादी केन्द्रले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा जितेका थियाे । जानकी गाउँपालिकामा भने थरूहटले बाजी मार्‍यो । यो पार्टी अहिले नेपाली कांग्रेसमा समाहित भएको छ । दलहरूले १३ वटै पालिकामा आ-आफ्ना चुनावी गतिविधि गरिरहेका छन् । 

नेकपा एमाले विरासत जोगाउने र थप बाजी मार्ने कसरतमा रहेको छ भने, कांग्रेस र माओवादीले पहिलेको भन्दा राम्रो नतिजा ल्याउने प्रयासका साथ अगाडि बढेका छन् ।

एमालेबाट फुटेर गठित नेकपा एकीकृत समाजवादी र नवगठित नागरिक उन्मुक्ति पार्टी पनि विभिन्न पालिकामा बाजी मार्ने दाउमा रहेका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टीको गतिविधि पनि सञ्चालन भइरहेको छ । २०७४ को निर्वाचनमा सबैभन्दा बढी पालिकामा जित हात पारेको नेकपा एमालेलाई यस पटक विरासत जोगाउन अप्ठ्यारो पर्ने देखिएको छ । पार्टी विभाजन भएपछि अब पहिलाको जस्तो बलियाे नरहेकाे टीकाटिप्पणी सुनिने गरिन्छ।

एमालेबाट फुटेर गठन भएको एकीकृत समाजवादी पार्टीका उम्मेदवारले नै एमालेको भोट काट्न सक्ने सम्भावना पनि रहेको छ । यद्यपि, स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी पालिकामा आफ्नो उम्मेदवार जिताउनका लागि एमालेले विभिन्न रणनीतिका साथ तयारी गरिरहेको कैलाली अध्यक्ष रतन थापाले बताए । 

उनले एमाले कमजोर भएको पालिकामा चुनावी गठबन्धन गरेर अगाडि बढ्ने भन्ने कुरा पनि भइरहेको उल्लेख गरे । उनले भने, ‘हाम्रो पार्टी कमजोर देखिएको पालिकामा त्यसै छोड् दिने भन्ने हुँदैन । बरु अन्य पार्टीसँग मिलेर चुनाव लड्ने कि भनेर कुरा चलिरहेको छ ।’

थापाका अनुसार एमालेले कैलालीको विभिन्न पालिकामा गरेर ६४० वटा टोल कमिटी गठन गरिसकेको छ । यसैगरी, २९ हजारभन्दा बढी मान्छेलाई पार्टीमा आबद्ध गराएको छ । 

एमालेका संगठित सदस्य मात्रै २२ हजार रहेका छन् । एमालेले स्थानीय तहको चुनावका लागि धेरै पहिलेदेखि तयारी थालेको थापाकाे भनाइ छ । स्थानीय तहको अघिल्लो निर्वाचनमा तीन पालिकामा मात्रै चित्त बुझाएको कांग्रेस यस पटक पहिलेको भन्दा राम्रो नतिजा ल्याउने कसरतमा जुटेको छ । 

जितेको पालिमामा मात्रै होइन, हारेका पालिकामा पनि पार्टीले चुनावी गतिविधिलाई व्यापक पारेको छ । धनगढी उपमहानगरपालिकालाई प्राथमिकतामा राखेर चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको कांग्रेस ‘घर, घर जाऊँ, नेपाली कांग्रेस जिताऊँ’ अभियान लिएर जनतासम्म पुगिरहेको छ ।

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले चुनावलाई मध्यनजर गरेर जिल्लाको १२६ वटै वडामा प्रतिनिधि खटाइसकेको बताए । उनले बाहिर चुनावी प्रचारप्रसार तीव्र रूपमा भइरहेको पनि उल्लेख गरे । 

अघिल्लो निर्वाचनमा दुई पालिकामा मात्रै जित हात पारेको माओवादी केन्द्रले पनि विभिन्न पालिकामा आफ्नो चुनावी गतिविधिलाई व्यापक पारेको छ । माओवादीले पनि वडा, टोल कमिटी गठन गर्ने, जनतामाझ आफ्नो एजेण्डा राख्ने कार्य गरिरहेको छ । 

यस पटक अघिल्लाे चुनावको भन्दा पनि राम्रो परिणाम निकाल्ने उद्देश्यका साथ माओवादीले चुनावी गतिविधि गरिरहेको पार्टीका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरी ‘उत्सव’ ले बताए । 

‘हिजोको भन्दा पनि राम्रो परिणाम ल्याउने गरी चुनावी गतिविधि गरिरहेका छौं’, उनले भने । त्यसो त, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलको चुनावी गठबन्धनको कुरा पनि अगाडि बढाइएको छ । 

सबैको सहअस्तित्वलाई स्वीकारेर आवश्यकतानुसार चुनावी गठबन्धन गरिने  चौधरीकाे भनाइ छ । ‘आवश्यकतानुसार गठबन्धन गर्छौं, भएन भने छुट्टाछुट्टै चुनाव लड्न सक्षम छौं’, उनले भने । 

यस्तै, कांग्रेसका कैलाली सभापति भट्टले पनि पालिकामा चुनावी गठबन्धन गरेर जाने कि नजाने भनेर छलफल चलिरहेको उल्लेख गरे । त्यस्तै, रेशम चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले पनि कैलालीको विभिन्न पालिकामा कमिटी, संगठन विस्तारदेखि लिएर प्रसारप्रसारलाई तीव्रता दिएको छ। 

रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सो पार्टी यसै वर्ष गठन भएको हो । रेशमको पकड क्षेत्रमा आफ्नो गतिविधिलाई व्यापक पारेको यो पार्टीले कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकामा पनि वडा, टोल समिति गठन गरेको छ । 

  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १३:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया