पल प्रकरण : नाबालिगले बयान फेरे पनि प्रमाण आधार हुने

पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् । 

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । 

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबर्जस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । 

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुवै अदालतमा मुद्दा दायर भएको थियो । दुवै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका थिए । हाल उनी तनहुँ कारागारमा छन् ।

बुवाको बयान बाँकी  

नाबालिग गायिकाले बयान फेरिएपछि यसका विभिन्न पक्षबारे आशंका उब्जिएको छ । तर, पीडितले बयान फेरे पनि प्रमाणका आधारमा प्रक्रिया अघि बढ्ने स्रोतको भनाइ छ । बयानलाई मात्र नभएर अदालतमा पेस गरिएका प्रमाणलाई पनि आधार मानिने उनको भनाइ छ ।



‘पीडितले सामान्य बोली फेरेकी छन् । अरु सबै हो भन्छिन्, सम्बन्ध हैन भनेकी छिन्’, तनहुँ अदालत स्रोतले भन्यो । उनले हैन भने पनि प्रमाणले पुष्टि गर्ने स्रोतको भनाइ छ । पीडित भनिएकी नाबालिगको मात्र बयान भएको र आरोपपत्र दायर गर्ने उनका बुवाको बयान भने बाँकी रहेको अदालत स्रोतको भनाइ छ । 

बुवाको बयानमा के आउँछ त्यसपछि अन्य कुराबारे स्पष्ट हुनेछ । ‘पीडितको बकपत्र सकिएको छ । पीडितको बुवा आएको खण्डमा सोमबार बकपत्र हुनेछ’, अदालत स्रोतले भन्यो ।



  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार २१:५४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया