सरकारले तीन राजदूतलाई फिर्ता बोलायो, पाँच सहसचिव राजदूतमा सिफारिस

काठमाडौं– सरकारले विभिन्न देशमा रहेका तीन राजदूतलाई फिर्ता बोलाएको छ । सरकारले फिर्ता बोलाएका राजदूतमा बंगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल भुसाल, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई तीन साताभित्र स्वदेश फिर्ता हुन निर्देशन दिएको हो । 

त्यसैगरी, सरकारले विभिन्न देशको राजदूतका लागि परराष्ट्रमन्त्रालयका पाँचजना सहसचिवको सिफरिस गरेको छ । यसअघि संसदीय सुनुवाइ समितिमा भारत, इजरायल, युएई र मलेसियाका लागि राजदूत सिफारिस भएकोमा फेरि पाँचजनाको नाम थपेको हो । 

परराष्ट्रका सहसचिव दीपक अधिकारीलाई फ्रान्स, भृगु ढुंगानालाई क्यानाडा , गणेश प्रसाद ढकाललाई थाइल्यान्ड, दुर्गाप्रसाद भन्डारीलाई कुवेत र मणि भट्टराईलाई जेनेभास्थित युएन मिसनमा सिफारिस गरिएको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

यसअघि सिफारिस भएका भारतका लागि राजदूत निलाम्बर आचार्य, युएईका कृष्ण ढकाल, मलेसियाका उदयराज पाण्डे र इजरायलका लागि अन्जान शाक्यको संसदीय सुनुवाइ सम्पन्न भइसकेको छ । उनीहरुको एग्रिमोका लागि सम्बन्धित देश पठाइएको छ । 

फिर्ता बोलाइएका भुसाल र सिंह नेपाली कांग्रेसको कोटाबाट र रायमाझी राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटाबाट राजदूत भएका थिए । 





  • प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार १७:४९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया